हरेक वर्ष बैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाइने

सुदीप कैनी

काठमाडौँ — सरकारले हरेक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष बैशाख २ गते विद्यालयमा बालबालिका भर्ना दिवस मनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रत्येक वर्ष बैशाख २ गतेदेखि १६ गतेसम्म देशभर विद्यार्थी भर्ना अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियान सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ भन्ने नाराका साथ प्रत्येक वर्ष दिवस र अभियान मनाउने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

गतवर्ष पनि सरकारले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरेको थियो । जसमा प्रधानमन्त्री, अन्य मन्त्री, सांसद देखि विभिन्न अभियान्ताले विद्यालय बाहिर रहेका बालबालिकाको अभिभावकत्व ग्रहण गरेर स्कुलमा भर्ना गराएका थिए ।

सरकारले यसवर्ष पनि अभिभावत्क ग्रहण गरेका बालबालिकाको पठनपाठनमा सहयोगका लागि निरन्तरता दिन आहृान गरेको छ । त्यस्तै अन्य बालबालिकालाई भर्ना गराउन सहयोगको अपिल गरिएको हो । अझै ६० हजारभन्दा बढी विद्यालय उमेर समूहमा बालबालिका कक्षाकोठा बाहिर रहेको आँकडा छ ।

प्रकाशित : वैशाख ३, २०७६ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भेरी-बबईको सुरुङ ‘ब्रेक थ्रु’

कलेन्द्र सेजुवाल

चिप्ले, सुर्खेत — प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार दिउँसो भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका छन् । भेरीगंगा नगरपालिकाको चिप्लेमा आयोजित समारोहमा उनले रिमोटबाट ब्रेक थ्रु गरेका हुन् ।

दिउँसो करिब ११ः५० बजे रिमोटको स्विच अन गरेपछि टनेल बोरिङ मेसिन (टीबीएम) निस्किन करिब २० मिनेट लागेको थियो । प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपटक टीबीएमबाट भएको सुरुङमार्गले भेरी बबईलाई नमुना आयोजनाको रूपमा अघि बढाउने बताए ।

कार्यक्रममा अमेरिकी तथा चिनियाँ राजदूतका साथै कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका मुख्यमन्त्री पनि सहभागी थिए । चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको हो ।

भेरीको पानी बबईमा मिसाएर बाँके तथा बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य रहेको छ ।

प्रकाशित : वैशाख ३, २०७६ १५:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT