ठगीको समाचार लेख्दा पक्राउ

पोखरा — साइबर अपराध मुद्दामा प्रहरीले पक्राउ गरी काठमाडौं पुर्‍याइएका ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई अदालतमा उपस्थित हुने गरी छाडिएको छ । 

गिरीले बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासले साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी दिएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर पठाइदिन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । ‘आरोप र कसुरको अनुसन्धान केन्द्रले नै गर्छ,’ कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले भने । ब्युरोले सोमबार प्रारम्भिक बयानपछि गिरीलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने गरी काउन्सिलका प्रतिनिधिको रोहबरमा छाडेको पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।


गिरीले गत शुक्रबार आफ्नो अखबारको अनलाइन संस्करणमा बतासविरुद्ध ठगी गरेको भन्दै पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले आरोप लगाएको विषयमा समाचार लेखेका थिए । श्रेष्ठ र पहारीले बतासविरुद्ध ठगी मुद्दामा कारबाहीका लागि दिएको उजुरी कास्की प्रहरीले दर्ता गरेको छ ।


श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख रुपैयाँ बतासले ठगी गरेको दाबी उजुरीमा छ । बतासविरुद्ध उजुरी दर्ता भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले पुष्टि गरे । यता सोमबारै बतासले कास्की जिल्ला अदालतमा गिरी, श्रेष्ठ र पहारीविरुद्ध लिखित गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । वारेस झंकनाथ सुवेदीमार्फत मुद्दा दर्ता भएको स्रेस्तेदार लोकनाथ पराजुलीले बताए ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?