१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुटुक्क साटियो महँगो मेसिन 

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख रुपैयाँ मूल्यको मेगलुमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो ।

सुटुक्क साटियो महँगो मेसिन 

थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् । महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार रुपैयाँ पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ ।


अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौंको एक ल्याबमा बिक्री गरिसकेका छन् । सप्लायर्स, ल्याब इन्चार्ज र मेडिकल सुपरिटेन्डेन्टले मिलेमतोमा मेसिन साटेर बिक्री गरिएको सम्बद्ध स्रोतको दाबी छ ।


वीरगन्जको बिर्तास्थित सिटी सर्जिकलले पुरानो र नयाँ किलिया मेसिन सप्लाई गरेको हो । सप्लायर्स र प्रयोगशालाका कर्मचारीले किलिया मेसिन साटिएको स्विकारेका छन् । तर, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले बिग्रिएको किलिया मेसिन मर्मत गरी पुनः सञ्चालनमा ल्याएको दाबी गरेका छन् । ‘अहिले प्रयोगशालामा रहेको किलिया मेसिन पुरानै हो, साटिएको छैन,’ मेसु डा. हकले भने, ‘त्यही मेसिन बनाएर चलाइरहेका छौं ।’ मेसिन सप्लाई गर्ने सप्लायर्सले नै मर्मत गरेको उनले बताए ।


अस्पतालमा दुई वर्ष अगाडि किलिया मेसिन सप्लाई गरेका सिटी सर्जिकलका सञ्चालक दीपक अग्रवालले पुरानो मेसिन बिग्रिएपछि नयाँ हालिएको बताएका छन् । कान्तिपुरसँग फोनमा उनले भने, ‘मेसिन बिग्रेपछि रिप्लेस गरेका हौं, नयाँ मेसिन पनि राम्रो छ ।’ अग्रवालले नयाँ मेसिन पनि पुरानै कम्पनीको रहेको दाबी गरे ।


अस्पतालमा कार्यरत कर्मचारीले सीसीटीभीको भिडियो अध्ययन गरे मेसिन साटिएको प्रमाण देखिने बताउँछन् । गत पुस अन्तिम साता पुरानो किलिया मेसिन बिग्रिएको थियो । मेसिन बिग्रिँदा दुई महिनासम्म सेवा ठप्प थियो । कर्मचारीका अनुसार सातौँ तहको ल्याब टेक्नोलोजिस्टले चलाउनुपर्ने किलिया मेसिन पाँचौँ तहको ल्याब टेक्निसियनले चलाएपछि बिग्रिएको हो ।


नेपाल सरकारको सातौँ तहका कर्मचारी हिराबाबु पाण्डे अस्पतालको प्रयोगशालामा विगत साढे चार वर्षदेखि कार्यरत रहे पनि करिब ९ महिना अगाडि ल्याब टेक्निसियन पदमा नियुक्त भएका पाँचौँ तहका सचिन्द्र यादव प्रयोगशाला प्रमुख बनाइएका छन् । उक्त पदमा दरबन्दी नहुँदा पनि निमित्त मेसु डा. हकले दैनिक ज्यालादारीमा बिनाप्रतिस्पर्धा यादवलाई नियुक्त गरी प्रयोगशालाको प्रमुख बनाएका हुन् । प्रयोगशालाका एक प्राविधिकले भने, ‘तजबिजमा पाएको पदले मेसिन चलाउने ज्ञान दिँदैन ।’


अस्पतालका मेसु डा. हकले किलिया मेसिन विज्ञले नै चलाउँदै आएको दाबी गरेका छन् । पाँचौँ तहका कर्मचारीले थाइराइड परीक्षण गरेको प्रमाण सुरक्षित रहेको बताएपछि मेसुले यसबारे छानबिन गर्ने आश्वासन दिए । सस्तो किलिया मेसिन प्रयोग गर्दा रोगको परीक्षणमा विश्वसनीयता नहुने प्रयोगशालाका टेक्नेसियनहरूले गुनासो गरेका छन् ।


‘नयाँ किलिया मेसिनमा परीक्षण गर्दा बढी केमिकल्स प्रयोग भइरहेको छ,’ एक ल्याब टेक्निसियनले भने, ‘पहिलेको मेसिनमा एउटा थाइराइड टेस्ट गर्दा दुई सय ५० रुपैयाँको केमिकल लाग्थ्यो, अहिलेको मेसिनमा ६ सय रुपैयाँसम्मको केमिकल लागिरहेको छ ।’ सरकारी अस्पतालको प्रयोगशालामा दैनिक २०/२५ वटा थाइराइड परीक्षण हुने गरेको छ ।


सूचना चुहाएको आशंकामा कारबाही

नारायणी अस्पतालभित्रको अनियमितताको सूचना चुहाएको आशंकामा निमित्त मेसु डा. हकले अस्पतालको फार्मेसी विभाग प्रमुख विजय यादवलाई कारबाही गरेको आरोप लागेको छ । १३ गुणा बढी मूल्यमा हाइड्रोजन परअक्साइड खरिद गरेको अनियमितता उजागर भएपछि यादवलाई कारबाही गरिएको हो ।


मिर्गौलाको डायलासिसमा प्रयोग हुने हाइड्रोजन परअक्साइड सप्लायर्सले ६५ रुपैयाँमा सकार गरेको थियो । तर, अस्पतालको स्टोर शाखाले ९ सय ४ रुपैयाँमा हाइड्रोजन परअक्साइड खरिद गरेको प्रमाण उजागर भएको छ । यसैगरी बजार मूल्य ८ सय रुपैयाँ रहेको सोडियम हाइपोक्लोराइड केमिकल्स अस्पतालले १५ सय रुपैयाँमा खरिद गरिरहेको छ । चैत २९ गते यादवको कामकाज सन्तोजनक नरहेको भन्दै करार सेवा थप गर्न नसकिने व्यहोराको पत्र काटिएको छ ।


यादव दुई वर्षदेखि फार्मेसी अधिकृतको पदमा कार्यरत थिए । मेसु डा. हकले हस्ताक्षर गरेको पत्रमा ‘अस्पताल फार्मेसी र अस्पतालप्रति तपाईंले गरेको काम सन्तोषजनक नभएको कारण माग भएबमोजिम म्याद थप गर्न नसकिने ब्यहोरा अनुरोध छ,’ उल्लेख छ । सात दिनभित्र जिम्मामा रहेको सम्पूर्ण नगद तथा जिन्सी सामान अस्पतालको स्टोर शाखालाई बुझबुझारथ गर्न पनि उनलाई भनिएको छ ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?