थिमिमा मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा

लीला श्रेष्ठ

भक्तपुर — मध्यपुर थिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथः सिया जात्रा सोमबार मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।


केही वर्षअघि सम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यसवर्ष १९ वटामात्र रहेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

बोडेको ७, निलबाराही, नगदेश, हिनचोकको १/१ बाहेक १९ खट नगर परिक्रमा गराइने र मोहन विनायकको खट जात्रा लोप भएको जनाएको छ। बोडे, नगदेश, हिनचोकलगायत स्थानमा छुट्टा, छुट्टै खट निकालिने गरिन्छ।

सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ। सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ। जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजा सहित सिन्दुर जात्रा मनाइएको छ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ। जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ। जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ।

परम्परा अनुसार नै देवता लाय्कू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ।

सोमबार दिउँसो मध्यपुर थिमि बोडेस्थित जिब्रो छेड्ने जात्रा मनाइन्छ।

तस्बिरहरु : लीला श्रेष्ठ

प्रकाशित : वैशाख २, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृत बुर्जुवा हो र ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राजनीतिकर्मीहरूले पञ्चायत तथा त्यस अघिका शासन व्यवस्थाले अवलम्बन गरेका शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा भनेर संज्ञा दिए  । शाब्दिक अर्थका हिसाबले बुर्जुवा एक अनुदार एवं परम्परावादी र भक्तिभाव दर्शाउने पद्धतिको रूपमा लिन सकिन्छ  ।

हुन पनि त्यतिबेलाको शिक्षा प्रणालीमा केही त्यस्ता पाठ्यक्रम थिए,
जसले तत्कालीन शासन व्यवस्थाको पक्षपोषण गर्थे । कुनै पनि सार्वभौम मुलुकले अवलम्बन गर्ने शिक्षा प्रणाली त्यस देशको विशिष्ट परिस्थिति अनुकूल हुनुपर्छ । पञ्चायतका विरोधी शक्तिहरू खासगरी वामपन्थीहरूले संस्कृत शिक्षालाई बुर्जुवा शिक्षा भनेर
आरोप लगाए ।


संस्कृत भाषा पूर्वीय वाङमयको एउटा विराट भाषिक सभ्यता हो । संस्कृति, सभ्यता र भाषिक दृष्टिकोणले संस्कृत एक अलौकिक र व्यापकता बोकेको भाषाभन्दा अत्युक्ति नहोला । खालि यसको उत्पादन सम्बन्ध छैन भनेर ठेगान लगाउने काम त्यति वस्तुपरक छैन । कुनै पनि भाषा बीचको असमझदारी खडा गर्ने काम विलकुल जायज होइन । अंग्रेजी, नेपाली, संस्कृत र अन्य भाषा बीचको अन्तर–सम्बन्ध हुनु जरुरी छ । एकले अर्कोलाई निषेध गर्नुचाहिँ मुर्खता हो । अंग्रेजी विश्वमा सर्वस्वीकार्य भाषा बनिसकेको छ र हामी त्यसलाई कुनै पनि रूपमा प्रयोगमा ल्याउन उद्यत छौं । संस्कृत भाषा पूर्वीय दर्शनको स्रोत पनि हो । आयुर्वेद, साङखे दर्शन, नीतिशास्त्र, वास्तुशास्त्र, ज्योतिष विज्ञान खोगल शास्त्र आदि मानव सभ्यतालाई प्रभाव पार्ने संस्कृत वाङ्ममयका बहुआयामिक ज्ञानको भण्डार हो । यसलाई खाली हिन्दुहरूको कर्मकाण्ड विधिको रूपमा बुझ्नु त्यति श्रेयस्कर छैन ।
– भोला दुलाल, टोखा नपा–१, झोर

प्रकाशित : वैशाख २, २०७६ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्