१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भ्रमण वर्ष–२०२० शुभारम्भ : २० लाख पर्यटक भित्र्याइने

लेखनाथ — बीस लाख पर्यटन भित्र्याउने उद्देश्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ शनिबार पोखराबाट गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्ष शुभारम्भ गरे । 

भ्रमण वर्ष–२०२० शुभारम्भ : २० लाख पर्यटक भित्र्याइने

पश्चिमाञ्चल होटल संघले लेकसाइडको कोमागाने पार्कमा गरिरहेको १६ औं नववर्ष फेवा महोत्सवकै कार्यक्रमस्थलबाट भ्रमण वर्ष शुभारम्भ गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले संघीय सरकारको योजनालाई साथ दिन तत्पर रहेको बताए ।


पर्यटनमा हाल गण्डकीको ४० प्रतिशत योगदान रहेको बताउँदै उनले सोही मात्रामा पर्यटक भित्र्याउन योजना बनाइरहेको उनले जनाए । ‘गण्डकीले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुकका पर्यटक भित्र्याउने वर्ष र २०२२ मा २० लाख पर्यटक भित्र्याउने वर्षका रुपमा मनाउँदै छौं,’ उनले भने, ‘प्रदेशको पहिलो प्राथमिकता क्रममा पर्यटन नै छ ।’


आन्तरिक र बाहय गरी १० लाख पर्यटक अहिले पनि भित्रिइरहेको जनाउँदै उनले आगामी २ वर्षभित्र १० लाख विदेशी पर्यटक भित्र्याउनैपर्ने दबाब रहेको उल्लेख गरे । गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटकीय पूर्वाधार विकासमा मुख्य जोड दिनुपर्ने बताए । पर्यटनमा चिनियाँ लगानी भित्र्याउन लगानीकर्ताले चासो व्यक्त गरिरहेको उनले सुनाए ।


भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले पोखरामै पर्यटन लगानी सम्मेलन गर्ने तयारी भइरहेको बताए । उनले भ्रमण वर्षकै सन्दर्भमा नेपाल, भारत र चीनका एक/एक महिलाले सगरमाथा आरोहणको तयारी गरिरहेको जनाए । ‘भ्रमण वर्षको काम सुरु भइसकेको छ,’ उनले भने, ‘अब नयाँ रोजगारी र लगानी थपिँदै जानेछन् ।’ पर्यटनमा योगदान दिने ठूलादेखि साना व्यवसायीलाई ‘नेपाल पर्यटन अवार्ड’ बाट सम्मान गर्ने योजना पनि उनले सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वाइडबडी र दुई न्यारो बडी जहाज पार्किङ स्थल बनेपछि आकाशमा होल्ड हुनुपर्ने अवस्था अन्त्य हुने उनी बताउँछन् ।


पर्यटन सचिव मोहनकृष्ण सापकोटाले नेपालको आर्थिक उन्नति र प्रगतिमा भ्रमण वर्षले सहयोग पुर्‍याउने बताए । ‘२० को अन्त्यसम्म २० लाख र २५ को अन्त्यसम्म २५ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ,’ उनले भने, ‘राजस्वमा ७० अर्ब रुपैयाँको योगदानलाई दोब्बर बनाउने र १० लाख रोजगारी सिर्जना गर्ने यसको उद्देश्य हो ।’ पर्यटनमा खपत हुने वस्तु गाउँमै उत्पादन गरेर अर्थतन्त्रलाई स्वावलम्बन बनाउने सरकारको योजना रहेको उनले सुनाए ।


भ्रमण वर्ष २०११ का संयोजक योगन्द्र शाक्यले नेपालको पर्यटन नीतिले पर्यटकबाट लिन मात्रै सिकाएकाले पर्यटकलाई के दिने भन्ने विषयमा सोच्नुपर्ने सुझाव राखे । पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेलले मुस्ताङबाट चीन जोड्ने कोरला नाका खोल्न सके पर्यटनमा कोसेढुंगा साबित हुने उल्लेख गरे ।

प्रकाशित : वैशाख १, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?