१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सगरमाथा सफाइ हुँदै

सुरज कुँवर

काठमाडौँ — विश्वकै अग्लो शिखर सगरमाथामा पहिलोपटक सरकारीस्तरबाट सरसफाइ हुने भएको छ । सगरमाथामा फोहोर थुप्रिएको समाचार राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउने क्रम बढेपछि १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) को सन्दर्भ पारेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अगुवाइमा सफाइ गर्न लागिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका, पर्यटन विभाग, नेपाली सेनालगायतका आठवटा निकायले बिहीबार राजधानीमा एक कार्यक्रम गरी ५३८० मिटरमा रहेको आधार शिविरदेखि ७ हजार ९ सय मिटर उचाइमा रहेको साउथकोलसम्म सफाइ गर्न लागिएको जानकारी दिए ।


गाउँपालिका अध्यक्ष ङिमदोर्जे शेर्पाले सफाइका लागि तयारी पूरा भएको बताए । यसअघि सगरमाथाको सफाइ व्यावसायिक शैलीमा मात्रै भएको जानकारी दिँदै उनले यसपटक संविधानले स्थानीय सरकारलाई दिएको अधिकारअनुसार सफाइ गर्न लागिएको बताए । ‘पहिले जस्तो सय किलो फोहोरलाई हजार किलो उठाएको, एउटा मुर्दालाई १० पटकसम्म पुर्ने गरी हुने व्यावसायिक सफाइ हुनेछैन,’ उनले भने, ‘हामीलाई अहिलेको कानुनले फोहोरमैला व्यवस्थापनको अधिकार दिएको छ । त्यसैअनुरूप सेना, पर्यटन विभागलगायत निकायको सहभागितामा सफाइ गर्छौं ।’


पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार यो अभियानका लागि २ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमा गाउँपालिकाले ३० लाख, नेपाल भ्रमण वर्ष सचिवालयले १० लाख, पर्यटन विभागले २ लाख आर्थिक सहयोग दिने भएका छन् । सफाइमा सगरमाथा राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको शमशेर गुल्मका सैनिक सहभागी हुनेछन् ।


गुल्मपति दीपेन्द्र न्यौपानेले वैशाख १ गतेदेखि सफाइ अभियान लुक्लाबाट सुरु हुने बताए । नेपाली सेनाले आधार शिविरसम्म सफाइ गर्नेछ । सेनाको उद्धार र मेडिकल टिम पनि अभियानमा संलग्न हुनेछन् । त्यहाँ संकलन हुने फोहोर सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइनेछ । काठमाडौंमा ल्याइनुअघि २९ मेमा नाम्चे बजारमा प्रदर्शनी गरिनेछ ।


सगरमामाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङदोर्जे शेर्पाका अनुसार वैशाख १२ गतेदेखि १४ जना शेर्पाहरू आधार शिविरभन्दा माथि सफाइका लागि उक्लिने छन् । यीमध्ये ६ जना आधार शिविरमा तथा ८ जना माथि उक्लिने छन् । तीमध्ये ६ हजार ४ सय मिटरमा रहेको दोस्रो शिविरदेखि माथि ५ जना शेर्पा फोहोर संकलनका लागि जानेछन् । ‘ती ५ जनाले ४० खेप फोहोर उतार्ने छन्,’ उनले भने, ‘एक खेपमा २० केजी हाराहारी फोहोर झार्ने योजना बनाएका छौं ।’


यी शेर्पाबाहेक आरोहण अभियानमा आरोहीका सामान ओसार्ने शेर्पाहरूमार्फत पनि आधार शिविरमाथिको फोहोर ल्याइने बताइएको छ । ‘सबैभन्दा धेरै फोहोर साउथकोल र दोस्रो क्याम्पमा रहेकाले साउथकोलबाट मात्रै यसपटक २ हजार किलो फोहोर झार्ने छौं । यसपटकको सफाइ हालसम्मकै सबैभन्दा राम्रो हुनेछ ।’


विदेशी सञ्चारमाध्यमले हालसम्म सगरमाथा आरोहण क्रममा मृत्यु भएकामध्ये १ सय ९५ को शव त्यहीं अलपत्र परेको दाबी गर्दै आएका छन् । यसबारे पर्यटन विभागका महानिर्देशक घिमिरेले सरकारसँग कुनै आधिकारिक तथ्यांक नभएको बताए । ‘विकिपिडियाका अनुसार सगरमाथामा २ सय ७९ आरोहीको मृत्यु भएको थियो, यीमध्ये ५० प्रतिशतको शव त्यतै होला,’ घिमिरेले भने ।


सफाइ अभियानमा शव भेटिए सकभर आधार शिविरमा ल्याउने समितिले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शेर्पाले गृह मन्त्रालयको अनुमति लिएर केही शव ल्याउने तयारी रहेको बताए । शेर्पाहरूका अनुसार आधार शिविरभन्दा माथिबाट शव निकाल्न निकै चुनौती हुन्छ । एउटा शव निकाल्न ८ जना शेर्पा चाहिन्छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?