चेपाङका नामको सहयोग हिनामिना

विद्यालय निर्माण गर्ने भन्दै उठाइएको करोडौं रूपैयाँ दुरूपयोग भएको थाहा पाएपछि जर्मन दाताद्वारा गैरसरकारी संस्थाविरूद्ध ठगी मुद्दा दायर गर्ने तयारी
देवेन्द्र भट्टराई, विमल खतिवडा

मकवानपुर, दाम्राङ — विकट गाउँबस्तीमा रहेका चेपाङ समुदायको गरिबी र निरक्षरताको वृत्तचित्र देखाएर विद्यालय निर्माण गर्ने भन्दै जर्मन नागरिकबाट उठाउन सुरु करोडौं रुपैयाँको खर्च सुरुवातमै दुरुपयोग भएको थाहा पाएपछि स्वयं जर्मन दाताले सम्बद्ध निकायमा उजुरी गर्ने भएका छन् ।  

मकवानपुरको राक्सीराङ गाउँपालिका–७ स्थित दाम्राङ आधारभूत विद्यालयको निर्माणाधीन भवन । जर्मनी दाताले २ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने सम्झौतापछि स्थानीय गैरसरकारी संस्थाले भवन निर्माण गरिरहेको छ । तस्बिर : विमल/कान्तिपुर

जर्मनीको दक्षिणी भेगमा पर्ने म्युन्सेन ग्लात्थ्सामा बस्ने ८० वर्षीया एरिका बार्यन क्रुगरले स्वर्गीय श्रीमानको स्मृतिमा नेपालको विकट थलोका बालबच्चाको पढाइमा मद्दत गर्ने इच्छा राखेपछि दुई वर्षअघि सुरु सहयोगको प्रक्रिया पूरा नहुँदै ‘आर्थिक हिनामिना’ देखिएको हो ।

मकवानपुरको चेपाङ बहुल क्षेत्र धिराङ, दाम्राङ र गार्लिङमा विद्यालय निर्माण गर्ने भनेर जर्मन अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिजा हिमालयमार्फत क्रुगरसमक्ष एक प्रस्ताव पठाइएको थियो । प्रस्तावमा तीन ठाउँमा विद्यालय बनाउन झन्डै १० करोड रुपैयाँ आवश्यक रहेको उल्लेख थियो । सहयोगको सुरुवातमा दाम्राङस्थित आधारभूत विद्यालयमा भवन निर्माणसहितको सेवासुविधा विस्तारमा झन्डै २ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भइसकेको थियो ।

भूकम्पका कारण क्षतिग्रस्त दाम्राङ विद्यालयको तस्बिर, चेपाङ विद्यार्थीको बिजोग र कठिन भौगोलिक अवस्थाको तस्बिर पठाएर तीन वर्षअघि पारित भएको सहयोग प्रस्तावअनुसार दाता क्रुगरले कुल रकमको झन्डै आधा रकम गत वर्ष पठाएकी थिइन् । ‘दाम्राङ विद्यालय पुग्न ५ घण्टा पैदल हिँड्नुपर्ने, ढुवानी कठिनाइका कारण एक बोरा सिमेन्टकै २५ सय रुपैयाँ लाग्ने तथा कामदारको ज्यालादर उच्च रहेको’ भन्दै प्रस्ताव पेस गरिएको थियो ।

स्थानीय तहमा ‘दिगो विकासका लागि एकता नेपाल’ (यूएसडी) नामको गैरसरकारी संस्थाले विद्यालय निर्माणको जिम्मेवारी लिने भनेर प्रस्ताव पेस भएपछि दाता क्रुगर आश्वस्त भएर दाम्राङ विद्यालय निर्माणको सम्झौता रकम पठाउन थालेकी थिइन् । ‘तर यूएसडीले स्थानीय तहबाट पठाएको प्रस्तावमा राखिएको तस्बिरमा भत्केको विद्यालय नजिकै ट्र्याक्टरको डोब देखिएपछि दातालाई शंका भयो,’ दाम्राङको स्थलगत भ्रमण नगरी एक चरणको पैसा दिएपछि मात्र वस्तुस्थिति बुझ्न आएको अर्को अनुसन्धान टोलीले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ, ‘पछि थाहा लाग्यो, ६ महिनाअघि दाम्राङको विद्यालय बन्नुअघि त्यो स्थानसम्म भण्डाराबाट ट्र्याक्टर, पिक–अप आवतजावत गर्न थालिसकेको रहेछ ।’

दाम्राङ यथार्थ
विद्यालय निर्माण भइरहेको राक्सीराङ गाउँपालिका–७ स्थित दाम्राङ आधारभूत विद्यालयमा आइतबार कान्तिपुर प्रतिनिधि पुग्दा केही कामदार ८ कोठे भवनमा ढुंगाको गारो लगाउन तल्लीन थिए । विद्यालयमा टिनको छानो लगाइएको थियो । चितवनको भण्डाराबाट हात्तीधाप हुँदै दाम्राङ पुग्न झन्डै २५ किलोमिटर कच्ची बाटो चालु छ । ‘सामुन्नेको बाटो बनीकन यो स्कुल बनाउन थालिएको हो,’ एक कामदारले भने, ‘सिमेन्ट भण्डाराबाट ढुवानी हुने गरेको छ, ढुंगा/बालुवा तल खोलाबाट ल्याउन मिल्छ ।’

हात्तीधापबाट उकालो लागिरहेका एक ट्र्याक्टर चालकका अनुसार भण्डाराबाट दाम्राङसम्म एक ट्र्याक्टर सिमेन्ट ढुवानी गर्न १० हजार रुपैयाँ शुल्क लिने गरिन्छ । हामीले भेटेको ट्र्याक्टरमा ७० बोरा सिमेन्ट राखिएको थियो । ढुवानी र दूरीका हिसाबमा प्रतिबोरा १२ सय रुपैयाँभन्दा बढी सिमेन्टको मूल्य नपर्ने देखिन्थ्यो । प्रस्तावमा दाम्राङ आधारभूत विद्यालयमा २१० विद्यार्थी रहेको भनिए पनि प्रधानाध्यापक कपिलदेव ठाकुरका अनुसार अहिले १ सय ७२ विद्यार्थी मात्र पढ्छन् ।

एउटै विद्यालय निर्माण क्रममा सुरुवातदेखि नै ‘असामान्य र नमिल्दो तथ्य–तथ्यांक’ आउन थालेफछि दाता क्रुगरले वकिल नियुत्त गरेर सम्बद्ध गैरसरकारी संस्थाविरुद्ध ‘ठगी मुद्दा’ दायर गर्ने भएकी हुन् । ‘मैले मेरा श्रीमानको अन्तिम इच्छाअनुसार आफूले ठाउँ नदेखे पनि विश्वासका भरमा सहयोग गर्न थालेकी थिएँ,’ उनले भनेकी छन्, ‘तर सहयोगको सुरुवातमै ठगी हुन थालेको थाहा पाएर दुःखी छु ।’ यो जालसाजी प्रस्ताव र विवरणका आधारमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लिजा हिमालय र स्थानीय यूएसडी दुवै कारबाहीको भागीदार बन्न सक्नेछन् ।

स्थानीय तहको गैरसरकारी संस्था ‘दिगो विकासका लागि एकता’ का अध्यक्ष अनुप पौडेलले ‘सरकारले कहिले बाटो बनाइदेला र विद्यालय बनाउँला’ भनेर आफूहरूले पर्खेर नबसेको प्रतिक्रिया दिए । ‘राक्सीराङकै महांकालमा रहेको अर्को विद्यालय पनि निर्माण भइसकेको छ, त्यहाँ गाडी जानै नसक्ने तपाईंलाई पनि थाहा हुनुपर्छ,’ उनले भने ।

उनले दाम्राङस्थित विद्यालय निर्माण जारी रहेको र त्यहाँ कुनै प्रकारको आर्थिक दुरुपयोग भएको भनेर कहीँकतैबाट ‘उजुरी’ नआएको बताउँदै ‘कुनै प्रकारको उजुरी आइहाले कानुनी प्रक्रियामै प्रतिवाद गर्न सकिने’ बताए । अहिले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिवसमेत रहेका अध्यक्ष पौडेलले ‘यस्ता कुरामा हतार गरेर जवाफ दिने पक्षमा आफू नरहेको’ बताए ।
चेपाङ बहुल बस्ती
राक्सीराङ गाउँपालिकामा चेपाङ समुदायको बसोबास बाक्लो छ । ९ वटा वडामध्ये सबैभन्दा बढी चेपाङको बसोबास ७ नम्बरमा छ । वडा अध्यक्ष कुलबहादुर प्रजाका अनुसार दिगो विकासका लागि एकता नेपाल (यूएसडी) संस्थाको छवि चेपाङ बाहुल्य मकवानपुरका सबै भेगमा राम्रो छ ।

दाम्राङ आधारभूतसहित टिकेढुंगाको विद्यालय निर्माणसमेतमा स्थानीय यूएसडी संस्थाको सहयोग रहिआएको छ । यूएसडीले साबिकको काँकडा गाउँका ३ प्रावि, ३ आधारभूत विद्यालय र २ बालविकास केन्द्रमा अध्यनरत बालबच्चाका लागि दिवा खाजासहित चप्पल, ब्याग, कापीकलमसमेत दिँदै आएको वडाध्यक्ष प्रजाले बताए । ‘स्थानीय तहबाट भवन निर्माणका लागि सहयोग छैन,’ उनले भने, ‘वडाको सिफारिसमा एउटा विद्यालयका लागि ७ लाख रुपैयाँ बजेट छुट्याएको हो, त्यो पनि पाउन सकिएको छैन ।’

दाम्राङमा अहिले कक्षा ६ सम्मको पढाइ हुन्छ । भवन बनिरहेकाले २ कोठा घरभाडामा र पुरानो जस्ता हालेर बनाएको टहरामा पढाइ भइरहेको प्रधानाध्यापक ठाकुरले बताए । विद्यालयमा अध्यनरत सबै १ सय ७२ विद्यार्थी चेपाङ समुदायका हुन् । यसमा छात्र ९० र छात्रा ८२ जना छन् । त्यस्तै, बालविकास केन्द्र (ईसीडी) मा समेत ३१ बालबच्चा छन् ।

चेपाङ राजमार्गका रूपमा यहाँ ट्र्याक खुलेको वर्षौं भइसकेको छ । राजमार्गको चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किमि बाटो छ । यसलाई ठोरी–केरुङ जोड्ने छोटो मार्गका रूपमा समेत लिइएको छ । ठोरीदेखि मलेखुसम्म १ सय ३२ किमि सडक निर्माण हुने क्रममा छ ।




प्रकाशित : चैत्र २८, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

आक्रोशित बिरामीको प्रश्न– 'डाक्टरले धर्म छाड्ने ?’

शंकर आचार्य

पर्सा — बारा मटिअर्वाका ५२ वर्षीय महिन्दर महतो २५ किलोमिटर यात्रापछि बुधबार बल्लतल्ल वीरगन्ज उत्रिए । नसाको रोगले देब्रे हातमा समस्या भएकाले डाक्टरलाई देखाउनु थियो । सरासर नारायणी उपक्षेत्रीय अस्पताल पुगे ।

वीरगन्जस्थित नारायणी अस्पतालमा ३ वर्षीय छोरा आदित्य पटेलको उपचारका लागि आएकी पर्सा, बहुदरमाईकी महिला । तस्बिर : शंकर/कान्तिपुर

सधैं बिरामीले भरिभराउ रहने अस्पताल परिसर बुधबार सुनसान देख्दा उनी छक्क परे । सोधखोज गरेपछि थाहा पाए– डाक्टरहरू काम बन्द गरेर हडतालमा उत्रिएका रहेछन् ।

‘मलाई डाक्टरहरूले हडताल गरेका छन् भन्ने नै थाहा भएन,’ उनले भने, ‘हाम्रा लागि सबैभन्दा भरपर्दो अस्पताल नै यही हो, नारायणी भनेपछि आँखा चिम्लेर विश्वास गर्छौं, सरकारी अस्पतालकै चिकित्सकले काम ठप्प पारे पछि हामीजस्ता निमुखाको स्वास्थ्यको कसले ख्याल गरिदिने ।’

मामा महिन्दरलाई लिएर आएका वीरगन्ज ११ श्रीपुरका भान्जा सुनील महतो पनि आक्रोशित थिए । ‘मामा उपचार गराउन भनेर आउनुभयो, अस्पताल आउँदा त एउटा पनि डाक्टर भेटिएनन्,’ उनले भने, ‘डाक्टरलाई त भगवान् भनिन्छ, भगवान् नै आफ्नो धर्म छोडेर हिँडे बिरामीको चिन्ता कसले गरिदिने ।’

पर्साको बहदुरमाई नगरपालिका पिपराबाट ३ वर्षे छोरा आदित्य पटेलको खुट्टाको उपचार गराउन आएका श्यामबाबु पटेल पनि कहाँ डाक्टर भेटिन्छन् भनेर भौतारिँदै थिए । छोराको देब्रे खुट्टा भाँच्चिएकाले उनलाई पर्नु पिर परेको थियो । भाँच्चिएको खुट्टाको एक्सरे बोकेर यताउता कुदिरहेका उनले पनि एउटै डाक्टर फेला पार्न सकेनन् । ‘खै के गरूँ, कहाँ जाऊँ जस्तो भएको छ,’ उनले भने, ‘फर्केर जाऊँ छोरो ऐय्या–ऐय्या गरेर रोइरहेको छ, भोलि आउँदा पनि यसै गरी समय र पैसा बर्बाद हुने त होला नि, डाक्टरले नै हडताल गरिदिए बिरामी कहाँ जाने ?’

सरकारी चिकित्सक संघको आहवानमा भइरहेको आन्दोलनअन्तर्गत यहाँका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् । यस अस्पतालको बहिरंग विभागमा दैनिक ठूलो संख्यामा बिरामी आउँछन् । मध्य तराईका पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका बिरामीको उपचार गन्तव्य वीरगन्ज रहँदै आएको छ ।

सीमावर्ती भारतीय गाउँका बिरामी पनि यहाँका अस्पताल आउने गरेका छन् । यहाँको सरकारी नारायणी अस्पताल सधै बिरामीले भरिभराउ हुने गरेको छ । शय्याले नथेग्ने भएर बिरामीको उपचार अस्पतालको करिडोरमा समेत भइरहेका दृश्य वर्षैभरि देख्न सकिन्छ ।

सरकारीबाहेक नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, एडभान्स, गण्डक, वीरगन्ज हेल्थ केयरलगायत झन्डै १ दर्जन सानाठूला अस्पताल तथा नर्सिङ होमसमेत रहेकाले बिरामीले उपचारको अवसर रोजी रोजी पाउँछन् ।

प्रकाशित : चैत्र २८, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्