कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मौसम पूर्वानुमान प्रणाली भारतमा प्रभावकारी, नेपालमा उपकरण नै भएन

'मौसममा आकस्मिक परिर्वतन भन्ने हुँदैन, प्रभावकारी अनुमानले विपत्‌बाट हुने क्षति कम गर्न सकिन्छ ।' - सती देवी, राष्ट्रिय मौसम पूर्वानुमान केन्द्र प्रमुख, भारत
प्रविधि र जनशक्तिको सीमितताका कारण बारा-पर्सामा भएजस्तो छोटो अवधिभित्र निश्चित क्षेत्रमा विकसित हुने मौसमी गतिविधि आकलन गर्न सकिँदैन । - सरजुकुमार वैद्य, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, नेपाल 

नयाँदिल्ली/काठमाडौं — बारा र पर्सामा गत आइतबार साँझ अचानक आएको हावाहुरीले २९ जनाको ज्यान लियो । सात सयभन्दा बढी घाइते भए । दुई हजार भन्दा बढी घरमा क्षति भयो । उक्त प्राकृतिक विपत् लगत्तै हावाहुरीको भविष्यवाणी किन हुन सकेन भन्ने विषयमा बहस सुरु भएको छ । मौसममा हुने परिवर्तन र त्यसबाट हुन सक्ने प्राकृतिक विपत् अनुमान गर्ने जिम्मेवार निकाय जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारको विपत्‌बारे जानकारी दिएको थिएन ।

मौसम पूर्वानुमान प्रणाली भारतमा प्रभावकारी, नेपालमा उपकरण नै भएन

जबकि भारतको जल तथा मौसम पूर्वानुमान विभागले विहार र उत्तर प्रदेश राज्य र त्यससँग जोडिएका नेपालका सीमावर्ती क्षेत्रमा त्यस दिन आँधीबेहरी आउने र पानी पर्न सक्ने अनुमान गरेको थियो । नेपालमा पनि विपत् अनुमान गरेर सूचना प्रवाह गरेको भए सर्वसाधारणले सुरक्षा व्यवस्था अपनाउन सक्थे, कम्तीमा मानवीय क्षति हुँदैनथ्यो भन्ने तर्क आइरहेका छन् । नेपालको मौसम पूर्वानुमान महाशाखाले त्यो दिन मेघगर्जनसहित वर्षा हुने मात्र अनुमान गरेको थियो ।

भारतीय विज्ञहरू अचानक आउने हुन्डरी वा चक्रवातजस्ता प्राकृतिक विपत्लाई रोक्न सम्भव नभए पनि आधुनिक प्रविधि, दक्षजनशक्ति र सम्बन्धित निकायहरूबिच उचित समन्वय भए मौसम अनुमान गर्न सकिने र ठुलो जनधनको क्षतिबाट बच्न सकिने बताउँछन् । 'प्राकृतिक विपत्लाई रोक्ने भन्ने हुँदैन, त्यसबाट हुने क्षतिलाई सकेसम्म कम गर्ने हो । त्यसका लागि अनुमान प्रणाली अत्याधुनिक र प्रभावकारी हुनुपर्छ,' भारतको मौसम विज्ञान विभागअन्तर्गतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रकी प्रमुख सती देवीले भनिन् । नेपालको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले भने नेपालमा स-साना भूभागमा हुनसक्ने मौसमी भविष्यवाणी गर्न आवश्यक राडार, बेलुनलगायतका प्रविधिका साथै दक्ष जनशक्ति नै नभएको बताउँछन् ।


अत्याधुनिक प्रविधि, पद्धति, जनशक्ति र त्यसअनुसारको सञ्जालका कारण भारतीय निकायहरूको मौसमी भविष्यवाणी मिल्ने गर्छ । दिल्लीस्थित राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले देशभरका ३६ वटा उपकेन्द्रलाई हरेक दिन चारपटक मौसम पूर्वानुमानको जानकारी दिन्छ । सम्भावित शीतलहर, अत्यधिक गर्मी र आँधीहुरीको चेतावनी पनि दिने गर्छ । त्यस्तो जानकारी बिहान ८ बजे, दिउँसो १ बजे, साँझ साढे ४ बजे र राति करिब ८ः३० मा दिने व्यवस्था छ । दिउँसो १ बजेको अनुमान र चेतावनी भने अलि विस्तृतमा हुने गर्छ । नेपालमा भने केही महिना यता महाशाखाले तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै आएको छ । वर्षा, मेघ गर्जन र गड्याङगुडुङको अनुमान गर्दागर्दै आएको छ भने चट्याङ परिसकेपछि त्यो स्थानको पहिचान गर्ने गरेको छ ।


भारतमा उपकेन्द्रबाहेक पनि ६ वटा सहरमा क्षेत्रीय मौसम पूर्वानुमान केन्द्र छन् । दिल्ली, मुम्बई, नागपुर, कोलकाता, गुवाहाटी र चेन्नईमा रहेका ती क्षेत्रीय पूर्वानुमान केन्द्रअन्तर्गत नै प्रदेश मौसम विभागका शाखा छन् । यिनै क्षेत्रीय र प्रदेश स्तरीय केन्द्र र मौसम विभागले जिल्ला तहमा आउन सक्ने हावाहुरीलगायत प्राकृतिक विपत् भविष्यवाणी गर्छन् । विपत्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला तहमा रहेका विपत् व्यवस्थापन केन्द्रसँग समन्वय गरिन्छ ।


प्रत्येक दिन बिहान करिब १० बजे दिल्लीस्थित मुख्यालयले देशभरका क्षेत्रीय केन्द्र र राज्यका मुख्यालयस्थित कार्यालयसँग प्रत्यक्ष भिडियो कन्फरेन्स गर्छ । नेपाल सङ्घीय संरचनामा गइसके पनि प्रदेशअनुसार मौसम विभाग छैन । सङ्घीय सरकार मातहत (केन्द्र) रहेको विभागले नै त्रिभुवन विमानस्थलबाट चौबिसै घण्टा मौसमसम्बन्धी जानकारी दिने गरेको छ ।


भारतमा सामुदि्रक क्षेत्रको मौसम अनुमानका लागि बेग्लै विभाग छ । जसले तटीय क्षेत्रकालागि 'कोस्टल' र 'हाई सी' प्रणालीअन्तर्गत मौसम अनुमान गर्छ । मुम्बई, चेन्नई र कोलकातामा 'साइक्लोन वार्निङ डिभिजन' तथा अहमादावाद, त्रिवेन्द्रम, विशाखापटनम् र भुवनेश्वरमा 'साइक्लोन वार्निङ सेन्टर' छ । बङ्गलादेश, म्यानमारमा रहेका केन्द्रले पनि बंगालका खाडी र त्यस क्षेत्रको आउन सक्ने सामुदि्रक आँधी अनुमान गर्छन् । नेपालको जल तथा मौसम विज्ञान विभागका विभाग महानिर्देशक वैद्य अहिलेको प्रविधि र जनशक्तिले बारा र पर्सामा आएकोजस्तो शक्तिशाली हावाहुरीका लागि 'फरकास्ट' ले नभ्याउने भएकाले 'नाउकास्ट' नै गर्नुपर्ने तर्क गर्छन् ।

महाशाखाले 'डब्लुआरएफ मोडल' का आधारमा देशभरको एकै पटक मौमसी अवस्थाबारे अनुमान गर्दै आएको छ । 'अहिलेको प्रविधिले छोटो अवधिभित्र सीमित क्षेत्रमा विकसित हुने मौसमी गतिविधि आकलन गर्न सकिँदैन' वैद्यले भने । उनका अनुसार मुलुकभरको मौसमी अवस्था प्रक्षेपण गर्न कम्तीमा पनि तीन वटा 'राडार' जडान गर्नुपर्छ । मौसम बेलुनमार्फत वायुमण्डलीय तात्कालिक अवस्थाबारे जानकारी लिनुपर्छ । 'वायुको गति, दिशा, सापेक्षिक आद्रता, तापक्रम, प्रेसर र वायुमण्डलको अवस्था कस्तो छ भन्ने थाहा नपाई मौसम फरकास्ट गर्न सकिँदैन,' वैद्यले थपे, 'त्यही प्रक्षेपण खटकंदा बारा र पर्सामा क्षति व्यहोर्नुपरेको हो । सीमित क्षेत्रको फरकास्ट र नाउकास्टका लागि वायुमण्डलको अवस्था, वायुको गति, दिशा र प्रेसर, तापक्रमका साथै सापेक्षिक आद्रतासंगै आवश्यक तथ्याङ्क जुटाउनुपर्छ ।'


भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रकी प्रमुख सती देवी मौसम अनुमानका लागि वायुमण्डलको तल्लो भागमा भइरहेको परिवर्तनको सूक्ष्म अवलोकन न्यूनतम सर्त भएको बताउँछिन् । 'वायुमण्डलको वर्तमान अवस्था थाहा पाएपछि त्यसमा आउन सक्ने परिवर्तन अनुमान गर्न सकिन्छ,' उनले भनिन्, 'त्यसैले मौसम अनुमानका लागि अत्याधुनिक अवलोकन -अब्जर्भेसन) प्रणालीलाई प्राथमिकतामा राख्नुपर्छ ।'


भारतमा जमिनको सतह, सामुदि्रक, वायुमण्डल, भूउपग्रह र राडार प्रणालीबाट मौसमको अवस्थाको सूक्ष्म अवलोकन गरिन्छ । यसका लागि अत्याधुनिक सञ्जाल विकास गरिएको छ । 'वायुमण्डलमा क्षणभरमै परिवर्तन आउन सक्छ । त्यस्तो परिर्वतन कतिपय अवस्थामा छिमेकबाट सुरु हुन्छ । त्यसैले छिमेकी मुलुकबाट पनि जानकारी लिनुपर्छ,' सती देवीले कान्तिपुरसँग भनिन् । मौसमको पछिल्लो अवस्था थाहा पाउन अन्तर्राष्ट्रिय रूपमै उचित साझेदारी आवश्यक पर्ने उनले बताइन् । 'त्यसका लागि सूचना प्रणाली आधुनिक हुनुपर्छ,' उनले भनिन् । भारतमा सतह र भूउपग्रह गरी दुई किसिमका सूचना प्रणाली प्रयोग हुँदै आएका छन् ।


आधुनिक सूचना प्रणाली र अवलोकन प्रणालीबाट प्राप्त सूचनालाई आधुनिक प्लेटफर्ममा केलाइन्छ र त्यही विश्लेषणका आधारमा मौसम अनुमान गरिन्छ । पहिले नक्सालाई हेर्दै विश्लेषण गर्ने सिनोप्टिक विधि अपनाउने गरिएकामा अहिले अत्याधुनिक 'डिसिजन सपोर्ट सिस्टम' अन्तर्गतको विधि प्रयोग गरिँदै आएको छ । विभिन्न कार्यालयहरूबाट प्राप्त हावाको तीव्रता, तापक्रम, आद्रता सम्बन्धी तथ्याङ्क पनि अति महत्त्वपूर्ण हुन्छन् । ती तथ्यांकलाई सुपर कम्प्युटरमार्फत प्रशोधन गरिन्छ । यिनै सूचना र तथ्यांकका आधारमा आगामी पाँच दिनका लागि मौसम अनुमान र हावाहुरी वा अन्य कुनै विपदको चेतावनी जारी गरिन्छ । त्यसका अतिरिक्त प्रत्येक दिन आगामी दुई दिनको प्रक्षेपण पनि सँगै हुन्छ । पाँच दिनको अनुमानमा हावाहुरी, चक्रवात, आँधी, लु -हिट वेभ), शीतलहरूको फैलावट र सघनताको पनि जानकारी दिइन्छ । सघनता सीमाभन्दा बढी छ भने चेतावनी जारी गरिन्छ ।


केन्द्रकी प्रमुख सती देवी आधुनिक अवलोकन प्रणाली र त्यसको बृहत् सन्जाल, तथ्याङ्क विश्लेषण गर्ने विधि र दक्ष जनशक्ति भए मौसमको सटिक अनुमान गर्न सकिने दाबी गर्छिन् । 'अहिलेको जमानामा फ्रिक वेदर इभेन्ट्स (मौसममा हुने आकस्मिक परिर्वतन) भन्ने हुँदैन, त्यो त बहाना मात्र हो,' उनले भनिन् । उनले मौसमको अनुमान र चेतावनीसम्बन्धी जानकारी सर्वसाधारणले पाउने गरी प्रणाली विकास गर्नुपर्ने पनि बताइन् । 'अनुमान सही भए पनि सर्वसाधारणसम्म सूचना नपुगे प्राकृतिक विपद्बाटहुने क्षति कम गर्न सकिँदैन,' उनले भनिन् ।

प्रकाशित : चैत्र २५, २०७५ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?