उडेको छाना लागेर मृत्यु

प्रदेश २ ब्युरो

जनकपुर — मौसममा बदलीसँगै शनिबार बिहानैदेखि मध्य तराईमा हावाहुरी र असिनासहित भारी वर्षा भएको छ । हावाहुरीले सर्लाहीको रामनगरमा घरको छाना उडाउँदा एक जनाको मृत्यु भएको छ । भारी वर्षाले जनकपुर जलमग्न भएको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पालका अनुसार बिहानको हावाहुरी र वर्षाले धनुषा, महोत्तरी र सर्लाहीका केही भागमा समस्या निम्त्याएको छ । ठूलो जनधनको क्षति नभए पनि जनजीवन अस्तव्यस्त बनाएको छ । बिहानै आकाश कालो भएर हावाहुरी चलेपछि स्थानीयवासी डराएका थिए । बारा र पर्साजस्तै शक्तिशाली हुरी आउनसक्ने त्रासले सर्वसाधारण सुरक्षित ठाउँमा ओत लागेर बसेका थिए ।

सर्लाहीको दक्षिणपश्चिम गाउँ रामनगरमा शनिबार अपराह्न हुरीले छाना उडाउँदा एक जनाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–१ स्थित राजाराम चौधरीको नास्ता पसलमा बाँसको टाटी र फुसले छाएको छाना उडाएको थियो । उडेको छानाले लाग्दा बाटोमा हिँडिरहेका ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको हो ।

उत्तरी क्षेत्रमा दिनभर सामान्य हावा चले पनि दक्षिणी भेगमा अपराह्न हुरी चलेको थियो । त्यसै क्रममा पसलको फुसले छाएको छानो उडाउँदा कडीमा रहेको किला सहनीको टाउकोमा गाडिएको थियो । टाउकोमा गहिरो चोट लागेका उनको उपचारक्रममा जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

भारी वर्षाले जनकपुरका विभिन्न ठाउँ डुबाएको छ । पानी बग्ने नाला र ढल धेरै ठाउँमा जाम रहेकाले सहर डुबानमा परेको थियो । एकीकृत सहरी विकास योजनाअन्तर्गत जनकपुरमा सडक र ढल निर्माण भइरहेको छ । निकास नहुँदा जनकपुरको धेरैजसो भूभाग जलमग्न भएको थियो । जनप्रतिनिधिलाई पानी निकासका लागि स्थानीयले गुहारे पनि उनीहरूले चासो नदिएको सर्वसाधारणको गुनासो छ ।

वर्षाले महोत्तरीको मडाहा खोलामा पानीको सतह बढेको छ । चुरेको टुटेश्वर क्षेत्रबाट बगेको मडाहा खोलाको तटीय क्षेत्रमा दर्जनभन्दा बढी बस्ती छन् । खोलाको सतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको थियो । महोत्तरीको गौशाला, रामनगर, लक्ष्मीनिया, भरतपुर, कान्तिबजार र सर्लाहीको बस्ती हुँदै बग्ने मडाहामा दिनभर आवतजावत गर्न रोक लगाइएको थियो । अपराह्नदेखि सतह केही घटेको छ । पानी पर्न रोकिए पनि धनुषा, महोत्तरी र सर्लाहीको आकाशबाट कालो बादल हटेको छैन ।

बिहानैदेखि मौसम अँध्यारो हुँदा धनुषाका केही केन्द्रमा एसईई १० देखि १५ मिनेट ढिलो सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शेखर खनालका अनुसार मौसममा बदलीसँगै ५ वटा सेन्टरमा एसईई ढिलो सञ्चालन भएको हो ।

बारामा बेचैनी
भारी वर्षा र हावाले कलैयालगायत जिल्लाका विभिन्न ठाउँमा शनिबार बिहान असिना परेको थियो । साताअघिको हावाहुरी र असिनापानीले ठूलो क्षति पुर्‍याएको बारामा शनिबार पनि त्यही प्रकृतिको मौसम भएपछि स्थानीय बेचैन भएका थिए ।

कलैयाका देवकोटा चोक, तीनकुने चोकलगायत स्थानका सडक जलमग्न भएका थिए । बिहान १० बजेदेखि सुरु भएको वर्षाको क्रममा करिब ५ मिनेट असिना परेको थियो । भलले भरिएको सडक र नालाको पानीले कलैया १, देवकोटा चोकस्थित श्री ३ चन्द्र मावि डुबानमा परेको छ ।

सडक र नालाको पानीले विद्यालयको खुला चौर डुबानमा परेको हो । असिनासहित परेको पानीले बालीनालीमा सामान्य क्षति पुगेको स्थानीय छोटेलाल राउत कुर्मीले बताए । ‘असिना सानो आकारको भएकाले धेरै क्षति भएन,’ उनले भने, ‘अलि ठूलो भएको भए धेरै धनजनको क्षति हुने थियो ।’ वर्षाले निर्माणाधीन कलैया–वीरगन्ज र मटिअर्वा–मानमत सडक खण्ड हिलाम्मे बनेको छ । ग्रामीण क्षेत्रका सडकमा सवारी गुडाउन कठिनाइ भइरहेको चालकले जानकारी दिएका छन् ।

हुरीपीडित त्रासमा
शक्तिशाली हावाहुरीले मच्चाएको वितण्डापछि घरबारविहीन बाराका पीडित शनिबार मौसम बिग्रिएपछि त्रासमा परेका छन् ।

हुरी–बतास, असिना र मुसलधारे वर्षाबाट त्रिपालले जोगाउन नसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । वर्षाका कारण राहत वितरण प्रभावित भएको छ । थप विपत्ति आइपरे त्यसबाट जोगाउन स्थानीय प्रशासन र स्थानीय तहले अहिलेसम्म उद्धारका योजना ल्याउन नसकेको सरोकारवालाले आरोप लगाएका छन् ।

प्रभावित परिवारका लागि ठडयाइएको चाइनिज टेन्टमा खासै समस्या नरहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । ‘त्रिपालमा बस्नेहरूलाई समस्या परेको देखियो,’ उनले भने, ‘सबैलाई टेन्ट पुर्‍याउन सकिएको छैन । हामीसँग टेन्ट अभाव छ । थप व्यवस्था गर्न माग गरेका छौं ।’ थप विपद आइपरे प्रभावितलाई व्यवस्थापन गर्नसक्ने ठोस योजना बनाउन नसकिएको जिल्ला विपद व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रजिअ पौडेलले बताए ।

साताअघिको हावाहुरीले पुरैनिया, भरवलिया, गम्हरिया, परवानीपुर, तेलगाई, हर्दिया, प्रसुरामपुर, मनगढवा, धर्मनगर, फुलवरिया, भलुही, त्रिवेणी, बलिरामपुर, रामपुरवा, बगही, जमुनिया, चरमोहना, बुनियाद, रामपुरटोकनी, लिपनीमाल, चैनपुर, बहुअरी, बेनौली, सखुवाटलगायतका गाउँमा घर तथा अन्नबालीमा क्षति पुर्‍याएको थियो ।

अजित तिवारी (जनकपुर), रवीन्द्र उप्रेती (महोत्तरी), ओमप्रकाश ठाकुर (सर्लाही) र पवन यादव (बारा)

प्रकाशित : चैत्र २४, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

गैंडा गणना टुंगो लागेन

सरकारी अधिकारी आवधिक गर्नुपर्ने गैंडा गणना कसरी टार्ने भन्नेमा केन्द्रित भएका छन् ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वले अग्रसरता नलिँदा एकसिँगे गैंडा गणना अन्योलमा परेको छ । हरेक चार/पाँच वर्षबीचमा गैंडा गणना हुँदै आए पनि विभागले बजेट नभएको भन्दै टार्दै आएको छ । यसअघि २०७१ (सन् २०१५) सालमा गैंडा गणना गरिएको थियो ।

विभागका महानिर्देशक मनबहादुर खडका आफ्नो व्यस्तताले गैंडा गणनाको मिति तय गर्न नसकिएको बताउँछन् । ‘गणना गर्नुपर्ने हो,’ खडकाले कान्तिपुरसँग भने, ‘मन्त्रालय र विभागका बैठकमा व्यस्त भएकाले मिति तय गर्न सकिएको छैन ।’ वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले भने गैंडा गणनाको सबै काम विभागकै भएकाले उतै सोध्न सुझाए ।

यस वर्ष साउनदेखि फागुनसम्ममा मात्र प्राकृतिक कारणले निकुञ्ज, मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनमा गरी ४१ वटा गैंडा मरेका छन् । प्राकृतिक कारणले गैंडा मरेको समाचार बाहिरिइरहेका बेला गणना गर्दा ‘उत्साहजनक परिणाम नआउने मनोवैज्ञानिक त्रास’ समेत रहेको जानकारहरू दाबी गर्छन् । सन् २०१५ को गणनायता चोरी सिकार नभए पनि प्राकृतिक कारणले मर्ने क्रम रोकिएको छैन ।

‘हरेक वर्ष दुई दर्जन हाराहारीमा प्राकृतिक कारणले गैंडा मरिरहेका छन्,’ एक विज्ञले भने, ‘सरकारी अधिकारीहरू संख्या अद्यावधिक गर्नुभन्दा पनि गणना टार्नेतिर केन्द्रित भएको देखिन्छ ।’ विज्ञहरूका अनुसार फागुनदेखि वैशाखसम्म गैंडा गणनाको उपयुक्त समय हो । यो पटक ‘प्रि–मनसुन’ गतिविधि सक्रिय भएकाले गणनाका लागि समय घर्किंदै गएको छ । वैशाख महिनामा अत्यधिक गर्मी हुने हुँदा घण्टौंसम्म हात्ती प्रयोग गरी गणना गर्न गाह्रो हुन्छ । जेठपछि कात्तिकसम्म जंगलभित्र आउजाउ सहज नहुने भएकाले अर्को वर्षको हिउँद कुर्नुको विकल्प छैन ।
विभागको योजना शाखा प्रमुखसमेत रहेका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले गणनाका लागि संरक्षण साझेदार संस्थाहरू डब्लूडब्लूएफ नेपाल/हरियो वन र जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल) लगायतबाट करिब ७१ लाख रुपैयाँ संकलन भए पनि त्यो रकम अपर्याप्त भएको बताए । पर्सादेखि शुक्लाफाँटासम्मका चारवटा निकुञ्जमा गैंडा गणना गर्न १ करोड ९ लाख रुपैयाँ लाग्ने देखिन्छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगाना भने नियमित रूपमा विभागबाट हुनुपर्ने काममा पनि दाताकै भरपर्नु शोभनीय नभएको तर्क गर्छन् । आगामी आर्थिक वर्षका लागि गैंडा, बाघलगायत प्रजाति गणना, वासस्थान व्यवस्थापन लगायतका लागि बजेट बनाउन विभागलाई निर्देशन दिइएको ढुंगानाले बताए । ‘वन्यजन्तु गन्ने, सार्ने काम विभागको हो,’ ढुंगानाले भने, ‘त्यसका लागि अर्को वर्षलाई कति बजेट चाहिन्छ, योजना बनाउनुस् भनेका छौं ।’ यसै साता मन्त्रालयले बजेट बनाउने गोष्ठी आयोजना गरेको थियो ।
एसियामै चितवन निकुञ्ज एकसिँगे गैंडाको दोस्रो ठूलो वासस्थान हो । पहिलो वासस्थान भारतको काजिरंगा नेसनल पार्क हो । चितवनमा गैंडा पर्यटकका मुख्य आकर्षण भएकाले तिनको दिगो संरक्षण र व्यवस्थापनका लागि संख्याका साथै अवस्था पनि अद्यावधिक हुनुपर्छ ।

विभागले गत वर्षको बजेटमा प्रजाति गणनाका लागि रकम छुट्याएको थिएन । गैंडा, बाघ लगायतका वन्यजन्तु अवलोकन गराएर स्वदेशी–विदेशी पर्यटकबाट विभागले बर्सेनि ५० करोड रुपैयाँभन्दा बढी आर्जन गर्दै आएको छ ।

नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनाले चितवन निकुञ्जमा सबभन्दा बढी ६०५ गैंडा देखाएको थियो । पर्सा, बर्दिया र शुक्लाफाँटाका सहित ६ सय ४५ गैंडा थिए ।

गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैंडा स्थानान्तरण गरिएको छ । चितवनबाहेक पनि गैंडाको संख्या विस्तार गरी प्रजाति संरक्षण गर्न स्थानान्तरण सुरु गरिए पनि दुई वर्षयता रोकिएको छ । बर्दियाको बबई उपत्यकामा स्थानान्तरण गरिएका गैंडाबाट संख्या विस्तार गर्ने सरकारको योजना सफल भएको छैन । त्यहाँ स्थानान्तरण गरिएको संख्या थोरै भएकाले वंश विस्तार हुन नसकेको जानकारहरूको तर्क छ ।

सन् २०१५ को गणनापछि चोरी सिकारबाट मर्ने गैंडाको संख्या नगण्य छ । प्राकृतिक कारणले मर्नेको संख्या भने उकालो लागिरहेको छ । गैंडामा विद्यावारिधि शान्तराज ज्ञवाली गैंडा मरेको तथ्यबाहिर आइरहेका बेला गणना, रोगव्याधि परीक्षण, खानपान र दीर्घकालीन वासस्थान व्यवस्थापनमा ढिलाइ गर्न नहुने सुझाउँछन् ।

‘फरकफरक कारणले गैंडा मरेका कारण विस्तृत अध्ययन आवश्यक देखिन्छ,’ उनले भने, ‘परीक्षणका लागि केही गैंडाको रगत जाँच गरे रोगव्याधि पहिचान गर्न सकिन्छ ।’ वासस्थान र घाँसे मैदान हेर्नका लागि ड्रोन प्रयोग गर्न सकिने उनको सुझाव छ । आपसमा जुधेर, खाडलमा परेर, विद्युतीय तार–धारापमा परेर र केही बुढो भएर पनि गैंडा मरेको पाइएको छ । पछिल्ला अध्ययनले चितवन निकुञ्जमा गैंडाका लागि पर्याप्त घाँसे मैदान र घोल (ताल) नभएको देखिएको छ । ‘खानाका लागि अत्यधिक प्रतिस्पर्धा छ,’ गैंडामा विद्यावारिधि नरेश सुवेदीले भने ।

प्रकाशित : चैत्र २३, २०७५ २१:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्