कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडितलाई छाक टार्नै मुस्किल

भुषण यादव, विमल खतिवडा

बारा — छोरीहरूको बिहेको तयारीमा जुट्दै गर्दा अचानक शक्तिशाली हुरीले घर लडाइदिएपछि फेटा गाउँपालिका–१, भरबलियाका शिवजी जैसवाल थप समस्यामा परेका छन्  । वैशाख १२ गते दुई छोरीको बिहे गर्ने गरी चैत पहिलो साता टुंगो लगाएका उनलाई अहिले बिहान–बेलुकीको छाक टार्नै मुस्किल परेको छ  ।

पीडितलाई छाक टार्नै मुस्किल

‘के खर्चले बिहे गर्ने भन्ने चिन्ता छाएको छ,’ उनले भने, ‘पैसा छैन, घरको अवस्था यस्तो छ ।’


हुरीले भत्किएको घरछेउमा टेन्ट हालिएको छ । शुक्रबार बिहान टेन्टको आडैमा बनाइएको चुलोमा आगो फुकिरहेका थिए । ‘पहिला मेरो परिवारले पकाउँछ, त्यसपछि भाइको परिवारले पकाउँछ,’ उनले भने, ‘दाउरा छैन, ग्यास छैन, पकाउन समस्या छ ।’ सामूहिक खाना खाने व्यवस्था गरिएको छ तर त्यहाँ समयमै खान नपाएपछि घरैमा पकाउन थालेको उनले बताए । उनको ७ जनाको परिवार छ । हुरीमा परेर भाउजूको मृत्यु भएको उनले जानकारी दिए ।

गाउँका कच्ची घर मात्र होइन, केही पक्की घर पनि हुरीले ढालेको छ । गाउँमा शिवजीकै जस्तो पीडा भोग्ने धेरै छन् । भरबलियामा १ सय ९० घर भत्किए । ६ जनाको ज्यान गयो । कसैको पसल पुरिएको छ । कसैको भकारीको धान पुरिएको छ । केहीले घर बनाउन लिएको ऋण तिर्न नपाउँदै घर ढलेको छ । सडक छेउछाउका बस्तीमा राहत बाँड्न धेरैजना पुगेका छन् । भित्री बस्तीमा पुग्ने कम छन् । राहतका रूपमा चामल, दाल, तेल, भुजा र चाउचाउ बढी बाँडिएको छ ।


पकाएर खाने भाँडा, दाउरा र ग्यासको समस्या छ । अधिकांश प्रभावितको मुख्य चिन्ता छ, वर्षात सुरु नहुँदै घर बनाउन सरकारले सहयोग गर्ला कि नगर्ला ! राहत वितरणमा एकरूपता नभएको अगुवा वीरेन्द्र साहले बताए । ‘राहत धेरै आएको छ तर वितरण मनपरी छ,’ उनले भने, ‘एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न सकिए सबैको हातमा राहत पुग्ने थियो ।’

शुक्रबारबाट प्रभावित क्षेत्रका बन्द विद्यालय खुलेका छन् । बालबालिका विद्यालय जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार ९ सय ४० वटा पूर्ण र ९ सय ५५ घर आंशिक क्षति भएका छन् । अहिलेसम्म बारामा २८ र पर्सामा १ जनाको मृत्यु भएको छ । त्यस्तै २ वटा इँटा उद्योग र एउटा स्वास्थ्यचौकीमा क्षति पुगेको छ । घटनामा ४ जना भारतीयको मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ । खानेपानीको समस्या छ । अस्थायी रूपमा पाल टाँगेर शौचालय बनाउन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?