बारा र पर्साका हुरी प्रभावितको घर निर्माणको जिम्मा नेपाली सेनालाई 

काठमाडौँ — सरकारले बारा र पर्साका हवाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको हो ।

बारा र पर्साका हुरी प्रभावितको घर निर्माणको जिम्मा नेपाली सेनालाई 

घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रभावितहरुको घर निर्माणको सम्पूर्ण खर्च सरकारले बेहोर्ने छ । तत्कालै बर्खा लाग्ने भएकाले छिटो निर्माण सक्नका लागि सरकारले सेनालाई जिम्मा दिएको हो । बिहीबार बिहान सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले यो विषयमा कुरा गरेका थिए । प्रधानमन्त्रीसहितको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत थिए । राउतले समेत छिटो घर निर्माणको आवश्यक औल्याउँदै विशेष व्यवस्था गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।


बिहीबार बिहानको बैठकमै सेनालाई जिम्मेवारी दिनेबारे छलफल भएको थियो । त्यही छलफलको आधारमा साँझको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेका हो । प्रभावितहरुलाई घर निर्माणसहित उपचार खर्च पनि सरकारले नै बेहोर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रदेश र केन्द्र सरकारले समन्वयात्मक रुपमा प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्यक्रम समेत सञ्चालन गर्नेछन् ।


प्रकाशित : चैत्र २१, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?