कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलमा

माग सम्बोधन नभए विशेष महाधिवेशनको प्रक्रिया थाल्ने चेतावनी
कुलचन्द्र न्यौपाने

काठमाडौँ — स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौं होटलमा सुरु भएको छ । बिहीबारसम्म चल्ने भेलामा ४३ जिल्लाका सभापतिहरु सहभागी छन् । सात जिल्ला सभापतिहरु आउँदै गरेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए ।

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलमा

भेला राखेकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्टि प्रकट गरेका छन् । उनको असन्तुष्टिको कारण संस्थापन पक्षीय जिल्ला सभापतिहरु भने भेलामा सहभागी छैनन् । गत पुसमा सम्पन्न महासमिति बैठकमा सबै जिल्ला सभापतिहरु यो मुद्दामा एकमत थिए । पछिल्लोपटक पार्टीभित्रको खिचातानीका कारण जिल्ला सभापतिहरु पनि दुई कित्तामा विभाजित बन्न पुगेका छन् ।


संस्थापनपक्षीय भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले मुद्दामा सहमत भए पनि पार्टी केन्द्रीय कार्यसमितिले निर्णय लिइसकेका विषय भएकाले अहिले किचलो झिक्ने नहुने बताए । 'यो मुद्दालाई १४ औं महाधिवेशनमा सँगै लिएर जाउँ भन्ने हाम्रो दृष्टिकोण थियो, तर उहाँहरु (संस्थापनइतर पक्षीय सभापतिहरु) मान्नु भएन । अहिल्यै भेला बोलाउने भनेपछि हामी सहभागी हुन सकेनौं' उनले भने ।


संस्थापनइतरका सभापतिहरुले भने शनिबारको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको यसअघिको निर्णय पुनर्विचार गर्न माग गर्ने भएको छ । फागुन १२ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले जिल्ला सभापतिहरुले उठाउँदै आएका यी दुबै माग सम्बोधन नगरी विधान बहुमतबाट पारित गरेको थियो । उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका संस्थापनइतर पक्षीय केन्द्रीय सदस्यहरुले 'नोट अफ डिसेन्ट' लेखेका थिए ।


काभ्रेका जिल्ला सभापति मधु आचार्यले अझै पुनर्विचार गर्ने ठाउँ भएकाले माग सम्बोधन हुनेमा आफूहरु आशावादी भएको बताएका छन् । सम्बोधन नभएमा विशेष महाधिवेशनका लागि प्रक्रिया अघि बढाउने सम्मको चेतावनी उनीहरुले दिएका छन् । महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले केन्द्रीय पदाधिकारीसहित सबै नेता तथा कार्यकर्ताहरु पार्टी महाधिवेशनबाट तलबाटै निर्वाचित भएर आउनु पर्ने उनीहरुको जोड छ ।


विधानअनुसार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । पार्टीका पूर्वपदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसद्का सदस्य तथा उम्मेद्‌वार, प्रदेश सभाका सांसद र सांसदका उम्मेदवारसम्मले एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि स्वतः हुन पाउने व्यवस्था छ । आरक्षणको सुविधाका बारेमा केही बोलिएको छैन । जसले नेताहरुलाई आफू निकटकालाई आरक्षण सुविधामा दोर्‍याएर ल्याउन पाउने सुविधा दिएको छ ।


प्रकाशित : चैत्र २०, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?