२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दिल्लीमा बन्धक बनाएका १२ नेपाली महिलाको उद्धार

रोकिएन मानव तस्करी
सुरेशराज न्यौपाने

नयाँदिल्ली — इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको छ । 

दिल्लीमा बन्धक बनाएका १२ नेपाली महिलाको उद्धार

वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई विगत केही महिनादेखि नयाँदिल्लीको ग्रामीण भेगका रुपमा चिनिने ती ठाउँमा कोठा भाडामा लिएर बन्धक बनाएर राखेका थिए । उनीहरुमध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो ।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राति छापामारेर उनीहरुको उद्धार गरेको हो । उद्धार गरिएका महिलाहरुले बताए अनुसार केहीलाई एक साता अघि र केहीलाई दुई महिनाअघि नै दिल्ली पुर्याइएको हो । उनीहरुलाई नेपालगञ्ज, सुनौली, काकडभिट्टा नाकाहुँदै बसमा ल्याइएको हो ।

वैदेशिक रोजगारको गिरोहका एक सदस्य उदय रानाले उनीहरुलाई आकर्षक तलब सुविधा पाउने गरी घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिएको थियो । त्यसका लागि उनीहरुले रानालाई पासपोर्ट र बीसहजार देखि दुईलाखसम्म नगद बुझाएका थिए ।

रानाको गिरोहले झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठान घर भएका यी नेपाली महिलाहरुलाई सेटिङ मिलाएर सकेसम्म दिल्ली नभए म्यानमार हुँदै गन्तव्यमा पुर्याउने योजना बुनेको थियो । २२ देखि ४२ उमेरका यी महिलाहरुमध्ये एकजना मालदिभ्स र दुई कुवेतमा काम गरेर फर्किसकेका छन् ।

करिब डेढ महिनाअघि पनि वैदेशिक रोजगारीका लागि भन्दै म्यानमारको बाटो हुँदै खाडी पठाउन लागिएका १७९ नेपाली महिलाहरुको उद्धार गरिएको थियो । मणिपुरको प्रहरी र दिल्ली दूतावासको समन्वयमा म्यानमारको सिमामा रहेका दर्जनौं होटलमा छापा मारेर ती महिलाहरुको उद्धार गरिएको थियो । शनिबारको घटनाले उक्त गिरोहले नेपाली महिलाहरुलाई गैरकानुनी रुपमा विदेश पठाउन म्यानमार रुटलाई अझै पनि प्रयोग गरिरहेको देखाउँछ ।

उद्धार गरिएका महिलाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि नेपाल फर्काइने बताइएको छ । उनीहरुका तर्फबाट रानाविरुद्ध छावला थानामा एफआइआर दायर गरिएको छ । मुद्दालगायतका कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुने केआई नेपालका दिल्ली प्रतिनिधि नविन जाेशीले बताए ।

प्रकाशित : चैत्र १७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?