कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को स्थगित एसईई चैतभित्रै

नतिजा एकैदिन प्रकाशित हुन्छ : परीक्षा बोर्डका सदस्य सचिव
सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले चैतभित्रै सम्पन्न गर्ने गरी प्रदेश २ को एसईई परीक्षाको तयारी अघि बढाएको छ । प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । 

प्रदेश २ को स्थगित एसईई चैतभित्रै

बोर्डले परीक्षा सञ्चालनका लागि समय तालिका (रुटिन) निर्माणको गृहकार्य गरिरहेको छ । ‘आइतबारसम्म परीक्षा तालिका सार्वजनिक गरिसक्छौँ,’ उनले भने, ‘चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौँ ।’ परीक्षा केही दिन अघिपछि भएपनि सात वटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने बोर्डले जनाएको हो ।


चैत १० गतेबाट सुरु भएको एसईई देशभर चैत २१ गते सकिने समय तालिका थियो । प्रदेश नम्बर २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको छ । उक्त विषयको परीक्षाको मिति चैत २२ गते लाई तोकिएको छ ।

साविककै परीक्षा केन्द्र र समयमा उक्त परीक्षा सञ्चालन हुनेछ । त्यसका लागि प्रश्नपत्र छपाइको काम सुरु गरिएको हो । चैत १५ गतेको सामाजिक विषयको प्रश्पत्रपनि परीक्षा अगावै आउट भएका कारण स्थगित गरिएको छ । त्यसपछिका सबै विषयका परीक्षा पनि स्थगित गरिएको हो । स्थगित भएका परीक्षा २३ गतेबाट निरन्तर सञ्चालन गर्ने गरी रुटिन बन्ने सम्भावना रहेको बोर्ड स्रोतले जनायो ।


आइतबार अन्य ६ प्रदेशमा ऐच्छिक प्रथम विषयको परीक्षा सञ्चालन हुँदैछ । ती प्रदेशमा आइतबारको परीक्षा सकिए लगत्तै प्रदेश २ का लागि रुटिन सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बतायो ।


‘आइतबारको परीक्षा हेरेर के कसरी अघि बढ्ने भन्ने सरसल्लाह भएको छ,’ बोर्डका एक सदस्यले कान्तिपुरसँग भने । लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले र बोर्डले परीक्षाको मिति तोक्न हतार नगरेको हो ।


‘आइतबार हुने परीक्षामा कुनै कैफियत नदेखिए, त्यसपछि प्रदेश २ को स्थगित परीक्षाको विषयमा निर्णय लिने योजना छ,’ मन्त्रालयका एक अधिकारीले भने । ऐच्छिक विषयको प्रश्न आउट भए त्यसको प्रभाव एउटा प्रदेशमा मात्र समिति हुँदैन । एउटै प्रश्नपत्र देशभरकै परीक्षामा असर पुग्छ । सोही कारण ‘पर्ख र हेर’ को नीति अपनाइएको हो ।


यसवर्ष ७ वटै प्रदेशका लागि अनिवार्य ६ विषयका छुट्टाछुट्टै र ऐच्छिक विषयहरूका प्रश्नपत्र एउटै बनाइएको छ । बोर्डको बैठक बसेर रद्द र स्थगित भएका परीक्षा कसरी सञ्चालन गर्ने भन्ने तयारी गरिएको सदस्य सचिव अर्यालले बताए । ‘नयाँ प्रश्नपत्र छपाइ, ढुवानी र परीक्षा सञ्चालनमा विषयमा रणनीति बनाइराखेका छौँ,’ उनले भने । ऐच्छिक विषयका विद्यार्थीहरूको सङ्ख्या रुजु गरेर प्रश्नपत्र छपाइ लगायत परीक्षा पूर्व तयारीको आन्तरिक काम भइरहेको हो ।


प्रदेश २ मा परीक्षा स्थगित हुँदा ७० हजार ५ सय ६८ विद्यार्थी प्रभावित भएका छन् । उनीहरूले २ सय ६२ केन्द्रबाट परीक्षा दिइराखेका थिए । उक्त प्रदेशको ८ वटै जिल्लामा परीक्षा सम्पन्न भइसकेका अङ्ग्रेजी, नेपाली र गणित विषयका उत्तरपुस्तिका र परीक्षा हुन बाँकी विषयका प्रश्नपत्रको सुरक्षाका लागि उच्च सर्तकर्ता अपनाइएको छ ।

नजिकको प्रहरी कार्यालयमा राखेका उत्तरपुस्तिका र प्रश्न पत्रहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा ल्याउन बोर्डले आग्रह गरेको हो । जिल्ला परीक्षा समन्वय समितिको बैठक बसेर उत्तरपुस्तिका र प्रश्नपत्र सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याउने बाराका प्रजिअ राजेश पौडेलले जनाए ।


उत्तरपुस्तिका र प्रश्नप्रश्न राखिएको प्रहरी चौकीको निरीक्षण र रुजु गरिसकिएको ती जिल्लाका सुरक्षा अधिकारीले बताएका छन् । मुलुकभरकै एक हजार ९ सय ६९ वटा परीक्षाकेन्द्र नजिकको प्रहरी चौकीमा राखिएको प्रश्नपत्र रुजु गर्न केन्द्रीय परीक्षा समन्वय समितिले निर्देशन दिएको थियो । देशभर ४ लाख ७५ हजार विद्यार्थी परीक्षामा सम्मिलित छन् । परीक्षाका लागि ७२ हजार जनशक्ति परिचालन गरिएको छ ।


परीक्षामा यस्तो स्तरमा प्रश्नपत्र बाहिरिएको इतिहासमै पहिलो पटक हो । यसअघि छपाइका क्रममा, प्रहरी कार्यालयबाट परीक्षा केन्द्रमा प्रश्नपत्र लैजाने र केन्द्रबाटै पनि प्रश्नपत्र बाहिरिएको रेकर्ड छ । यस पटक सामाजिक सञ्जालका माध्यमबाट प्रश्नपत्र परीक्षाको अघिल्लो दिनमै भाइरल हुन पुगेको हो ।

प्रकाशित : चैत्र १६, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?