कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एसईई : बाराको जितपुरमा परीक्षार्थी र प्रहरीबीच झडप 

लक्ष्मी साह

बारा — माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर  पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो । झडपले स्थिती तनावपूर्ण भएपछि नियन्त्रणको लागि प्रहरीले दर्जन सेल अश्रु ग्यास र हवाइ फायर गरेको छ । 

एसईई : बाराको जितपुरमा परीक्षार्थी र प्रहरीबीच झडप 

झडपको क्रममा सशस्त्र र नेपाल प्रहरीका केही महिला प्रहरी जवान घाइते भएका छन् । घाइतेको सिमराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीकी जवान निरु श्रेष्ठको टाउकोमा गम्भीर चोट छ । झडपको क्रममा परीक्षार्थीले सशस्त्र प्रहरीको ना१झ ७१२ नम्बरको जीपमा आगजनी गरेको छ । जीपको पछाडिको भाग जलेको छ । जितपुर बजार र पथलैया–वीरगन्ज राजमार्ग खण्डको आवागमन बिहानैदेखि ठप्प छ । प्रहरीले राजमार्ग खुलाउने प्रयासमा छन् ।

प्रहरीको कुटाइले केही विद्यार्थीसमेत घाइते भएपछि जितपुरको अवस्था अहिले पनि तनावपूर्ण छ । आक्रोशित परीक्षार्थीहरुले बजारको सीसी क्यामरा फुटाएका छन् । बजारको प्रतीक्षालय र वीरगन्जबाट थप मद्दतमा पुगेका सुरक्षाकर्मीको अन्य गाडीसहित केही भाडाका गाडीमा तोडफोड गरेका छन् ।

उता कलैयामासमेत विहान प्रदर्शन गरिएको छ । विरोध जुलुसमा घुसपैठ भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् । जितपुरबाट झडपको क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । ‘परीक्षा रद्द र स्थगित भएपछि परीक्षार्थीहरुमा आक्रोश बढ्नु स्वभाविक हो,’ तर यही अवसरलाई अरुले मौकामा फाइदा लिन खोजेका छन्,’ उनले भने, ‘उक्साउने सबै पहिचानमा आइसकेका छन् । संयमित भएर स्थिति काबु बाहिर जान दिइएको छैन् ।’


परीक्षा अगावै प्रश्नपत्रहरु बाहिरिने शृंखला चलेपछि संघीय सरकार मातहतका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्दसँगै अरु विषयको परीक्षा स्थगित गरेको विरोधमा परीक्षार्थीहरु तीन दिनदेखि ठाउँठाउँमा प्रदर्शन गर्दै आएका छन् । परीक्षार्थीहरुले विद्यार्थीको भविष्यसित खेडवाड गरिएको भन्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : चैत्र १६, २०७५ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?