२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जनकपुर बम काण्ड : के भएको थियो ?

काठमाडौँ — २०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा आरडिएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराउँदा मिथिला आन्दोलनसँग जोडिएका ५ जनाको मृत्यु भएको थियो । तीन दर्जनभन्दा बढी घाइते भए । त्यो त्रासदीपूर्ण घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिएपनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले पुरक अभियोगपत्र अदालतमा बुझाएको थियो ।

जनकपुर बम काण्ड : के भएको थियो ?

विस्फोटमा संग्लन ८ जनाको नाममा २०६९ जेठ २९ गते जिल्ला अदालत धनुषामा अभियोगपत्र दायर गरेको सरकारी वकिल कार्यालयले २०७० चैत २४ गते पूर्वमन्त्री साह र उनका सहयोगीसहित थप ५ जनाविरुद्ध पुरक अभियोगपत्र दायर गरे ।

विस्फोट भएलगत्तै रंजित झा(राजनमुक्ति) र मुकेश चौधरी नेतृत्वको सशस्त्र समूहले घटनाको जिम्मेवारी लिए । झा र चौधरी दुवै पक्राउ परेपछि विस्फोटनमा पूर्वमन्त्री साहको नाम मुछियो । ‘विस्फोटन भएको दिनको अघिपछि पूर्वमन्त्री साह र चौधरीविच मोवाइलमा १ सय २२ पटक वार्ता भएको छ,’ सरकारी वकिल कार्यालयका न्यायधिवक्ता शम्भु गौतमले मुद्दाको अन्तिम बहस थाल्दै भनेका थिए,‘विस्फोटनपछि सार्वजनिक भएको साह र चौधरीबीचको अडियो संवादले पनि वारदाताको मुख्य योजनाकार साह रहेको खुल्छ ।’

जनकपुर क्षेत्रबाट संविधानसभाको पहिलो निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम र दोस्रो चुनावमा सद्भावना पार्टीबाट निर्वाचित सभासद् साह यहि मुद्दामा पूर्पक्षका लागि हाल कारागारमा छन् । पहिलो संविधानसभामा छिटछिटो सरकार फेरिंदा उनी विजय गच्छदारको पार्टीबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए । सभासद् हुँदा नै साह पक्राउ परे ।

सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा पूर्वमन्त्री साहले बम विस्फोटनका लागि सशस्त्र समूहका नाइके चौधरीलाई ५० लाख रुपैयाँको सुपारी दिएको उल्लेख छ । भारत, सीतामढीमा साह र चौधरीबीच बम विस्फोट गराउने सहमति भएको र लगत्तै साहले आफ्ना विश्वासपात्र ओमप्रकाश यादवमार्फत पठाएको ५ लाख भारु चौधरीले सीतामढी र मुज्जफरपुर सहरबीच ठाउँबाट बुझेको सरकारी वकिलको दाबी थियो । ‘५ लाख भारु बुझेको र बुझाउन गएको चौधरी र यादव दुबैले वयानमा स्वीकारका थिए । जिल्ला न्यायधिवक्ता गौतमले भनेका थिए, ‘त्यसैले बम विस्फोटनको मुख्य योजनाकार साह नै हुन् ।’

बम विस्फोटपछि सशस्त्र समूहका नाइके चौधरी र पूर्वमन्त्री साहविच भएको अडियो संवाद लिकपछि आन्दोलनरत्त मिथिला राज्य संघर्ष समितिले ‘आवाज चिरपरिचित’ रहेको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको थियो । त्यहि आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र विधि विज्ञान प्रयोगशालामा पूर्वमन्त्री साहले सार्वजनिक कार्यत्रममा दिएको भाषण समेत संकलन गरेर आवाजको परिक्षण गरियो । प्रहरीको ब्यूरो र विधि विज्ञान प्रयोगशालाले तीन चरणमा गरेको परिक्षणमा आवाज साहकै रहेको दाबी गरेको थियो ।

सरकारी वकिलको कार्यालयले यसलाई पनि प्रमाणको रुपमा अदालतमा पेश गरेको थियो । जिल्ला न्यायधिवक्ता गौतमका अनुसार २०७० फागुन १९ गते सशस्त्र समूहका नाइके चौधरी पक्राउ परेपछि उनीसित बरामद पेन ड्राइभमा पनि भेटिएको ट्रयाकमा रेकर्ड रहेको साह र चौधरीको आवाज पनि मिलेको छथियो । ‘विस्फोट गराउन पैसाको लेनदेन, घटना अघिपछि चौधरीसित साहको अस्वभाविक फोन सम्पर्क र उनीहरुबीच भएको कुराकानीको आवाज म्याच हुनुले बम विस्फोट गर्न लगाउने योजनाकार साह नै रहेको पुष्टि भएको गौतमले दाबी गरे ।

मिथिला बम विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, बिमल शरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो । घटनामा संलग्न जयप्रकाश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा, जितेन्द्र कर्ण र आदित्य देवलाई प्रहरीले पक्राउ गर्‍यो । यिनीहरुकै बयानको आधारमा प्रहरीले सशस्त्र समूहका नाइके चौधरी र राजनमुत्तिलाई पनि नियन्त्रणमा लियो । पहिलो र दोस्रो चरणमा पक्राउ परेका अभियुक्तहरुले घटनामा पूर्वृमन्त्री साहको नाम मुछेपछि सरकारी वकिलको कार्यालयले साहसहित राजनप्रताप भनिने फूलकुमार यादव, नागराज भनिने उमेश तिवारी, सुजितकुमार पाण्डे र ओमप्रकाश यादवका बिरुद्ध पुरक अभियोगपत्र दायर गरे ।

सरकारी वकिलको कार्यालयले साहले होटल व्यवसायी जिवनाथ चौधरीको हत्या गर्न रामानन्द चोकमा ठूलो जनधनको क्षति हुने गरी बम विस्फोट गर्न लगाएको अभियोगपत्रमा दाबी गरेको छ । साह र होटल व्यवसायी चौधरीबीच पुरानो दुश्मनी छ । विस्फोटनबाट चौधरी बचेपछि सुपारी वापतको थप पैसा साहले नदिँदा घटनामा उनको संग्लनता खुलेको थियो ।

[कान्तिपुर अभिलेखबाट]

प्रकाशित : चैत्र १४, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?