२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चन्द समूह प्रति कठोर बन्दै सरकार, आज मात्रै १२ पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — नेत्रविक्रम चन्द समूहका गतिविधि माथि प्रतिवन्ध लगाएसँगै सरकार उक्त समूह प्रति कठोर बन्दै गएको छ । सरकारले फागुन २८ यता मात्रै उक्त समूहसँग आवद्ध ६४ जना नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । 

चन्द समूह प्रति कठोर बन्दै सरकार, आज मात्रै १२ पक्राउ

मंगलबार मात्रै प्रहरीले आठ जिल्लाबाट १२ जना पक्राउ गरिसकेको छ । जसमा धेरैजसो जिल्लास्तरीय नेताहरु रहेका छन् । प्रहरीले मंगलबार मात्रै चितवनबाट २ जना, अछामबाट ४ जना, नवलपरासीबाट १ जना, संखुवासभाबाट १ जना, मकवानपुरबाट १ जना, इलामबाट १ जना, सुनसरीबाट १ जना र कास्कीबाट १ जनालाई पक्राउ गरेको छ ।


चन्द समूहका नेता कार्यकर्ता विरुद्ध कठोर बन्दै गएको संकेत गृह मन्त्रालयले पनि देखाइरहेको छ । गृह मन्त्रालयले पछिल्लो दश दिनमा मात्रै चन्द समूहप्रति लक्षित दुईवटा प्रेस बिज्ञप्ती जारी गरीसकेको छ, भने समूहका केन्द्रिय नेताहरु पक्राउ गर्नका लागि प्रहरीलाई कडा निर्देशन दिइरहेको छ ।


गृहले चैत १ गते अवैध वा नविकरण नगरेका हतियार ३५ दिनभित्र प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । त्यसलगत्तै चैत १० गते गृहले दोस्रो विज्ञप्ती जारी गर्दै चन्द समूहलाई प्रत्यक्ष परोक्ष सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारवाहीको दायरामा ल्याइने भन्दै सूचना जारी गरेको छ ।


गृहको पछिल्लो विज्ञप्ती लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदीय दलको बैठकमा बोल्दै चैत महिनाभीत्रै चन्द समूहका धेरै नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइने बताएका थिए । चैत महिनाभित्र चन्दलाई पनि नियन्त्रणमा लिइने उनको दाबी थियो ।


चन्द समूहका तेस्रो बरियताका नेता सुर्दशन भनिने हेमन्तप्रकाश ओलीसहित आठ कार्यकर्ता काभ्रेबाट र कोशीबाट चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुकारसहित दुईजनालाई पक्राउ परेलगत्तै प्रधानमन्त्रीको यस्तो भनाइ आएको छ ।


प्रहरी प्रधान कार्यलयले प्रतिबन्धको निर्णयसँगै चन्द माओवादीका केन्द्रिय नेतामाथी निगरानी मात्रै बढाएको छैन, आर्थिक रुपमा सहयोग उठाउन नसकोस् भनेर पनि सुक्ष्म सूचना संकलन गरिरहेको छ । प्रहरीले तराइका चितवन, दाङ, कपिलवस्तु र कैलालीका अलवा मध्य पश्चिमका पाहडी जिल्ला तथा पूर्वी पहाडका सिन्धुृली र आसपासका जिल्लाहरुमा चन्द समूहमाथी निगरानी बढाएको छ ।


केन्द्रिय नेताको गृह जिल्ला मध्ये चन्दको गृहजिल्ला कपिलवस्तु, स्थायी कमिटी सदस्य सन्तोष बुढामगर, दोस्रो बरियताका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला कालिकोट, दोस्रो बरियताका नेता हेमन्त प्रकाश ओलीको गृहजिल्ला रुकुममा बढी निगरानी बढाएको छ । चितवन र कैलाली जिल्लामा भने असन्तुष्ट पूर्व माओवादीहरुको चन्द समूहलाई सहयोग हुनसक्ने प्रहरी आंकलन छ ।


प्रकाशित : चैत्र १२, २०७५ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?