चन्दसँग वार्ता गर्ने प्रयास जारी छ : वरिष्ठ नेता नेपाल

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्नेे प्रयास जारीरहेको बताएका छन् ।

चन्दसँग वार्ता गर्ने प्रयास जारी छ : वरिष्ठ नेता नेपाल

'पार्टीका एक तहका नेता सोमप्रसाद पाण्डेयजीले अझै पनि संवाद राख्न खोजिरहनु भएको छ' नेता नेपालले मंगलबार बिहान भरतपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा भने ।


संवाद राख्न खोजेका केही नेता नै पक्राउ परेकोसमेत नेता नेपालले खुलासा गरे । 'उहाँहरुसँग अलि होस् गर्नुस् है, सतर्क रहनुस् है भनिएको पनि रहेछ तर पक्राउ परेका छन् । पाण्डेयजीको प्रयास फेरि पनि जारी रहेको छ । जिम्मा लिएका नेताहरु यो काममा संलग्न छन्' नेता नेपालले भने । सरकारले चन्दको गतिविधिमा प्रतिबन्ध लगाए पनि मान्छेलाई नै सिध्याउने नीति नलिएको उनले बताए ।


'मान्छेको चिन्तनलाई ध्वंसमा हैन रुपान्तरणमा लैजाने मूल कुरा हो । अब नेत्रविक्रम चन्दले पनि आफैं पहल गरेर शान्तिपूर्ण रुपमा अवतरण गर्ने काम गर्नु भयो भने उनको शक्ति, उर्जा र अनुभव देशलाई रुपान्तरण गर्न प्रयोग हुन्छ' नेता नेपालले भने । राज्यले त्रास, आतंक र विध्वंस नहोस् भन्ने चाहेको र सिर्जनात्मक र रचनात्मक रुपमा अगाडि बढ्ने कुरामा कुनै अवरोध नगर्ने उनले बताए ।


'राज्य पक्षले त वार्ता सम्वादको ढोका बन्द गरेकै छैन । तर लगानी सम्मेलनको आयोजना गरिएको छ लगानीकर्तालाई बम पड्काएर धम्की दिएर तर्साएको छ । अनि कसरी लगानी सम्मेलन सफल हुन सक्छ । कसरी बाहृय लगानी आउन सक्छ । कसरी आन्तरिक लगानीमा मान्छे रुची राख्छ । त्यसैले राज्यले नागरिकलाई सुरक्षा दिनु उसको कर्तव्यभित्र पर्छ । त्रास र आतंकबाट मुक्त गर्न राज्यले प्रयत्न पनि गर्नुपर्छ' नेता नेपालले भने ।

प्रकाशित : चैत्र १२, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?