कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिटकै भरमा एसईई

प्रदेश २ ब्युरो

जनकपुर — विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाट सोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्ने अभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी छ ।

चिटकै भरमा एसईई

प्रदेश २ का ८ जिल्लाबाट ७२ हजार ४९ विद्यार्थी यस वर्षको एसईईमा सहभागी छन् । धनुषामा सबभन्दा बढी ११ हजार १ सय ८८ विद्यार्थी सहभागी छन् । धनुषाको फुलगामामा रहेको गिरिजा मावि केन्द्रमा सरकारी अनुगमन टोली पुग्दा अनौठो दृश्य देखियो । परीक्षार्थी बेन्चमै गेसपेपर राखेर उत्तरपुस्तिमा सार्दै थिए । परीक्षा कोठाबाट सुरक्षाकर्मीले चिटको चाङ बरामद गरे । सबैजसो परीक्षार्थीले लुकाएको चिट खोस्दा थुप्रो लाग्यो ।


उत्तरपुस्तिकासँगै चिट लुकाएको, गेस पेपर लुकाएको भेटिएपछि राष्ट्रिय अनुसन्धानका धनुषा प्रमुख दिलीप सिंहले परीक्षार्थीको तलासी गर्दा गुप्तांगमा लुकाइएको गेस पेपर, गाइड, पकेट बुक फेला परेको थियो ।


अनुगमनका लागि जिल्लाबाट टोली आएको भन्दै परीक्षार्थीलाई निरीक्षकले सतर्क गराएका थिए । परीक्षार्थीले गेसपेपर, गाइड, उत्तर लेखिएका पाना हतारमा लुकाएका थिए । झ्याल, बेन्च र गुप्तांगमा लुकाएको चिट प्रहरीले खोसे । परीक्षार्थीले पक्राउ पर्ने डरले झ्याल बाहिर फालेका गेसपेपर र गाइड सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डेले फेला पारेपछि परीक्षा निरीक्षकहरूले नाक खुम्च्याए ।


टोलीले तुल्सीयाही केन्द्र र नगराइन केन्द्रमा परीक्षार्थीले उत्तरपुस्तिकामुनि गेस पेपर लुकाएका थिए । बाहिरबाट चोरी हुन नदिन सुरक्षाकर्मी परिचालन हुँदा पनि खटिएका निरीक्षक चिट चोरीमा संलग्न पाइएपछि सहायक प्रजिअ वेदप्रसाद अर्यालले केन्द्राध्यक्ष र निरीक्षकलाई सचेत गराए । विगतको तुलनामा मर्यादित भए पनि केन्द्रमा खटेका केन्द्राध्यक्ष र निरीक्षकमा सुधार नभएको अर्यालले बताए । ‘परीक्षामा बहिरबाट चिट आउने क्रम रोकिएको छ,’ उनले भने, ‘परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरू इमानदार देखिएनन् ।’


प्रदेश २ का ८ जिल्लामा कुल २ सय ६३ केन्द्राध्यक्ष, ३ सय ४५ सहायक केन्द्राध्यक्ष, ३ हजार ४ सय ३६ निरीक्षक खटिएका छन् । ५ सय ८६ सहायक निरीक्षक र १ हजार २ सय ८१ सहयोगीले एसईई सञ्चालन गरिरहेका छन् ।


ग्रुप च्याटबाट चोरी

सप्तरीको बसबिटीस्थित केन्द्रमा सोमबार इन्टरनेट प्रयोग गरी चिट चोरिएको छ । प्रजिअ सुरेन्द्र पौडेलले सामाजिक सञ्जालका माध्यमबाट चिट चोराउने काम भएको बताए । ‘विद्यालयकै वाइफाई प्रयोग गरिएको वा मोबाइलको हटस्पटबाट गरिएको हो, अनुसन्धान भइरहेको छ,’ उनले भने ।


शिक्षा समन्वय एकाइ प्रमुख शंकर लुइँटेलले बसबिटी केन्द्रमा इन्टरनेटबाटै चिट चोराउने काम भइरहेको जानकारीपछि अनुगमन टोलीले एकथान मोबाइल बरामद गरेको बताए । परीक्षामा सहभागीले केन्द्रमै मोबाइल लगेर फेसबुकको ग्रुपच्याट बनाएर चिट चोराएको लुइँटेलले जनाए ।


राजविराजस्थित मोडेल क्याम्पस केन्द्रमा ३ र राजदेवी मावि केन्द्रबाट २ सहित ५ निरीक्षकलाई प्रजिअ पौडेलले निष्कासन गरेका छन् । विद्यार्थीलाई चिट चोराउन सघाएको र जिम्मेवारी पूरा नगरेको आरोपमा पाँचै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको पौडेलले जनाए । विभिन्न केन्द्रमा परीक्षा दिइरहेकै विद्यालयका शिक्षकहरूलाई समेत केन्द्राध्यक्षहरूले मिलेमतोमा निरीक्षक तोकिएको छ । जुन विद्यालयको विद्यार्थी उक्त केन्द्रमा परीक्षा दिइरहेका छन् सो विद्यालयका शिक्षकलाई निरीक्षक राख्न पाइँदैन ।


सरोकारवालाको चासो

ग्रेडिङ प्रणाली सुरु भए पनि परीक्षामा सुधार आउन नसकेको शिक्षाका सरोकारवालाहरूले औंल्याएका छन् । सिरहाका अधिकांश केन्द्रबाहिर अभिभावकको भीड हटे पनि परीक्षा मर्यादित हुन नसकेको उनीहरूको भनाइ छ ।


‘विगतमा परीक्षार्थी हलभित्र र हलबाहिर अभिभावकको घुइँचो हुन्थ्यो,’ जेएस मुरारका क्याम्पस लहानका उपप्राध्यापक कन्हैया भट्टले भने, ‘एसईईमा ग्रेडिङ प्रणाली सुरु भएपछि केन्द्र बाहिर अभिभावकको घुइँचो यस वर्ष देखिएन, तर हलभित्र परीक्षा मर्यादित हुन सकेको छैन ।’


हलभित्रबाट अनुगमन टोलीले बोराका बोरा चिट पक्राउ गर्नु, केन्द्राध्यक्षदेखि लिएर निरीक्षकसमेतले परीक्षार्थीलाई चिट चोराउने प्रवृत्ति विगतमा झैं यस वर्ष पनि कायम रहेकाले मर्यादित हुन नसकेको उनको भनाइ छ । ‘पहिला अभिभावकहरू दौडधुप गरी बाहिर चिट पुर्‍याउन लागि पर्थे,’ उनले भने, ‘तर, अहिले त्यो परिष्कृत भएको छ, त्यसको साटो विद्यालयको सेटिङमा केन्द्रका निरीक्षक, सहायक निरीक्षक हलभित्रै खुला रुपमा चिट चोराउँछन, अझ परीक्षार्थीका लागि कतिपय केन्द्रमा ब्ल्याक बोर्ड नै प्रयोग हुने गरेको पाइन्छ ।’


केन्द्र सेटिङदेखि निरीक्षक नियुक्त गर्ने मामिलामा जिल्लाका निजी विद्यालय सामुदायिक विद्यालयभन्दा अगाडि छन् । केन्द्रदेखि निरीक्षक राख्नेसम्म खरिद बिक्रीमा उनीहरूको ठूलो हात रहेको भट्टको भनाइ छ । जसले गर्दा ग्रेडिङ प्रणालीमा गइसके पनि परीक्षा मर्यादित हुन सकेको छैन । यो दुःखद भएको उनको टिप्पणी छ । विगतदेखि परीक्षा नियाल्दै आएका अर्का शिक्षाविद् धरणीधर अधिकारी एसईईमा विगतभन्दा यस वर्ष केही सुधार भएको बताउँछन् । परीक्षा प्रणालीमा भने खासै सुधार नभएको उनको तर्क छ ।


‘पहिला विशिष्ट श्रेणीका लागि अभिभावक मरिहत्ते गर्थे,’ उनले भने ‘अहिले ए प्लस अर्थात् ९० अंक प्राप्तिका लागि अभिभावकको दौड कायमै छ ।’ केन्द्रबाहिर अभिभावकको भीड हटे पनि भित्र केन्द्राध्यक्षदेखि सहायक निरीक्षकसम्मको मिलेमतोमा चिट चोराउने काम हट्न नसकेको उनले बताए । एसईईमा सिरहाका ३८ केन्द्रबाट सोमबार दोस्रो दिन ९ हजार ४ सय ८० परीक्षार्थी सहभागी बने । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दोलराज पाण्डे परीक्षा मर्यादित रूपमा चलिरहेको दाबी गर्छन् ।


हट्यो अभिभावकको भीड

योपटक सर्लाहीका प्रायः परीक्षा केन्द्रमा अभिभावकको भीड देखिएको छैन । चिट चोरी भने रोकिएको छैन । चिट लिएर परीक्षा कोठामै पुग्ने विद्यार्थीले विरलै देख्न सकिन्छ । अनुगमनका लागि केन्द्र पुग्नेले विद्यार्थीबाट नोटबुक र गेसपेपर बरामद गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाई कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले परीक्षा मर्यादित बनाउन सक्रियता देखाए पनि कमजोर पठनपाठनका कारण चिट चोरी रोकिएको छैन ।


शिक्षक अभाव र भएका शिक्षक पनि जागरुक भई नपढाउँदा जिल्लाको पढाइको स्तर कमजोर छ । पठनपाठन कमजोर बनेपछि विद्यार्थी पास हुनलाई चिट चोर्नुपर्ने बाध्यतामा रहेको पूर्वशिक्षक रजनीकान्त झाले बताए । ‘समग्रमा यहाँको शैक्षिक अवस्था कमजोर छ । एक त शिक्षक कमी, अर्को शिक्षक नियुक्तिमा राम्राभन्दा हाम्रा नियुक्त गर्ने चलन, जस कारण विद्यार्थीको पढाइ कमजोर छ,’ उनले भने, ‘विद्यार्थी कमजोर बनेपछि पास हुन पनि चिट चोर्न बाध्य छन् ।’


विगतका वर्षमा सम्बन्धित विद्यालयका शिक्षकहरू नै केन्द्र पुगेर चिट चोर्न लगाउँथे । केन्द्रबाट प्रश्नपत्र आउट गरी शिक्षकले विद्यार्थीलाई चिट पुर्‍याउन जान्थे । विगतको तुलनामा परीक्षा सुधार र मर्यादित हुँदै गएको समन्वय एकाइ कार्यालयको दाबी छ । लालबन्दीस्थित जनज्योति माविबाट एक निरीक्षकलाई भने निष्कासन गरिएको छ । अंग्रजी विषयको शिक्षकसमेत रहेका निरीक्षकलाई निष्कासन गरिएको एकाइ प्रमुख चेतकुमार पोखरेलले बताए ।


पर्सामा सुधार हुँदै

विगतमा अभिभावकको भीड लाग्ने वीरगन्जका परीक्षा केन्द्रमा यसपटक खासै चहलपहल देखिएन । चिट चोराउने आफन्त र प्रहरीबीच झडपका खबर सुन्नुपरेको छैन । बोराका बोरा गेस पेपर र चिट पाइने केन्द्रबाट फाटफुट मात्र बरामद भएका छन् । चिट चोर्ने र चोराउनेमा बदनामी कमाएको पर्सामा यसपटक स्तरीय र मर्यादित परीक्षा सञ्चालन भएको छ ।


मर्यादित परीक्षाका लागि यसपटक केन्द्र भवनको छतदेखि चिट चोराउन सक्ने सबै नाकामा प्रहरी तैनाथ गरिएका छन् । जिल्ला परीक्षा समन्वय समिति संयोजक एवं प्रजिअ नारायणप्रसाद भट्टराईले परीक्षा मर्यादित बनाउन केन्द्रध्यक्ष र निरीक्षकलाई जवाफदेही बनाइएको बताए । ‘उनीहरूको निगरानीमा सरोकारवाला खटाइएको छ,’ उनले भने, ‘त्यो सँगै ४/५ जनाको समूहले प्रत्येक केन्द्रमा अनुगमन गर्ने गरेको छ ।’


उनका अनुसार जानेको कुरा लेख्नलाई बाह्य वाधा पुर्‍याउने अवस्था छैन । चिट चोर्ने मौका पनि दिइएको छैन । ‘परीक्षा कोठामा परिक्षार्थीबाट चिट बरामद भए निरीक्षकलाई कारबाही गर्ने नीति बनाएका छौं,’ उनले भने, ‘गलत गर्नेलाई मौका दिइएको छैन ।’ हालसम्म ३ निरीक्षकलाई कारबाही गरिसकिएको उनले जनाए ।


अनुगमन र निरीक्षणमा गएकालाई पनि जथाभावी परीक्षा कोठामा प्रवेश गर्न दिइएको छैन् । पहिलो दिन परीक्षार्थीका आफन्तको बाक्लो उपस्थिति रहेको केन्द्रमा कडाइ गरिएपछि दोस्रो दिन भीड पातलिएको छ । परीक्षा सञ्चालनका लागि परीक्षा समन्वय समितिले अनुगमन टोली गठन गरेको भट्टराईको भनाइ छ । जिल्लामा ८ हजार ३ सय ८९ विद्यार्थी परीक्षामा सहभागी छन् ।


२४ केन्द्राध्यक्ष ४२ सहायक केन्द्राध्यक्ष र ४ सय २ निरीक्षक खटाइएको छ । परीक्षालाई नियमन नहुँदा पछिल्ला केही वर्षदेखि एसईईमा अनियमितता हुँदै आएको शिक्षक ओमप्रकाश चौधरीले बताए । श्रीपुर, विर्ता, माईस्थान, पन्नालाल, चिनीमिलका केन्द्रहरूमा चिट चोर्ने, चोराउने, प्रश्नपत्र आउट गर्ने जस्ता अमर्यादित कार्य रोकिएका छन् ।


सुध्रिँदै परीक्षा

बाराको ३१ केन्द्रमा सहभागी ७ हजार ९ सय ३ परीक्षार्थी यसपालि शान्त वातावरणमा एसईई दिँदै छन् । चिट चोरी अघिल्लो वर्षको तुलनामा कमी छ । केन्द्रमा अनावश्यक भीड हटेको छ ।


शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तथा प्रजिअ नगेन्द्रराज पौडेलले केन्द्रहरूको वातावरण पहिलेको तुलनामा सुधार भएको बताए । प्रश्नपत्रहरू सरल, व्यावहारिक भएकाले पनि केन्द्रमा अभिभावकको भीड छैन । ‘प्रश्नपत्र छनोटले परीक्षार्थीलाई सहज भएको छ, जसले चिटको आवश्यकता छैन,’ उनले भने, ‘प्रश्नपत्र छनोटलाई प्रयोगात्मक बनाउनमा ध्यान दिइएको छ ।’


यस्ता प्रश्नहरूले घोकन्ते विद्यार्थीलाई निरुत्साहित गरिएको उनले बताए । कलैयास्थित सिद्धेश्वर केन्द्रका केन्द्राध्यक्ष छविरमण सुवेदीले परीक्षामा सुधार भएको बताए ।



राम्रो अंक ल्याउने लोभ


भोगेन्द्र झा, शिक्षाविद्


एसएलसीलाई ग्रेडिङमा लगेर एसईई बनाए पनि अभिभावकलाई आफ्नो छोराछोरीले राम्रै अंक ल्याओस् भन्ने लोभ छँदै छ । त्यसकारण परीक्षामा गलत कार्य गरेर भए पनि राम्रो ग्रेड ल्याउने प्रयास गरिन्छ । परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोक्ने एसएलसीकै परिपाटी कायमै रहँदा चिट चोरीले प्रश्रय पाएको छ ।


परीक्षा मर्यादित बनाउँदा विद्यालयमा विद्यार्थीलाई मिहिनेत गरी पढाउनुपर्ने डर शिक्षकमा छ । त्यसैले शिक्षक पनि परीक्षामा विद्यार्थीलाई चिट चोर्न सघाउँछन् । यसले शिक्षामा पुस्तान्तरण भइरहेको छ । डिग्री होल्डर त भए तर दक्ष जनशक्ति बन्न सकेनन् । आधारभूत तहदेखि नै शिक्षाको गुणस्तर सुधार अभियान चलाए मात्र यो प्रवृत्ति कम हुन्छ ।


भूषण यादव (वीरगन्ज), सन्तोष सिंह (धनुषा), अवधेश झा (सप्तरी), भरत जर्घामगर (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही) र लक्ष्मी साह (बारा)

प्रकाशित : चैत्र १२, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?