२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गण्डकी मेडिकल कलेज : फरार पक्रन सीआईबी

कास्की — ठगी मुद्दाका फरार आरोपी पक्रान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालन गरिएको छ । विद्यार्थीको जाहेरीपछि आरोपीमध्येका दुईलाई नियन्त्रणमा लिए पनि अन्य फरार छन् ।

उनीहरूको खोजीका लागि जिल्ला प्रहरी कास्कीले सहयोग मागेपछि सीआईबीले सोमबारबाट टोली परिचालन गरेको हो ।


फरारलाई पक्राउ गर्न ब्युरो प्रमुख नीरजबहादुर शाहीलाई पत्राचार गरी सहयोग मागेको कास्कीका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । ‘हामीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘मुद्दा अदालतमा लैजाने बेलासम्म आरोपी सबैलाई नियन्त्रणमा लिन सीआईबीसँग सहयोग मागेका हौं ।’


ठगी मुद्दाका आरोपी पक्राउ गर्न टोली परिचालन भइसकेको उनले सुनाए । सरकारद्वारा निर्धारितभन्दा बढी असुल गरिएको रकम फिर्ता गर्नुपर्नेसहितका चार सूत्रीय माग राखेर विद्यार्थी आन्दोलित थिए । डेढ महिनासम्म पठनपाठन बन्द गरेर रिले अनशन गरेका विद्यार्थीले माग सुनुवाइ नभएपछि कलेज सञ्चालक अध्यक्ष खुमा अर्यालयसहित १० जनाविरुद्ध फागुन २१ मा प्रहरीमा जाहेरी दिएका थिए ।


जाहेरी दर्तालगत्तै आरोपीमध्येका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष अर्यालसँगै प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, कर्मचारीहरू हरिमाया पौडेल, दिनेश पौडेल, तिलक पौडेल र कृष्ण पौडेल फरार छन् ।


ठगी मुद्दामा कारबाहीका लागि उजुरी दर्तापछि जारी पक्राउ पुर्जीविरुद्ध अध्यक्ष अर्याललगायतले पोखरा उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले विपक्षमा आदेश दिएयता लुकीछिपी बसेका आठै जनाको खोजी भइरहेको प्रहरीले बताए । सुरुसुरुमा जाहेरी फिर्ता लिन विद्यार्थीलाई दबाब दिए पनि फिर्ता हुने प्रकृतिको मुद्दा नभएको प्रस्ट भएपछि लुकेका आरोपी अझै बेखबर छन् ।


विभिन्न मेडिकल कलेजले निर्धारितभन्दा बढी असुलेको रकम विद्यार्थीलाई फिर्ता गराउन गत साता शिक्षामन्त्रीको रोहबरमा भएको वार्तामा सहमति भएको थियो । कलेजहरूलाई सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालय पदाधिकारी र विद्यार्थी संगठन प्रतिनिधिबीच भएको उक्त वार्तापछि गण्डकी मेडिकल कलेज सञ्चालनमा आइसकेको छ ।

प्रकाशित : चैत्र १२, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?