१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

चन्द समूहमा एक्लिए विश्वकर्मा

दीपेन्द्र विष्ट

काठमाडौँ — नेक्रवित्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् । 

चन्द समूहमा एक्लिए विश्वकर्मा

सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलवस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो । स्रोतअनुसार त्यसपछि दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्‍यो ।


विश्वकर्माले रिहाइका लागि सत्तापक्ष र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गुहारेको भन्दै चर्को आलोचना भयो । विश्वकर्माले अखिल क्रान्तिकारीका विद्यार्थी अध्यक्ष चिरञ्जीवी ढकालमार्फत नेता भट्टराईसमक्ष पहल गरिदिन अनुरोध गरेको बताइएको छ ।


भट्टराईले संघीय संसद्मा विश्वकर्माको रिहाइका लागि सरकारसँग माग गरेका थिए । रिहाइपछि पक्राउ हुन नदिन राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक न्यायालय पुगेका थिए । ‘पार्टीलाई कुनै जानकारी नदिई विश्वकर्माले सरकारसँग वार्ता गर्ने कुरा गरे, यो पार्टीको निर्णय थिएन । उनी आफैंले सरकारसँग के के गरे, पार्टीलाई जानकारी थिएन,’ स्थायी कमिटीका एक सदस्यले कान्तिपुरसँग भने, ‘त्यसपछि उनका गतिविधिप्रति स्थायी कमिटीमा चर्को बहस भयो । हाल उहाँ शंकाको घेरामा हुनुहुन्छ । महासचिवसँग सम्पर्कमा हुनुहुन्न ।’ हाल उपत्यकामै रहेका विश्वकर्मा निष्क्रिय जस्तै छन् ।


ती सदस्यका अनुसार विश्वकर्मालाई विज्ञप्ति जारीलगायतका काम नगर्न निर्देशन दिइएको छ । फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोटपछि महासचिव चन्दले आफैं विज्ञप्ति निकालेर त्यसको जिम्मा लिएका थिए ।


नेपाल बन्द आहवान गर्दै फागुन २४ गते जारी विज्ञप्तिमा पनि चन्दले नै हस्ताक्षर गरेका थिए । चैत ५ गते काभ्रेबाट कार्यकर्ता पक्राउ परेपछि मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश वलीले विज्ञप्ति निकाले ।


चन्दको उदारता र इमानदारिताको फाइदा लिँदै पार्टी कब्जा गर्ने रणनीति विश्वकर्माले लिएको स्थायी कमिटीका एक सदस्यले भने । ‘विश्वकर्माले दुई लाइन संघर्ष चलाउन खोजेका छन्, त्यो सफल हुँदैन,’ उनले भने ।


करिब दुई वर्षदेखि मध्यकमान्ड इञ्चार्जलगायत आर्थिक विभागको प्रमुख जिम्मेवारी विश्वकर्माले सम्हाल्दै आएका थिए । आर्थिक रूपमा अपारदर्शी भएको भन्दै उनीप्रति स्थायी कमिटीमा चर्को आलोचना भएको समेत ती सदस्यले जानकारी दिए । ‘पहिले स्थायी कमिटीमा विश्वकर्माले ल्याएका सबै एजेन्डा पास हुन्थे, यस पटक कुनै पनि पास भएन,’ उनले भने, ‘उहाँले आफ्नो अवमूल्यन भएको महसुस गर्नुभएको छ, पार्टीले कुनै जिम्मेवारी दिएको छैन ।’


मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग भइसकेपछि चन्दले पार्टीको संगठन विस्तारदेखि सम्पूर्ण जिम्मा विश्वकर्मालाई दिएका थिए । त्यसको फाइदा उठाउँदै उनले जनवर्गीय संगठनमा पकड जमाउँदै आएका थिए ।


गत चैतमा दाङमा चन्दले तत्कालीन महासचिव दीपेन्द्र चलाउनेलाई विद्यार्थी संगठनको अध्यक्ष बनाउन खोजे पनि विश्वकर्माले आफू पक्षीय चिरञ्जीवी ढकाललाई अध्यक्ष बनाइछाडे । जनस्वास्थ्यकर्मी संघमा ठूलै विवाद हुँदा उनले आफू पक्षीय टीका कंँडेललाई अध्यक्ष बनाए भने चन्द समूहले प्रमोद योगीको अध्यक्षतामा समानान्तर समिति बनाए । क्रान्तिकारी पत्रकार संघमा पनि विश्वकर्माले प्रकाश डुम्रेलाई अध्यक्ष बनाए । पार्टीको महिला र युवासंघमा मात्र उनको पक्षको नेतृत्व छैन ।


विश्वकर्माले आफ्नो कार्यशैलीको विरोध गर्दै आएका पार्टीनिकट केही पत्रकारलाई कारबाहीसमेत गरेका थिए । ती सदस्यका अनुसार केन्द्रीय कमिटीमा ६० प्रतिशत सदस्य प्रकाण्डको पक्षधर छन् । पाँच सदस्यीय स्थायी कमिटीमा हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला चन्द पक्षमा छन् भने सन्तोष बुढामगर विश्वकर्मा पक्षधर हुन् । दाङमा बसेको स्थायी कमिटी बैठकपछि उनलाई सबैले साथ छाडेको ती सदस्यको दाबी छ ।


‘उहाँले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गर्न खोजेपछि समस्या आयो,’ उनले भने, ‘हेमन्तजीलाई मध्यकमान्डको इञ्चार्जको जिम्मेवारी दिएपछि उहाँ झन् आक्रामक देखिनुभयो ।’ १२ सदस्यीय पोलिटब्युरोमा तीन जना विश्वकर्माको पक्षमा छन् ।


'वलीको पक्राउले ठूलो क्षति’

चन्द समूहका एक स्थायी कमिटी सदस्यले मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश वलीको पक्राउले पार्टीलाई ठूलो क्षति भएको बताए । चन्द समूहमा ४ वटा कमान्ड छन् । वलीले मध्यकमान्ड हेर्थे भने अनिल शर्मा पूर्वी कमान्ड र धर्मेन्द्र बास्तोला पश्चिम तथा सुदूरपश्चिम कमान्डका इञ्चार्जर् हुन् ।


करिब ४५ वटा जिल्लामा संगठन रहेको चन्द समूहको दाबी छ । रोल्पा, कैलाली, कालिकोट, चितवन, दाङ, सल्यान, प्यूठान र कपिलवस्तुमा आफ्नो संगठन बलियो रहेको जिकिर गर्छन् । चन्द ‘जनसेना’ का सुप्रिम कमान्डर पनि हुन् । दीपक चलाउने, किरण राई, उमा भुजेल ‘जनरल स्टाफ’ हुन् । चलाउने, राई र भुजेल पूर्वमाओवादी लडाकु हुन् ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?