चन्द समूहसँग वार्ता गर्न पौडेलकाे सुझाव
सिन्धुली — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द समूहलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राम्रोसँग थाहा हुँदाहुँदै पार्टीलाई नै प्रतिबन्ध लगाएर थप हिंसा भड्काउनु लोकतन्त्र माथिको प्रहार भएको बताए ।
सिन्धुलीमाढीमा शनिबार बिहान नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले सर्पको खुट्टा सर्पले नै देख्ने भन्दै चन्द समूहको मुहान खोजेर समस्या हल गर्न सरकार र नेकपालाई सुझाव दिएका छन् ।
समस्यालाई गम्भीर रुपमा नलिदाँ अहिलेको अवस्था आएको भन्दै उनले चन्द समूहसँग अब दमन होइन संवादको थालनी गर्नुपर्ने बताए । 'दमनले नै समस्याले चर्को रुप लियो कि समिक्षा गर्नुहोस्,' उनले भने, 'गाउँमा जनताहरु त्रसित हुन थालेका छन् ।'
अख्तियार र सर्वोच्चको अधिकार आफैं लिएर दुई तिहाई नेतृत्वको सरकार सर्वसत्तावादतिर लागेको पौडेलको आरोप थियो । काण्डैकाण्ड, भ्रष्टचार नै भ्रष्टचार भएकाले नेपाली राजनीतिक इतिहासमै यो सरकार असफल सावित भएको उनको आरोप छ ।
उनले राजाभन्दा कस्युनिष्टसँग लड्न कठिन भएकाले चनाखो रहन नेता कार्यकर्तालाई पौडेलले निर्देशन दिएका छन् । कम्युनिष्टहरुले शव्द फेरेर जनतालाई झुक्याउने उनको भनाइ थियो । 'कहिले जनवाद, कहिले बहुदलीय जनवाद, अनि समाजवाद, फेरि वैज्ञानिक समाजवाद कति झुक्याउन सकेको ?यस्तो कहीँ हुन्छ ?' पौडेलले भने ।
निर्वाचनमा कांग्रेस पराजयको प्रसंग कोट्याउदै उनले हार स्वीकार गर्न कांग्रेस अहिलेसम्म अलमलिएको उनको भनाइ थियो । पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै पौडेलले सोच्न, बोल्न र गर्न नसक्ने नेतृत्व रहुन्जेल पार्टी उभो नलाग्ने तर्क गरे । अब नेताले हैन कार्यकर्ताले नेतृत्वको मुल्यांकन गर्ने बेला आएको पौडेलले जनाए । 'अब कांग्रेसले भाषण मात्र होइन्, ओरल्ली, मोरल्ली र पोल्टीकल्ली भइ जनताको घर दैलोमा जानुपर्छ,' उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुढा र पुरानो नेतृत्वहरुका कारण पार्टी नेतृत्व ठिक ढंगले चल्न नसकेको भन्दै विगतका कमजोरीलाई आत्मसमिक्षा गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनपर्नेमा जोड दिए ।
प्रकाशित : चैत्र ९, २०७५ ०९:२४