१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२३ वर्षपछि पूर्वमन्त्रीको घरफिर्ती

गोरखा — साइत हेरेनन्, तिथिमिति जुराएनन् । २०७५ फागुन २ । संयोग पनि उस्तै–घर छाडेको २३ औं वर्षमा पूर्वमन्त्री हितराज पाण्डे नयाँ घरमा सरे । पालुङटार नगरपालिका ६ उपल्लो कसेरीको पैतृक जग्गामा झन्डै २५ लाख खर्चेर उनले घर ठड्याएका छन् ।

परिवारलाई पुग्ने तरकारी आफैं फलाउँछन् । दूधका लागि गाई पालेका छन् । हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश अध्यक्ष रहेका पाण्डे पार्टी कामको व्यस्तताबाट फुर्सद मिलेसम्म आफ्नै घर आइपुग्छन् । सहरी सुखसयलभन्दा आफ्नै गाउँ प्यारो लाग्ने सुनाउँछन् । उनै पाण्डै शनिबार दिउँसो उपल्लो कसेरीको नवनिर्मित घर सरसफाइ गर्दै गरेको अवस्थामा भेटिए । भने, ‘कुरा गरेर मात्र भएन, हामी लिडर गाउँ नफर्कने हो भने अब समाज बन्दैन ।’

०५२ माघ २८ मा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका पाण्डे सोही वर्ष फागुन २ मा घर छाडेर ‘युद्घ’ मा होमिए । आफू मात्र नभई पत्नी, २ छोरा र १ छोरीलाई पनि भूमिगत रहेको पार्टीको पूर्णकालीन कार्यकर्ता बनाए । द्वन्द्वकै क्रममा उनका जेठा छोरा मिलनले ज्यान गुमाए ।

२०६० मा पत्नी सानु पनि भूमिगत भएपछि घरबार लथालिंग बन्यो । राजनीतिमा होमिनुपूर्व पाण्डेले २० वर्ष शिक्षण पेसामा बिताए । ‘शिक्षक हुँदा कमाएको पैसाले चितवनमा जग्गा किनेको थिएँ । नेता–कार्यकर्ता सर्वहाराकृत हुने प्रयास भयो, पूर्णकालीन भएकाले सम्पत्ति पार्टीकरण हुने भयो अनि चितवनको जग्गा बेचेर २ लाख १३ हजार पार्टीलाई बुझाएँ,’ उनी भन्छन्, ‘यहाँको घरका खाट, दराज, टेबल भएभरका सामान साथीहरूलाई बोलाएर जिल्ला पार्टीमा लगेँ ।’

उपल्लो कसेरीको रित्तो घरमा पाण्डे परिवार बेलाबखत आइराख्थे । उक्त घरलाई २०७२ वैशाख १२ को भूकम्पले भत्कायो । ‘शिक्षकको पेन्सन, सभासद र मन्त्री हुँदा बचेको केही रकम र भूकम्पको सरकारी अनुदानले फेरि घर बनाएको हुँ,’ उनले भने, ‘केही ऋण पनि लागेको छ ।’

उनको नयाँ घर दुईपाखे परम्परागत शैलीको छ । उनले भने, ‘पुरानो नेपाली मोडल र अहिलेको सुविधा मिश्रित गरी बनाएको हुँ ।’ पाण्डे स्वयं काष्ठकलाका विद्यार्थी पनि हुन् । उनकै रुचिअनुसार उक्त घरमा पुरानो घरका काठपात पनि प्रयोग गरिएको छ । शान्ति प्रक्रिया सुरु भएपछि पाण्डे गाउँ नफर्किएका पनि होइनन् तर बस्ने ठाउँको सधैं अभाव थियो ।

काठमाडौंको डेरामा बसेका पाण्डे मन्त्री हुन अघिसम्म पनि टीकाथलीमा आफ्नै परिश्रमले धान खेती गर्थे । तरकारी लगाउँथे ।

प्रकाशित : चैत्र ४, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?