मनाङमा एमबीबीएस डाक्टर

आश गुरुङ

(लमजुङ) — तीन दशकअघि बिदेसिएका एक मनाङीले जन्मथलो सम्झँदै गाउँको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको मेडिकल टोली राख्ने भएका छन् । स्वास्थ्य सहायकको भरमा रहेको नासों गाउँपालिका ५, थोंचे स्वास्थ्य चौकीमा दक्ष जनशक्ति राख्न मनाङबाट बिदेसिएका डा. देवी गुरुङले पहल गरेका हुन् ।

मनाङमा एमबीबीएस डाक्टर

चौकीमा बिहीबार आयोजित एक कार्यक्रममा गुरुङले नेतृत्व गरेको हिमालयन फेमिली हेल्थकेयरले चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मनाङको तल्लो भेग तिल्चेमा जन्मिएका देवी करिब ३३ वर्षअघि संघर्ष गर्दै अमेरिका पुगेका थिए । त्यहाँ पीएचडीसम्मको अध्ययन पूरा गरी जन्मथलोकै स्वास्थ्य अवस्था सुधार्न केही वर्ष अघिदेखि उनी नेपाल आउँदै फर्कंदै गर्न थालेका हुन् ।


सम्झौताअनुसार हिमालयन फेमिलीले उक्त चौकीमा एक एमबीबीएस डाक्टर, वरिष्ठ नर्स, स्वास्थ्य सहायक र औषधिसमेत उपलब्ध गराउनेछ । २ महिना हिउँ पर्ने उक्त क्षेत्रमा बाँकी १० महिनाका लागि ती सेवा उपलब्ध गराउन ३३ लाख रुपैयाँ लाग्नेछ । उक्त रकम देवीको अगुवाइमा उपलब्ध गराउन लागिएको हो । ‘यो असाध्यै ठूलो सहयोग हो । दुर्गमका बासिन्दाको स्वास्थ्यमा समस्या पर्दा निकै राहत हुनेछ,’ स्थानीय अगुवा धोर्जे डन्डुल गुरुङले भने । जन्मथलो फर्किएर देवीले जिल्लावासीलाई ठूलो गुन लगाएको उनले बताए । उनी भन्छन्, ‘पहिले धेरै दु:ख पाएका देवीले आफू सक्षम भएपछि गाउँको स्वास्थ्य सुधार्ने लक्ष्यसाथ काम थालेका छन् । हामी सदैव साथ दिनेछौं ।’ ऊक्त क्षेत्रमा दक्ष चिकित्सकसहितको चौकी हुँदा चत्रीय अन्नपूर्ण र मनास्लु पदयात्रीलाई समेत सहज हुनेछ । यो क्षेत्रमा वार्षिक करिब ३० हजार पर्यटक घुम्न आउने तथ्यांकमा छ । उनीहरू दुर्घटनामा पर्दा वा आकस्मिक रूपमा बिरामी पर्दा हेलिकप्टरबाट लानुको विकल्प थिएन । ‘गाउँमै डाक्टर हुँदा यो समस्या टर्नेछ,’ स्थानीय सोमी गुरुङले खुसी हुँदै भनिन् ।


कार्यक्रममा डा. देवीले टुहुरो हुँदा आफू र परिवारले ठूलो संघर्ष गर्नुपरेको, काठमाडौंमा भाँडा माझेर बसेको र त्यही क्रममा एक ‘गडफादर’ मार्फत अमेरिका पुगेको प्रसंग सुनाएका थिए । गाउँमै अस्पताल बनाउने अभियान सुरु गरेको र त्यसका लागि ७ रोपनी जग्गासमेत यसअघि किनिसकेको उनले जनाए । उनकी पत्नी कोनीले आफ्नो माइती कोरिया र कर्मथलो अमेरिका भए पनि पतिको जन्मथलोमा आएर सेवा गर्न पाउँदा बेग्लै खुसी लागेको सुनाइन् । डा. देवीले चौकीलाई सुविधासम्पन्न बनाउने र पछि अस्पताल बनाउने सोच बनाएका छन् । नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाले अस्पताल बनाउने सोच बनाएको र डा. देवीले पनि बनाउने कुरा सुनेको बताए । ‘डा. देवी मेरो साथी हुनुहुन्छ । उहाँले अस्पताल बनाउने सोच र हाम्रो पनि अस्पताल बनाउने सोच । यसमा कसरी जान सकिन्छ भनेर छलफल गर्न चाहन्छौं,’ उनले भने, ‘यस विषयमा हामी सकारात्मक छौं ।’ देवी दम्पतीले थोंचे र तिल्चेका २ विद्यालयलाई १/१ ल्यापटपसमेत वितरण गरेका छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?