कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुरुष नेतृत्वका स्थानीय तहमा महिला सेवाग्राही थोरै

मेनुका ढुंगाना

(अछाम) — प्रमुख र उपप्रमुख दुवै पुरुष भएका स्थानीय तहमा महिला सेवाग्राही थोरै हुने गरेको पाइएको छ । अछामका १० स्थानीय तहमध्ये बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष छन् । यी गाउँपालिका कार्यालयमा महिला सेवाग्राही थोरै हुने गरेका हुन् । ती गाउँपालिकामा महिलाका क्षेक्रमा विनियोजन हुने बजेटबारे सोधखोज गर्ने महिलासमेत थोरै हुन गरेका छन् । 

पुरुष नेतृत्वका स्थानीय तहमा महिला सेवाग्राही थोरै

‘महिलाका क्षेत्रमा सोचेजस्तो काम गर्न सकिएको छैन । तीज, नारी दिवसका सामान्य कार्यत्रममा महिलाको बजेट खर्च भएको छ,’ बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउदले भने, ‘कार्यपालिका सदस्यमा महिला त छन् । उनीहरू पनि खासै केही बोल्न सकेका छैनन् ।’


सबै पदाधिकारी पुरुष हुँदा महिलालाई आउने वातावरण हुन नसकेको आफूलाई महसुस हुन थालेको उपाध्यक्ष साउद बताउँछन् । ‘न्यायिक समितिमा त झन् महिला आएकै छैनन्,’ मेल्लेख गाउँपालिका कार्यपालिका सदस्य जमुना दमार्इं भन्छिन्, ‘महिला पनि सहज ढंगले नगरपालिकामा आफ्ना कुरा राख्न आउन सकेका छैनन् ।’ उनले आफूले पनि केही बुझ्न नसकेको र बैठकमा जे निर्णय हुन्छ, त्यसैमा हस्ताक्षर गरेर फर्कने बताइन् । उनले भनिन्, ‘उपाध्यक्षमा महिला भइदिए हामीलाई पनि सहज हुने थियो ।’


केन्द्र सरकारले बजेट विनियोजन गर्ने बेला महिलाका लागि अनिवार्य रूपमा १५ प्रतिशत रकम छुट्याइन्थ्यो तर सबै अधिकार र कार्यसम्पादनको जिम्मेवारी स्थानीय तहलाई नै आइसकेपछि आवश्यकताका आधारमा बजेट विनियोजन गरिन थालेयता महिला सवाल ओझेलमा पर्न थालेको स्थानीय अगुवा महिलाको अनुभव छ । सीपमूलक एवम् व्यावसायिक तालिम, महिला सशक्तीकरणलगायत क्षेत्रमा विनियोजन गरिएको रकममध्ये केही स्थानीय तहमा खर्च नै हुन सकेको छैन । कुनैमा बजेट निकै कम विनियोजन गरिएको छ ।


चुनावका बेला महिला क्षेत्रमा लगानी बढाउने वाचा गर्दै नेताले भोट बटुलेका भए पनि चुनाव जितेपछि भने कसैले फर्केर नहेरेको महिलाको गुनासो छ । तरकारी खेती, नगदेबालीको राम्रो उत्पादन क्षेत्र मानिने मेल्लेख गाउँपालिका ५ विन्ध्यवासिनीमा बजार नहुँदा महिला पुरानै तरिकाले खेती गर्न बाध्य छन् । ‘नजिकै ठूलो बजार अथवा तरकारी संकलन केन्द्र भएको भए हामी जति पनि तरकारी र अन्य व्यावसायिक खेती लगाउन सक्छौं,’ मेल्लेख ५ की सगुनदेवी खड्काले भनिन्, ‘हाम्रो आवाज कसैले सुनिदिँदैनन् ।’


पानीको राम्रो सुविधा भएका ठाउँमा काउली, आलु, धनियाँ, टमाटर, सिमी, प्याज, लसुनलगायत राम्रो उत्पादन भए पनि बजार टाढा भएकाले बेच्न नसकिएको खडकाले गुनासो गरिन् । ‘यहाँका धेरैजसो पुरुष भारतमा भएकाले गाउँमा महिला मात्र छौं । गाउँपालिकाले तरकारी संकलन केन्द्र स्थापना गरिदिए सजिलो हुन्थ्यो,’ उनले भनिन् ।


विन्देवासिनीकै आमा समूहकी अध्यक्ष सानु खड्काले हालसम्म वडामा महिलाका क्षेत्रमा कसैले काम नगरेको गुनासो गरिन् । ‘स्वास्थ्य शाखाले कहिलेकाहीं मात्र तालिम दिने गरेको छ । अरू कसैले केही गरेको छैन,’ उनले भनिन्, ‘हाम्रा लागि स्थानीय सरकार गाउँमा आएको महसुस पटक्कै छैन ।’ विन्ध्यवासिनीका महिलाका क्षेक्र विकासका कार्यत्रमको बजेट अन्यत्रै प्रयोग भइरहेको उनको दाबी छ । अब हुने बजेट विनियोजनमा सुरुवातमै सोधखोज गर्न लागिरहेको उनले बताइन् ।


प्रकाशित : चैत्र १, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?