२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रालिमा आउन यातायात समितिलाई अन्तिम मौका

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले तीन महिनाभित्र कम्पनीमा दर्ता हुन यातायात समितिहरूलाई पुनः आहवान गरेको छ । संघ संस्था ऐनअन्तर्गत दर्ता भएका सबै समिति कानुनबमोजिम खारेज भएको जानकारी गराउँदै सरकारले उक्त आहवान गरेको हो ।

प्रालिमा आउन यातायात समितिलाई अन्तिम मौका

कम्पनी ऐनको दफा ९ लाई संशोधन गरेर समितिलाई प्रालिमा दर्ता हुन आह्वान गरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए । ‘यातायात व्यवसायीका लागि मात्र उक्त दफा संशोधन भएको हो, अन्यका लागि होइन,’ उनले भने, ‘संघसंस्था ऐनअन्तर्गत दर्ता भएकालाई एक पटकका लागि सरकारले मौका दिएको हो ।’ तोकिएको म्यादभित्र दर्ता नभए स्वतः खारेज हुने उनले बताए ।


यातायात क्षेत्रमा देखिएको सिन्डिकेट तोडेको घोषणा गरे पनि कानुनी प्रक्रिया नभएको भन्दै पुनः तीन महिनाभित्र कम्पनीमा दर्ता हुन यातायात कम्पनीलाई आहवान गरेको उनले जानकारी दिए । गत वर्ष चैतमा सरकारले यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन निर्देशन दिएको थियो । गत वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले सिन्डिकेट अन्त्य भएको निर्णय गर्दै देखा परेका समस्यालाई ऐन संशोधन गरेर समाधान गर्ने निर्णय गरेको थियो । लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असारभित्र कम्पनीमा दर्ता हुन आहवान गरेको थियो । पछिल्लोपटक फागुनभित्र दर्ता भइसक्न व्यवसायीलाई समय दिइएको थियो ।


कम्पनीमा १ सय १ सेयरहोल्डर हुनुपर्ने प्रावधान हटाउन ढिलाइ भएको भन्दै अब तीन महिनाभित्र प्रालिमा दर्ता हुन म्याद थपेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । ‘ऐनमा देखिएको जटिलतालाई संशोधन गर्दा ढिलाइ भएको हो,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘अब १ सय १ भन्दा बढी सेयरधनी हुन सक्ने प्रावधान राखेका छौं, यातायात क्षेत्रका हकमा असीमित सेयरधनी हुन्छन् ।’ संशोधित ऐन फागुन १९ गते राजपत्रमा समेत प्रकाशित भइसकेको उनले बताए । यातायात व्यवस्था विभागले तत्काल सार्वजनिक सूचना जारी गरी तीन महिनाभित्र कम्पनीमा दर्ता हुन व्यवसायीलाई निर्देशन जारी गर्ने उनले बताए ।


‘कानुनी जटिलताका कारण ढिलाइ भएको हो, अब कडाइसाथ लागू गर्छौं, ऐन संशोधनमा ढिलाइ भए पनि सिन्डिकेट अन्त्य भइसकेको छ,’ उनले भने, ‘अब कम्पनीमा दर्ता नहुने समितिलाई कानुनअनुसार कारबाही गर्छु ।’ व्यवसायीसँग वार्ता गरेर सिन्डिकेट अन्त्य भइसकेकाले अब कुनै जटिलता नभएको उनले बताए । ‘एकलौटी ढंगले चलाउँछौं भन्नु गलत हो, कानुनविपरीत हो, त्यो अब चल्दैन,’ उनले भने, ‘कानुनी राज्यको पालना सबैले गर्नुपर्छ, राम्रो र गुणस्तरीय सेवा दिनेलाई रुट इजाजत दिन्छौं ।’ ऐन संशोधनका नाममा सिन्डिकेटलाई प्रश्रय नदिएको उनले बताए । ३ सयभन्दा बढी कम्पनी विभागमा पन्जीकरण भइसकेको उनले जानकारी दिए ।


राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले तीन महिनाभित्र सबै समिति प्रालिमा दर्ता हुने बताए । ‘अब कानुनी जटिलता हटेको छ,’ उनले भने, ‘सबै समिति प्रालिमा दर्ता हुन्छन् ।’

प्रकाशित : चैत्र १, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?