लगानीमा झमेला झन् थपिँदै संयन्त्र

कृष्ण आचार्य

काठमाडौँ — नाइजेरियाको सिमेन्ट उद्योग डांगोटेले ५ वर्षअघि नेपालमा लगानी गर्ने चाहना राख्यो । ५५ अर्ब रुपैयाँ लगानी स्वीकृत गराउन उसले लगानी बोर्ड सचिवालयमा प्रस्ताव पेस गर्‍यो । ६ महिनापछि २०७० कात्तिकमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको बोर्ड बैठकले उद्योग खोल्ने अनुमति दियो । उद्योग दर्ता कहाँ गराउने भन्ने अर्को अन्योल खडा भयो ।

डांगोटे बोर्ड स्थापनापछिको पहिलो विदेशी लगानीकर्ता थियो । सरकारी निकायहरूबीच ४ महिना शृंखलाबद्ध पत्राचार चलेपछि उसलाई स्पष्ट पारियो, ‘उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्नू ।’

करिब ३ करोड रुपैयाँ राजस्व बुझाएर दर्ता गरिएको डांगोटेले अहिलेसम्म लगानी गर्न पाएको छैन । प्रधानमन्त्रीले अध्यक्षता गरेको संयन्त्रबाट अनुमति पाए पनि खानी विभागले खानी दिएन ।भएकै संयन्त्रबाट प्रभावकारी काम नगरेर विदेशी लगानी आउन नसकेका यस्ता धेरै उदाहरण छन् । सरकार भने फेरि अर्को संयन्त्र थप्दैछ ।

आसन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई केन्द्रित गरी ल्याउन लागिएका विधेयक र विद्यमान व्यवस्थाअनुसार लगानी स्वीकृतिका आधा दर्जनभन्दा बढी निकाय हुनेछन् । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास विधेयकअनुसार विभिन्न सीमा तोकिएका फरक–फरक संयन्त्र हुन्छन् । तिनमा सहसचिवदेखि प्रधानमन्त्रीसम्मको नेतृत्व हुन्छ ।

विधेयकहरूमा उल्लेख भएअनुसार पाँच अर्ब रुपैयाँसम्मको विदेशी लगानीलाई सहसचिवले नेतृत्व गर्ने उद्योग विभागबाट अनुमति लिनुपर्छ ।

पाँच अर्बदेखि ६ अर्ब रुपैयाँसम्म लगानीको अनुमति उद्योगमन्त्रीले अध्यक्षता गर्ने उद्योग तथा लगानी प्रवर्द्धन बोर्डबाट अनुमति लिनुपर्ने हुन्छ । ६ अर्ब रुपैयाँभन्दा माथिको लगानी भए प्रधानमन्त्रीको अध्यक्षता रहने लगानी बोर्डले स्वीकृति दिन्छ ।

कर्पोरेट कानुनका ज्ञाता सज्जनवरसिंह थापा संयन्त्र थप्दैमा लगानी नबढ्ने बताउँछन् । नेपाली संयन्त्रको अहिलेको आचरणअनुसार जति धेरै संयन्त्र बनायो, त्यति धेरै छिद्र हुने उनको बुझाइ छ । ‘अर्को संयन्त्र थप्नु भनेको भएको संयन्त्रलाई विश्वास नगर्नु पनि हो,’ उनले भने, ‘६ अर्ब रुपैयाँसम्मको कारोबारमा मात्र उद्योग विभाग र उद्योगमन्त्रीलाई विश्वास गरियो । बढी रकमका लागि विश्वास नगर्ने हो भने ती सरकारी संयन्त्रमा सरकारले किन लगानी गरिरहने ?’

थापा आफूअनुकूल निर्णय गर्न संयन्त्र र कानुन ल्याउने गरिएको टिप्पणी गर्छन् । ‘नियत सफा हुनुपर्छ, जसले अनुमति दिए पनि हुन्छ,’ उनले भने, ‘संयन्त्र थपेर लगानी आउने होइन ।’

स्वदेशी लगानी अनुमतिका लागि समेत तीनवटा संयन्त्र केन्द्रमा छन् । साना तथा घरेलु उद्योग घरेलु विभागमा दर्ता हुन्छन् । ६ अर्ब रुपैयाँसम्मको लगानीको अनुमति उद्योग विभागले दिने गरी विधेयक ल्याउन लागिएको छ । ६ अर्ब रुपैयाँभन्दा माथिको लगानी भने लगानी बोर्डबाट स्वीकृति गराउनुपर्नेछ ।

‘काम गर्दै जाँदा लगानी थपघट हुन सक्छ,’ लगानी स्वीकृतिबारे जानकार अर्का कानुन व्यवसायी सेमन्त दाहालले भने, ‘थपिँदा वा घट्दा अर्को संयन्त्रमा जानुपर्ने बाध्यता भयो । यसले लगानीकर्तालाई निरुसाहित गर्छ ।’ जुनसुकै सीमाको लगानी भए पनि सरकारको कुनै एउटा निकायमा फाइल पेस गर्ने र त्यससँग सम्बन्धित सबै प्रक्रिया पूरा गरिदिने एकद्वार निकाय चाहिने उनी बताउँछन् । ‘रसियामा उद्योग दर्ता गर्नुपर्दा ३०/३५ सरकारी निकाय अन्तरसम्बन्धित छन्,’ उनले भने, ‘लगानी अनुमति र अन्य सेवासुविधाका लागि एउटा सरकारी निकायमा फाइल पेस गरिपछि सबै काम उसैले गरिदिन्छ ।’

नेपालमा एकद्वार निकायको परिकल्पना २०४९ सालदेखि नै गरिएको हो । मुलुकले उदारीकरण अवलम्बन गरेसँगै ल्याइएका तत्कालीन औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा एकद्वार निकाय व्यवस्था गरिएको छ । तर कार्यान्वयन हुन सकेको छैन ।

अहिले संसद्मा छलफलका क्रममा रहेका लगानीसँग सम्बन्धित सबै विधेयकमा पनि यस्तै प्रकृतिको एकद्वार निकायको व्यवस्था छ । लगानी बोर्डसँग सम्बन्धित आयोजनाका लागि छुट्टै एकद्वार निकाय, उद्योग विभाग तथा मन्त्रालयसँग सम्बन्धित अर्को एकद्वार निकाय परिकल्पना गरिएको छ । एकद्वार संयन्त्रसमेत फरकफरक हुनु यसको अवधारणासँग मेल नखाने जानकारहरूको बुझाइ छ । ‘यो एकद्वार निकायलाई सेवा दिने हिसाबले मात्रै सोचियो,’ दाहालले भने, ‘हरेक हिसाबले एकीकृत गर्ने भनेर सोचिएकै छन् ।’

निजी स्वदेशी लगानीमा मात्रै हैन, सरकारी आयोजनामा समेत यस्तै फरकफरक संयन्त्र परिकल्पना गरिएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’ अनुसार ठूला आयोजना हेर्न प्रधानमन्त्रीको अध्यक्षतामा आयोजना निर्देशक समिति परिकल्पना गरिएको छ ।

उक्त विधेयक र हालको व्यवस्थाअनुसार मन्त्रालयहरू, लगानी बोर्ड र यो निर्देशक समितिबीचमा समेत थप अस्पष्टता छ । हालको व्यवस्थाअनुसार १ मेगावाटसम्मका विद्युत् आयोजनाको अनुमति तथा नियमन स्थानीय तहले हेर्छ । एकदेखि २ सय मेगावाटसम्म आयोजना ऊर्जा मन्त्रालयले हेर्छ । दुई सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनामा भने लगानी बोर्डलाई अधिकार दिइएको छ ।

अर्कोतर्फ ठूला आयोजनाका लागि ल्याइएको विधेयकअनुसार १० अर्बदेखि २५ अर्बसम्मका आयोजनाका लागि प्रधानमन्त्रीले अध्यक्षता गर्ने उच्चस्तरीय आयोजना निर्देशक समितिलाई क्षेत्राधिकार तोकिएको छ । ५० किलोमिटरमाथिको २ लेन सडक, २५ किलोमिटरमाथिको ४ लेन सडक, दुई किलोमिटरको सुरुङ मार्ग, विमानस्थल, एक सय किलोमिटरको रेलमार्ग, पाँच किलोमिटरमाथिको भूमिगत रेलमार्ग, २० हजार हेक्टरभन्दा बढीको सिँचाइ आयोजना, प्रतिदिन १० करोड लिटरभन्दा बढी पानी आपूर्ति गर्ने आयोजना, अत्याधुनिक प्रविधिमा आधारित विकास निर्माण वा पूर्वाधार आयोजना पनि समितिको क्षेत्राधिकारभित्र पर्छ ।

‘यही काम लगानी बोर्डले गरिरहेको थियो । अहिले छुट्टै ऐन किन आवश्यक पर्‍यो, बुझ्न सकिएको छैन,’ कानुन व्यवसायी दाहालले भने, ‘सरकारी निकायको काम गर्न भनेर ल्याइएको हुन सक्छ । तर सार्वजनिक निजी साझेदारी (पीपीपी), निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणाका आयोजना कसरी अघि बढाउने भन्ने विषयमा नयाँ कानुनले झन् अन्योल सिर्जना गरिदिन्छ ।’

'सबैले भूमिकाखोज्दा धेरै संयन्त्र’


महाप्रसाद अधिकारी
प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड

लगानी स्वीकृति र आयोजना हेर्ने धेरै संयन्त्र छन् । फेरि ठूला आयोजनाका लागि भन्दै अर्को संयन्त्र किन बनाउन लागिएको हो ?
यसबारे हामीले स्पष्ट पार्न सकेनौं । लगानी बोर्डले निजी क्षेत्र संलग्न हुने आयोजना मात्रै हेर्छ । लगानी बोर्डमा निजी क्षेत्र र सार्वजनिक निजी साझेदारी (पीपीपी) का आयोजना मात्रै हुन्छन् । बोर्डले मध्यस्थता मात्रै गर्छ । लगानी अनुमति दिन्छ ।

सेवा दिन्छ । जहाँ निजी क्षेत्रको लगानी हुँदैन, त्यहाँ लगानी बोर्डको संलग्नता हुँदैन । सरकारी ठूला आयोजना समयमा सम्पन्न भएका छैनन् । २५ अर्बभन्दा माथि राज्यको लगानी हुने आयोजनाका लागि अर्को विधेयक ल्याउन लागिएको हो । प्रधानमन्त्रीले माथिबाट हेर्ने, त्यसको कार्यान्वयन सम्बन्धित मन्त्रालयले गर्ने हो । समयमै सम्पन्न गराउने उद्देश्यले नयाँ संयन्त्र बनाउन खोजिएको जस्तो लाग्छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा पनि संयन्त्र छ । विदेशी लगानीको सन्दर्भमा यो छाता ऐन हो । यो ऐनले विदेशी लगानीकर्तालाई सुविधा, लगानीको सुनिश्चितता, लाभांश लैजान पाउने र एकद्वार सेवा दिने व्यवस्था गरेको छ । यसले द्वन्द्व ल्याउँदैन, लगानी स्वीकृतिको सीमा परिवर्तन गरेकाले फरकजस्तो देखिएको हो । यो स्पष्ट हुन नसकेको विषय हो ।

अरूले नबुझेको मात्रै हो ?

हो । हामीले बुझाउन नसकेको हो ।

मानौं बूढीगण्डकी जलविद्युत् आयोजनाको विषयमा निर्णय गर्नुपर्‍यो भने कुन संयन्त्रले गर्छ ?
अब कुन संयन्त्रले काम गर्छ भनेर उदाहरण दिन मिल्ने आयोजना हो बूढीगण्डकी । यो आयोजना सुरुमा नेपाल सरकारले बनाउने प्रस्ताव गरी विकास समिति बनाइयो । सरकारले लगानी गर्ने भनेर पेट्रोलमा कर लगाएर रकमसमेत उठाइयो । सरकारले नै लगानी गर्ने भएपछि यो आयोजनाको निर्णय गर्न बोर्डमा आउनुपरेन । सरकारी लगानीमा बनाउने हो भने अब पनि बोर्डमा आउनु पर्दैन । यसमा निजीक्षेत्र संलग्न छैन । सार्वजनिक निजी साझेदारी (पीपीपी) पनि नभएकाले बोर्डको क्षेत्राधिकारमा पर्दैन । बूढीगण्डकी आयोजना विदेशी वा स्वदेशी निजी लगानीबाट बनाउन चाहन्छौं भने लगानी बोर्डको क्षेत्राधिकारभित्र पर्छ ।

यही आयोजना चिनियाँ कम्पनी गेजुवालाई ठेक्का दिने भनिएको छ । यस्तो बेला कुन संयन्त्रले निर्णय गर्छ ?
उसले आफैंले लगानी गर्छ भने बोर्डको क्षेत्राधिकारमा पर्‍यो । सार्वजनिक निजी साझेदारीमा बनाउँछ भने पनि बोर्डको क्षेत्राधिकारमा पर्छ । सरकारी ढुकुटीको रकम खर्चेर ठेक्का दिने हो भने लगानी बोर्डको क्षेत्राधिकारमा आएन । अहिले ठूला आयोजनाका लागि भनेर ल्याउन लागिएको विधेयकको क्षेत्राधिकारभित्र पर्छ ।

६ अर्बभन्दा तलको रकम उद्योग मन्त्रालय र विभाग, त्यसभन्दा माथिको रकमको लगानी बोर्डले हेर्ने गरी कानुन ल्याउन लागिएको छ । लगानीकर्ताले काम सुरु गरिसकेपछि पनि लगानी रकम थपघट गर्न सक्छ । त्यति बेला यता जाने कि उता भन्ने झन्झट हुने भयो नि ?
यता र उता जानु पर्दैन । उसले मानौं, ८ अर्ब रुपैयाँको लगानी ल्याउँछु भन्यो भने लगानी बोर्डमा आउँछ । लगानी स्वीकृति हुन्छ । स्वीकृति भएपछि विस्तारै उसले लगानी ल्याउँछ । मानौं, ५ अर्ब रुपैयाँ मात्रै लगानी भित्रियो भने केही फरक पर्दैन । यसलाई अन्यथा हुँदैन । सार्वजनिक निजी साझेदारी (पीपीपी) मा काम गर्नुपर्दा यसमा समस्या हुन सक्छ । तर सुरुमै आयोजनाको लागत निर्धारण गरी निरन्तर अनुगमन गर्नुपर्छ ।

सुरुमा ४ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने योजना बनाएर उद्योग विभाग गयो । पछि ८ अर्ब रुपैयाँ बनाउनुपर्‍यो भने के गर्ने ?
उसले पुँजी थप गर्दा अनुमति लिनुपर्छ । उसले लगानी बोर्डमै आएर पुँजी बढाउनुपर्छ ।

लगानी बोर्ड, उद्योग विभाग, उद्योग तथा लगानी प्रवर्द्धन बोर्ड एउटा मात्रै संयन्त्र बनाएको भए के बिग्रिन्थ्यो ?
कतिपय मुलुकमा एउटै संयन्त्र छ । नेपालमा सबैले आफ्नो भूमिका खोज्दा यस्तो भएको हो । म बोर्डको प्रमुख कार्यकारी भएरै पनि भन्ने गरेको छु, अन्य सरकारी निकायले राम्रो सेवा दिए भने बोर्ड चाहिँदैन । मुख्य कुरा काम हुनुपर्‍यो ।

बोर्डबाहेकका निकायहरूले किन काम गरेनन् ?
यसमा क्षमता र नियतको कुरा आउँछ । राष्ट्र सेवाको भावनाले काम भएको छैन । सेवा हैन, नियमनको हिसाबले काम भइरहेको छ । निजी क्षेत्रलाई सहयोग गर्ने हो । सहयोग भएन ।

अरू क्षमतावान नभएकाले छुट्टै संयन्त्र बनाइएको बोर्डले अनुमति दिएको नाइजेरियाको डांगोटे सिमेन्ट उद्योगको लगानी भित्र्याउन सक्नुभएन नि ?
हो, यस्तो समस्या देखियो । यसमा राजनीतिक हस्तक्षेप चाहिन्छ । यो व्यावहारिक उदाहरण हो । यस्ता धेरै उदाहरण छन् । यो लगानी नआउनुमा सरकारी निकायको मात्रै दोष छैन । निजी क्षेत्रले नै यो लगानी आउनलाई अवरोध गरेको हो ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

चन्द कार्यकर्तालाई के हुन्छ ?

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी बढाउने र शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति लिएको छ । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि उसका सबै गतिविधि निस्तेज बनाउन प्रहरीले कारबाही अगाडि बढाउने भएको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शान्तिपूर्ण भेला हुन पाउने नागरिकको संवैधानिक हक भए पनि सरकारको नीतिअनुसार चन्द समूहलाई त्यस्तो गतिविधि गर्ने छुट नभएको बताए । ‘आपराधिक क्रियाकलापमा संलग्नले शान्तिपूर्ण भेला हुन पनि पाउँदैनन्,’ उनले भने ।

प्रहरीले चन्द समूहमा आबद्ध हुनेजतिलाई पक्राउ गर्ने र हिंसात्मक तथा आपराधिक गतिविधिमा संलग्न भेटिए फौजदारी अपराधको मुद्दा चलाउने र सामान्य गतिविधि वा भेला मात्रै गरेको भए सार्वजनिक सुरक्षा ऐनअनुसार कारबाही गर्ने नीति अख्तियार गर्ने देखिन्छ । ‘हिजोसम्म चन्द समूहलाई कसरी हेर्ने भन्नेमा अस्पष्टता थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सरकारको निर्देशनले कस्तो कारबाही अगाडि बढाउने भन्ने प्रस्ट भएको छ ।’ ती उच्च अधिकारीले सरकारी निर्णयले प्रस्टता भएको बताए पनि शान्तिपूर्ण भेलालाई कसरी निस्तेज पार्ने भन्नेमा कानुनी प्रस्टताको अभाव देखिन्छ । निर्वाचन आयोगमा दर्ता नभएकाले चन्द समूहलाई दलको हैसियतमा हेर्न मिल्ने कानुनी आधार छैन । ‘त्यही भएर हामीले विप्लव समूह भन्ने गरेका छौं,’ प्रवक्ता सुवेदीले भने ।

प्रवक्ता सुवेदीले राज्यले चन्द समूहमाथि प्रतिबन्ध लागेकाले त्यसको सदस्यता लिनेहरू पनि कारबाहीको दायरामा आउने बताए । ‘समूहको निर्माण आपराधिक फाइदा लिनका लागि भएको देखिन्छ,’ उनले भने, ‘आपराधिक गतिविधिमा संलग्नलाई खोजीखोजी कारबाही गर्छौं ।’ प्रहरीले हिंसात्मक र राजनीतिक गतिविधि समानान्तर अगाडि बढाइरहेकाले कारबाही गर्न अप्ठ्यारो परेको बताइरहेका बेला सरकारले चन्द समूहलाई प्रतिबन्ध गर्ने निर्णय लिएको हो ।

'प्रतिबन्ध समाधान होइन’
प्रहरी अधिकारीहरूले औपचारिक रूपमा चन्द समूहमाथि कडा रूपमा प्रस्तुत हुने बताइरहे पनि प्रहरीका उच्च अधिकारी यसबाट मात्रै समस्या समाधान नहुने बताउँछन् ।

कान्तिपुरसँग सम्पर्कमा आएका केही उच्च अधिकारीले सरकारी निर्णय कार्यान्वयनबाट चन्द समूहलाई पुरै निस्तेज पार्न नसकिने बताए । एक उच्च अधिकारीले भने, ‘मान्छे पक्राउ परे पनि कानुनी जटिलताका कारण कार्यकर्ता छुट्ने सम्भावना हुन्छ । जस्केलोबाट छिरेर गरिएका कानुनी कारबाहीले नतिजा निकाल्दैन ।’ उनले ‘हिट एन्ड रन’ प्रकृतिका घटनालाई पुरै निस्तेज गर्न गाह्रो हुने र उच्च सुरक्षा कारबाही सुरु गर्दा आम जनजीवन प्रभावित हुन सक्ने बताए ।

चन्द समूहका शक्ति र संगठनात्मक संरचनाबारे प्रहरी र सेनाका आआफ्नै अनुमान छन् । प्रादेशिक चुनावताका गुप्तचरी संयन्त्रले गृह मन्त्रालयलाई चन्द समूहमा आठ हजार हाराहारी नेता–कार्यकर्ता रहेको विवरण बुझाएको थियो । उच्च प्रहरी अधिकारीहरूका अनुसार चन्द समूह त्यसयता झनै ठूलो भएको र एमाले–माओवादी एकतापछि असन्तुष्टहरू त्यही समूहमा प्रवेश गरेको र केहीले बाहिरबाट सहानुभूति राखेको देखिन्छ । चन्द समूहले सात प्रदेशमा एक–एक ब्युरो र राजधानीमा उपत्यका ब्युरो बनाएर संगठनात्मक संरचना विस्तार गरेको प्रहरी अधिकारीहरूको बुझाइ छ ।

पछिल्ला एकाध महिनामै चन्द समूहले निजी क्षेत्र र सरकारी कार्यालयहरूबाट करोडौं चन्दा उठाएको प्रहरी अनुमान छ । खासगरी पश्चिम र मध्य पहाडका स्थानीय तहबाट चन्द समूहले ठूलो रकम चन्दा उठाएको देखिन्छ । एक उच्च प्रहरी अधिकारीका अनुसार चन्दा ऐन २०३० को पछिल्लो संशोधनले कसैले जोरजबर्जस्ती चन्दा उठाएको सूचनाका आधारमा मात्रै प्रहरीले कसैविरुद्ध कारबाही गर्न सक्दैन, चन्दा दिन बाध्य व्यक्तिले प्रहरीकहाँ निवेदन दिएपछि मात्रै पक्राउको अधिकार हुन्छ । ‘चन्दा दिने व्यक्तिले प्रहरीकहाँ भयका कारण पनि निवेदन दिन सक्दैन,’ ती अधिकारीले भने ।

चन्द समूहको चन्दा आतंकको तारोमा व्यवसायी, निजी शिक्षा क्षेत्र, बैंक र सहकारी, गैरसरकारी संस्थाहरू परेको रिपोर्ट प्रहरीकहाँ पुगेको छ । मंगलबार मात्रै प्रहरी प्रधान कार्यालयको सचिवालयमा पूर्वी नेपालका धेरैजसो जिल्लामा शाखा विस्तार गरेको एक सहकारीका प्रमुख कार्यकारी अधिकृतलाई चन्द समूहका कार्यकर्ताले चन्दा माग गरेको र नदिए सफाया गरिदिने धम्की दिएको सूचना आएको थियो । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘आर्थिक स्रोत हतियार किन्नमा प्रयोग हुन सक्छ । त्यस्तो भए चन्द समूहको हिंसा झन् सघन हुन सक्छ ।’

प्रतिबन्ध लगाउने निर्णय किन ?
शृंखलाबद्ध विस्फोटका घटना हुनुका साथै नख्खु विस्फोटमा एक जनाको ज्यान गएपछि चन्द समूहविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली कडा रूपमा प्रस्तुत भएका थिए । विखण्डनको नारा अघि सारेर आन्दोलनरत सीके राउतसँगको सम्झौता समारोहमा प्रधानमन्त्री ओलीले चन्द समूहलाई लुटेराको संज्ञा दिएका थिए । त्यही साँझ चन्द समूहले काठमाडौं, बसुन्धरामा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट गराएको थियो । पछिल्लो एक महिनामा मात्रै संघीय राजधानीमा दुई ठूला विस्फोट र दुईवटा विस्फोटन प्रयास भएका थिए ।

राजधानीभित्र र बाहिर शृंखलाबद्ध विस्फोट भएकै बेला प्रहरीले चन्द समूहले लक्षित गरेका व्यवसायी, नेता र उच्च पदस्थ व्यक्तिहरूको सूचना सरकारले पाएको देखिन्छ । स्रोतका अनुसार यस्तो सूचना प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको गुप्तचर विभागले पनि पाएको थियो र उक्त सूचना प्रधानमन्त्रीकहाँ पुर्‍याइएको थियो । स्रोतका अनुसार सूचना पाएलगत्तै प्रहरीले राजधानीमा सुरक्षा सतर्कता बढाएको थियो ।

ललितपुरको नख्खुमा विस्फोट भएकै साता प्रहरीले धरानको पानमारा सडकखण्डमा चन्द समूहका कार्यकर्ता सन्दीप भनिने देवकुमार लिम्बूलाई नेपाली सेनाको मात्रै पहुँचमा रहेको भनिएको एम–१६ हतियारसहित पक्राउ गरेको थियो । सशस्त्र द्वन्द्वकालमा अमेरिकामा निर्मित एम–१६ नेपाली सेनाले किनेको थियो । यो घटनाले पनि चन्द समूहप्रति सेनाको चासो बढाएको थियो ।

फागुन २३ मा प्रहरीले चन्दको गृहजिल्ला कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित कार्यकर्ता दुर्गाबहादुर रोक्कालाई दुई थान एसएमजी, त्यसमा लाग्ने गोली ६८ राउन्ड र एक थान पेस्तोलसहित पक्राउ गरेको थियो । एकपछि अर्को विस्फोटका घटना र आधुनिक हतियार फेला परेपछि प्रधानमन्त्री कार्यालयले चासो बढाएको देखिन्छ ।

आतंक लेखाजोखा
प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांकले चन्द समूहको हिंसात्मक क्रियाकलापको ग्राफ हरेक वर्ष उकालो लागेको देखाउँछ । प्रहरी रकेर्डअनुसार २०७२/७३ यताका तीन वर्षमा प्रहरीले चन्द समूहबाट आठ थान हतियार बरामद गरेको छ । चन्द समूहले एघार विस्फोट गराएको छ ।

आगजनी र तोडफोडका ५२ घटना भएका छन् । २०७४/७५ मा मात्रै प्रहरीले ४३ थान सकेट बम, २ सय १५ वटा गोली र ११ वटा म्याग्जिन बरामद गरेको छ । वैशाखयता मात्रै चन्दका ४ सय ११ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले फागुनमा सबैभन्दा धेरै अर्थात् ७३ जना पक्राउ गरेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्