१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता लेऊ : वैद्य

कान्तिपुर संवाददाता

काठमाडौँ — मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारसित माग गरेको छ । स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव वैद्यले नेकपा विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गरेका छन् ।

विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता लेऊ : वैद्य

'राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गर्दछ' विज्ञप्तिमा छ ।


सरकारको गतिविधिलाई फासिवादी भन्दै क्रान्तिकारी माओवादीले विरोध तथा भर्त्सना गरेको छ । 'आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासीवादी व्यवहार निन्दनीय छ', वैद्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । देशमा लुटपाट मच्चाउने र आपराधिक गतिविधि गरेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


यस्तै, सरकार र सीके राउतबीच प्रधानमन्त्रीको उपस्थितिमा भएको ११ बुादेमा अमूर्त भाषा प्रयोग गरिएको भन्दै सच्याउन माग गरेको छ । सहमतिको दोस्रो बुादामा तराई-मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएको विषयमा सरकारले जनमत संग्रहमा सहमति जनाएको भन्दै आलोचना भइरहेको छ । स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट समेत जनमत संग्रहमा जान सहमत भएको भन्ने अथ्र्याइएको भन्दै क्रान्तिकारी माओवादीले राष्ट्रिय अखण्डता तथा सार्वभौमिकताजस्तो सम्वेदनशील विषयमा सरकारका तर्फबाट गल्ती भएकोमा त्यसलाई अविलम्ब सच्याउन आग्रह गरेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?