कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विप्लवको रणनीतिमा सरकारको प्रहार

के विप्लव प्रचण्ड बन्लान् ?
गृहमन्त्री रामबहादुर थापाले पूर्वसहयोद्धा चन्दका गतिविधिलाई ठूलो चुनौतीका रूपमा लिएका थिएनन् । दुई साताअघि राजधानीमा विस्फोट गराएपछि उनी सतर्क बनेका छन् ।
टिप्पणी
गंगा बीसी

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अवैधानिक बाटोबाट हिंसात्मक गतिविधि गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई ‘प्रचण्ड’ बन्न खोजे पार नलाग्ने प्रतिक्रिया दिए । पोखरामा उनले आफ्नो नक्कल गर्न खोज्दा विप्लव डुब्ने चेतावनी दिए । 

विप्लवको रणनीतिमा सरकारको प्रहार

उनले २०५२ सालमा आफूले युद्ध सुरु गरेजस्तै नक्कल गर्न खोजे प्रतिउत्पादक हुने भन्दै मूलधारमा आउन सुझाव दिए । विप्लवले पूर्व माओवादीको स्थान लिने भन्दै ‘एकीकृत क्रान्ति’ को कुरा गर्ने बताइरहेका बेला दाहालको यो भनाइ आएको हो ।


‘यो पार लाग्ने बाटो होइन, म चन्दहरूलाई राम्रोसँग चिन्छु, मैले नै स्कुलिङ गरेको हुँ’, उनले भने, ‘उहाँले सचिवका रूपमा मसँग लामो समय काम गर्नुभएको छ । उनीहरू पनि वार्ता र संवादमार्फत मूलधारको राजनीतिमा आएर आफ्नो कुरा राख्नु उपयुक्त हुन्छ ।’ दाहालको चेतावनी मिश्रित सुझाव अघि सरकारले विप्लवविरुद्ध कारबाही सुरु गरिसकेको छ ।


सरकारले गतसाता कपिलवस्तुमा ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई गोली हानी कारबाहीको ‘फायर’ खोलेको छ । यसले सरकार चन्दका गतिविधि नियन्त्रण गर्ने अभियानमा लागेको देखाएको छ ।


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष दाहाल चन्दका गतिविधिलाई छुट नदिने निष्कर्षमा पुगेका छन् । दुवै नेताले उनका गतिविधिमाथि ‘प्रशासनिक कारबाही’ गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिइसकेका छन् । त्यही निर्देशनको पहिलो कदम बिहीबार चन्दको गाउँ शिवनगरमा भएको सर्च अप्रेसन हो । सर्च अप्रेसनका क्रममा प्रहरीले भाग्न लागेका कार्यकर्ताको खुट्टामा गोली प्रहार गर्‍यो । उनको बुटवलमा उपचार भइरहेको छ । सर्च अभियान देशभर सञ्चालन हुने गृह मन्त्रालय स्रोतको भनाइ छ ।

गृहमन्त्री थापाले गत साता संसदीय समितिमा चन्दले सत्ता उल्ट्याउन समानान्तर गतिविधि बढाउँदै लगेको बताएका थिए । चन्दले सरकारलाई चुनौती दिन रोल्पालगायतका जिल्लामा जनसत्ता गठन गरेको दाबी गरेका छन् । उनको पार्टी नेकपाका वरिष्ठ नेता हेमन्तप्रकाश ओलीले गत साता अज्ञातस्थलबाट कान्तिपुरसँग टेलिफोनमा जनसत्ता गठन गरी कर उठाएको बताए । ‘यो सत्ताविरुद्ध जनसत्ता गठन गरेका छौँ, यो अभियान चलिरहेको छ,’ उनले भने, ‘स्थानीय सरकारबाट कर उठाइएको छ ।’


अब कुन बाटो ?

सरकारले नेकपा नेता सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली बनाए पनि छलफल बढेन । ‘सरकारले वार्ताका नाममा षड्यन्त्र गर्न थाल्यो, त्यसकारण वार्तामा गएनौं,’ ओलीले भने, ‘सैद्धान्तिक रूपमा हामी वार्ता विरोधी होइनौं ।’


सरकारले भने आफ्नो लचकतालाई बेवास्ता गरेकाले चन्दमाथि कठोर कदम चाल्ने नीति लिएको बताए । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले गणतन्त्रविरुद्ध हुने कुनै पनि संघर्ष गलत हुने बताए । ‘हामीले शान्तिपूर्ण ढंगले वार्ताद्वारा समस्या समाधान गर्न खोजेका छौं, त्यसकारण वार्ताका लागि समिति बन्यो,’ उनले भने, ‘गणतन्त्रविरुद्ध संघर्ष केका लागि ? उहाँ (विप्लव) को यात्रा कतातिर हो ?’


चन्दको पार्टीले २०७३ भदौमा महाधिवेशन गरी ‘एकीकृत क्रान्ति’ गर्ने निर्णय गरेको थियो । त्यो क्रान्ति २०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गरेजस्तो नहुने चन्दले बताएका थिए । वरिष्ठ नेता ओलीले भने, ‘हाम्रो आन्दोलन दलाल पुँजीवादविरुद्ध हो । शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए स्वरूप बदलिन पनि सक्छ ।’


चन्दले पार्टीनिकट अनलाइनलाई हालै दिएको अन्तर्वार्तामा क्रान्तिका लागि सेना बनाएको बताएका छन् । ‘यहाँ त जनमुक्ति सेना बनाउनुपर्नेछ, लड्नुपर्नेछ, ल्याउनुपर्नेछ,’ उनले भनेका छन्, ‘जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौं, लिएर गएका छौं र एकदम सुदृढीकरणतिर जाँदै छ ।’


पूर्वमाओवादीले जस्तो गाउँदेखि सहर घेर्ने रणनीति उनले लिएका छैनन् । उनको रणनीति सहरकेन्द्रित आन्दोलन गर्ने छ । तत्काल सशस्त्र विद्रोह गरिहाल्ने अवस्थामा उक्त पार्टी छैन । सशस्त्र युद्ध गर्दा टिक्न नसक्ने उनीहरूको बुझाइ छ । ‘सशस्त्र विद्रोह गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति छैन, राजनीतिक प्रभाव विस्तारका लागि विद्रोहको नारा लाग्छ,’ चन्दका एक नेताले भने ।


गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीका अनुसार चन्दको राजनीतिक लाइन ‘उग्र र अतिवादी’ हो । ‘चन्द समूह उग्र र अतिवादी धारकै भए पनि एउटा राजनीतिक समूह हो, उनीहरू वार्ताका माध्यमबाट मूलधारको राजनीतिमा आएर देशको सेवामा लागुन् भन्ने चाहना थियो,’ उनले भने, ‘वार्ताको समयलाई यो समूहले आफ्नो शक्ति सुदृढ गर्ने एक सूत्रीय अभियानमा लगायो र अवसर गुमायो ।’


प्रहरीले इटहरी र कपिलवस्तुबाट बरामद गरेका एक थान एम–१६ र दुई थान एसएमजी राइफल तत्कालीन माओवादीले कब्जामा लिएका हतियार हुन् । लडाकु समायोजनप्रति असन्तुष्टि जनाउँदै केही लडाकुले हतियारसहित शिविर छाडेका थिए । पूर्वलडाकु कमान्डरका अनुसार चन्द र प्रवक्ता खड्‌गबहादुर विश्वकर्माले सुरक्षाका लागि राखेका हतियार फिर्ता गरेनन् । उनका अनुसार चन्दको पार्टीसँग करिब पाँच दर्जन अत्याधुनिक हतियार छन् । छुट्टै पार्टी गठन गरेपछि थप हतियार खरिद गरेको हुन सक्ने प्रहरीको आशंका छ ।


गृहमन्त्री थापाले पूर्वसहयोद्धा चन्दका गतिविधिलाई ठूलो चुनौतीका रूपमा लिएका थिएनन् । दुई साताअघि राजधानीमा विस्फोट गराएपछि उनी सतर्क बनेका छन् । ‘गृहमन्त्रीलाई चन्दको शक्तिबारे राम्रो जानकारी छ,’ थापानिकट एक नेताले भने, ‘त्यसकारण वार्ता र संवादमा जोड दिनुभएको हो । तत्काल आक्रामक हुनुभन्दा छलफलबाट निकास निकाल्ने पक्षमा हुनुहुन्थ्यो । अबचाहिँ कठोर कदम चाल्ने मुडमा हुनुहुन्छ ।’


चन्दको पार्टीका गतिविधि विगतमा प्रचारात्मक मात्रै भए पनि पछिल्ला घटनाक्रमले हिंसात्मक मोड लिने संकेत गरेका छन् । बिहीबार कपिलवस्तुको शिवनगरमा प्रहरीको गोली चलेपछि त्यसको बदला लिन थप हिंसा हुने जोखिम रहेको गृहको बुझाइ छ ।


सरकार आक्रामक भइरहेका बेला नेकपा नेत्री पम्फा भुसालले प्राप्त उपलब्धिलाई रक्षा गरी अघि बढ्नुपर्ने बताएकी छन् । ‘विगतको युद्ध, जनआन्दोलन र संविधानसभाका उपलब्धिमा टेकेर समाजवादको बाटोमा अघि जान सकिन्छ,’ उनले भनिन्, ‘गणतन्त्र र नयाँ संविधानका उपलब्धिमा टेकेर बाँकी कार्यभार पूरा गर्न सकिन्छ ।’


चन्दले सशस्त्र युद्ध सुरु गरी आत्मघाती कदम नचाल्ने पूर्वमाओवादीका नेताहरूको बुझाइ छ । उनीहरूका अनुसार चर्को आन्दोलन गरेर कुनै विन्दुमा उनी सत्ता साझेदारीमा सहझागी हुन्छन् ।


क्रान्ति मोह

नेत्रविक्रम चन्दको क्रान्ति मोह विद्यार्थी जीवनदेखिकै हो । उनले पञ्चायत, बहुदल र युद्ध सुरु भएपछि क्रान्ति मोह आत्मसात् गरे । पूर्वमाओवादी २०६४ को निर्वाचनमा ठूलो दल भएपछि सरकारमा सहभागी भयो । त्यसबेला मोहन वैद्य, चन्दलगायत नेताले विद्रोहको नीति लिए । विद्रोहको कसरत भए पनि अन्ततः अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको बलमा विस्तृत शान्ति सम्झौता गरी युद्ध समाप्त भयो ।


पूर्वमाओवादीले क्रान्तिलाई विसर्जन गरेको दाबी गर्दै चन्दको पार्टीले त्यसको ठाउँ लिने प्रयास गरेको देखिन्छ । युद्धमा बेपत्ता, घाइते र मृतकका परिवारलाई पूर्वमाओवादीले भुलेको भन्दै सरकारप्रति वितृष्णा जगाउने अभियान चलाएको छ ।


चन्दले ‘एकीकृत क्रान्ति’ को नाममा युवालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । माओवादी सत्तामा हुँदा पाखा लगाइएका केही नेता–कार्यकर्ता उनको आन्दोलनमा सहभागी भएका छन् । ‘केही व्यक्तिलाई क्रान्तिको नशा लागेको छ, त्यो छाड्न गाह्रो भएको देखिन्छ,’ पूर्वमाओवादी कमान्डरले भने । गत स्थानीय निर्वाचनमा रोल्पाको थबाङलाई आधार क्षेत्र बनाउने चन्दको प्रयासलाई माओवादीले भत्काइदिएको थियो ।


२०७१ मा वैद्यबाट अलग भएका चन्दले २०७३ फागुन १ मा नेकपा नामको पार्टी गठन गरेका थिए । ०२४ फागुन ११ मा रोल्पा इरिबाङमा जन्मिएका चन्द पार्टी सत्तामा रहँदा कुनै पनि लाभको पदमा गएनन् । उनी विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका थिए ।


ठूला आयोजनामा आँखा

चन्दको नेकपाले देशव्यापी चन्दा उठाइरहेको बारे सरकार जानकार छ । एनसेलका विभिन्न टावरमा भएको आक्रमणलाई सरकारले चन्दासँग जोडेर विश्लेषण गरेको छ । नेता हेमन्तफ्रकाश ओलीले सरकारलाई कर नतिरेकाले एनसेलमाथि आक्रमण गरेको दाबी गरे । ‘चन्दा नदिएका कारण आक्रमण गरियो भन्ने कुरा गलत हो,’ उनले भने, ‘सरकारलाई तिर्नुपर्ने कर नतिरेकाले कारबाही गरेका हौं ।’


उनले देशव्यापी स्वैच्छिक चन्दा उठाए पनि जबर्जस्ती नगरेको दाबी गरे । गृह मन्त्रालयले भने उक्त पार्टीले देशव्यापी जबर्जस्ती चन्दा असुलिरहेको जनाएको छ । चन्दको पार्टीले लामो समयदेखि अपर कर्णाली आयोजना अवरुद्ध गर्दै आएको छ । अपर कर्णाली, अरुण ३ लगायतमा आँखा लगाएको छ । चन्दले आफूनिकट इरातोखबर डट कमको अन्तर्वार्तामा विदेश लगानीका आयोजना रोक्ने चेतावनी दिएका छन् ।


‘भारतका लगानीकर्ताले, संस्थाहरूले बुझिराखून्, अपर कर्णाली हामी लागू हुन दिँदैनौं, अरुण ३ पनि बनाउन दिँदैनौं,’ उनले भनेका छन्, ‘कोसी बाँधजस्ता जनतालाई सिधै क्षति पुर्‍याउने, घाटा लाग्ने नेपालको अर्थतन्त्र डामाडोल बनाउने, स्रोतसाधन अस्तव्यस्त बनाउने र कब्जा गर्ने काम हामी हुन दिँदैनौं । त्यो कुरा हामीले जीएमआरलाई भनेका छौं ।’


३८२ कार्यकर्ता पक्राउ

प्रहरीले २०७५ वैशाखदेखि हालसम्म चन्दको पार्टीका ३ सय ८२ जनालाई पक्राउ गरेको छ । केही नेता तथा कार्यकर्ता अदालतको आदेशपछि रिहा भएका छन् । चन्दलाई रोल्पामा टेलिकम टावरमा आक्रमण गरेको आरोपमा मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार फौजदारी मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?