राउतसँगको सहमति शंकास्पद : पौडेल
बुटवल — नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सहमति शंकास्पद रहेका बताएका छन् । सहमतिले राष्ट्रियता र अखण्ड राष्ट्र बचाउने भन्दा पनि खतरामा पार्नेतिर अघि बढेको भन्दै उनले त्यसको विश्लेषण आवश्यक रहेको बताए ।
प्रेस यूनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राउतका राष्ट्रघाती साहित्यलाई रोक नलगाउने र उसका अघिल्ला गतिविधिप्रति वेवास्ता गर्नु विखण्डनलाई मलजल गराउनु रहेको बताए ।
राउतका कार्यकर्ता अहिले पनि विखण्डनका मुद्दासहित विजय जुलुसमा उत्रिएको बताउदै नेता पौडेलले त्यसलाई रोक्न आग्रह गरेे । 'सहमतिका सबै बुँदालाई एक-एक अक्षरमा विश्लेषण गरेर राष्ट्रलाई अखण्ड बनाउन सरकार जुट्नुपर्छ' उनले भने, 'नत्र राष्ट्र पुन विखण्डनकारीको हातमा पुग्छ ।'
मधेशकै जनता राउतसितको सहमतिसँग झस्किएको बताउँदै उनले राउतलाई मूलधारमा ल्याउने भन्दैमा गलत सहमति गर्न नहुने बताए ।
फरक प्रसंगमा नेता पौडेलले वर्तमान सरकारले आफ्नो कर्तव्य र जिम्मेवारी नै बिर्सेको दाबी गरेे । विकास, सुशासन र शान्ति सुरक्षा तीनवटै काममा सरकार असफल भएको बताए । न्यूनतम जिम्मेवारी पूरा नगरेकाले सरकार अहिले नैतिकताको सट्टा कृतिम तरिकाले टिकेको उनको टिप्पणी थियो ।
प्रकाशित : फाल्गुन २८, २०७५ १०:४२