कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विखण्डनको मुद्दा नछाडे राउतलाई फेरि पक्राउ गर्नुपर्छ : अध्यक्ष थापा

दुर्गालाल केसी

दाङ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सीके राउतले विखण्डनको मुद्दा नछोडेको भए तत्काल कारवाही गर्नुपर्ने बताएका छन् । सरकारसँगकाे सम्झौता विपरित राउतले विखण्डनको नारा लगाउन थालेको भए सकारले फेरि पक्राउ गरेर कारवाही थाल्नुपर्ने उनले बताए ।

विखण्डनको मुद्दा नछाडे राउतलाई फेरि पक्राउ गर्नुपर्छ : अध्यक्ष थापा

सरकारसँग भएकोे सम्झौताबारे दुई पक्षका फरकफरक धारणा आउनु दुखद भएको बताउँदै उनले बल प्रयोग गर्नुको साटो सकभर छलफलबाटै समाधानतर्फ लाग्नु बुद्धिमानी हुने बताए ।

'सरकार आक्रोशमा नआइ संयमित तरिकाले समस्या समाधानको बाटो खोज्नुपर्छ,' मेची महाकाली स्वाभिमान यात्राका क्रममा सोमबार दाङ आइपुगेका थापाले घोराही र तुलसीपुरका कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'विगतमा माओवादी द्वन्द्वलाई दमनबाट नियन्त्रण गर्न खोज्दा देशले ठूलो क्षति व्यहोरेको थियो । अहिले त्यसबाट पाठ सिकेर सकभर वार्ता र छलफलबाट सहमतिबारे स्पष्ट पारी दुवै पक्षले कार्यान्वयन गर्नुपर्छ ।'

राउतको समूहले जनकपुरमा गरेको नाराबाजी र प्रदर्शन संविधान बिरोधी र गैरकानूनी काम भएको उनले बताए । यस्ता गतिविधिलाई सरकारले नियन्त्रण गर्नुपर्ने थापाले बताए । 'सरकारकै संरक्षणमा राष्ट्र बिखण्डनको नारा लाग्नु हुँदैन । यदि रावतले विखण्डनको मुद्दा छोडेका छैनन् भने सरकारले फेरि पक्राउ गरेर कारवाही गर्न सक्नुपर्छ,' उनले भने, 'जनकपुरमा लागेको नारा राष्ट्र विरोधी हुन् । यसबाट राउत आफ्नो स्वार्थपूर्तिमा लागेको स्पष्ट हुन्छ ।'

रिपोटर्स क्लबले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले तराई बिखण्डनको नारा बोकेका राउत र सरकारबीच भएको सम्झौता टिक्न नसक्नु राष्ट्रका लागि घातक भएको बताए । सहमति विपरित राष्ट्र टुक्राउने नारासहित प्रदर्शन गर्नुले राउतको गलत मनसाय स्पष्ट पारेको उनले बताए ।

घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दे थापाले राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रलाई सहमतिबाटै पुनस्र्थापित गर्न खोजेको बताए । यी विषयलाई जनमत संग्रहबाट विभाजित गर्न नहुने तर्क गर्दै उनले राजनीतिक दलहरुबीच गोलमेच सम्मेलन गरेर नै पुनर्स्थापित गर्न चाहेको धारणा व्यक्त गरे । 'विगतमा राजतन्त्र र हिन्दु राष्ट्र हटाउँदा जनमत संग्रह भएको थिएन । त्यसकारण अहिले स्थापित गर्दा पनि जनमत संग्रह गर्नु उचित हुँदैन,' उनले भने, 'हामीले छलफलबाटै यी मुद्दा पुनर्स्थापित गर्न चाहेका छौं । यसमा विस्तारै जनताले साथ दिनेमा आशावादी छौं ।'

अहिले राप्रपाले देशभरि नै शान्तिपूर्ण तरिकाले जनता जगाउने काम गरिरहेको थापाले जानकारी दिए । राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन दाङ आइपुगेको बताउँदै उनले यो अभियानपछि पनि सरकारले आवाज नसुने सशक्त आन्दोलन थाल्ने चेतावनी दिए ।

२०६२/०६३ को आन्दोलनपछि राष्ट्रघाती नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरिकता दिएको आरोप लगाउँदै थापाले त्यसबाट सनातन धर्म र संस्कृतिमाथि आक्रमण भएको बताए ।

प्रकाशित : फाल्गुन २७, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?