१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जनमतसंग्रहबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले 'स्वतन्त्र मधेस गठबन्धन' का नेता सीके राउतसँग सरकारले जनमतसंग्रह स्वीकार गरे/नगरेको बारे संघीय संसद्‌मा प्रस्ट जवाफ दिन प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेको छ । 

जनमतसंग्रहबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : कांग्रेस

स्वतन्त्र मधेस राज्यका लागि ६ वर्षदेखि आन्दोलन गर्दै आएका राउत र सरकारबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो । राउत नेपालको सार्वभौम अखण्डतालाई स्वीकार गर्दै राजनीतिको मूलधारमा प्रवेश गरे पनि 'स्वतन्त्र मधेस' का मुद्दामा सरकारले जनमतसंग्रह स्वीकार गरेको भन्ने उनको टिवटले शंका उब्जाएको निष्कर्ष कांग्रेसको छ । ११ बुँदे सहमतिमा भने तराई मधेसमा देखिएका असन्तुष्टिलाई 'जनअभिमतमा आधारित लोकतान्त्रिक विधि' बाट समाधान गर्ने उल्लेख छ ।


'राउत चुनावमा आउने कुरा राम्रो हो तर स्वतन्त्र मधेसका विषयमा आन्तरिक रूपमा भएको सहमति के हो, बाहिर आएकाबाहेक गुप्त सहमति भएको हो/होइन, प्रधानमन्त्रीले संसद्‌मा गम्भीरतासाथ जवाफ दिनुपर्छ,' केन्द्रीय सदस्य प्रकाशशरण महतले भने ।


अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विखण्डनकारी राजनीति गरेका राउत मूलधारको राजनीतिमा प्रवेश गर्नु स्वागतयोग्य भए पनि जनमतसंग्रहको विषय अस्वीकार्य रहेको बताए । 'प्रत्यक्ष-अप्रत्यक्ष रूपमा राष्ट्रिय अखण्डतालाई विभाजित गर्ने गरी जनमतसंग्रह स्वीकार गरिएको हो भने गम्भीर विषय हो, यो कुनै हालतमा हुन सक्दैन,' उनले भने ।

प्रकाशित : फाल्गुन २५, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?