२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रदेश सांसद मल्ल चार घण्टा विप्लव समूहको नियन्त्रणमा  

बसन्तप्रताप सिंह

बझाङ — सुदूरपश्चिमको प्रदेशसभाकी सांसद देवकी मल्ल चार घण्टापछि अपहरणमुक्त भएकी छन् । उनलाई नेकपा (विप्लव समूह) का कार्यकर्ताले शुक्रबार अपहरण गरेर साँझतिर छोडेका हुन् । बुङगल नगरपालिकामा आयोजना भएको नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बिहान ११ बजेतिर ३०/३५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले उनलाई केदारस्युँ गाउँपालिकाको सैन्सुबाट अपहरण गरेका थिए ।

प्रदेश सांसद मल्ल चार घण्टा विप्लव समूहको नियन्त्रणमा  

करिब चार घण्टा नियन्त्रणमा राखेपछि उनलाई सोही गाउँपालिका ५ मा पर्ने बगडी पाउटा भन्ने ठाउँ लगेर छोडिएको प्रहरीले जनाएको छ ।

सांसदको अपहरणको खबर प्राप्त हुनेबित्तिकै बझाङ प्रशासनले उनको खोजीका लागि प्रहरी परिचालन गरेको थियो । 'सांसद सकुशल भेटिनु भएको छ, अपहरण भएको हो कि के हो ? भन्ने विषयमा केही थाहा भएको छैन' डिएसपी प्रविण धितालले भने 'उहाँ सदरमुकाम आइसकेपछि अपहरणको विषयमा थाहा हुने छ 'प्रहरीको टोली र सांसद टेलिफोन सम्पर्क नहुने ठाउँमा रहेका कारण यस विषयमा थप बुझ्न नसकिएको धितालले बताए ।


विप्लव समूहले मल्ललाई आफूहरुले अपहरण गरेर सोधपुछ पछि छोडिदिएको बताएका छन् । मल्लले सांसदको हैसियतमा रहेर पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा प्रभावकारी भूमिका खेल्न नसकेको विषयमा सोधपुछ गर्नको लागि नियन्त्रणमा लिएको र सोधपुछ पछि छोडिदिएको विप्लवका एक जना जिल्लास्तरका नेताले कान्तिपुरलाई बताए ।

उनले केही दिनअघि केदारस्युँ गाउँपालिकाकै देउरामा हुन लागेको विप्लव निकट महिला संगठनको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको, अखिल नेपाल महिला संगठन (क्रान्तीकारी) अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार गरेको जवाफमा मल्ललाई अपहरण गरिएको बताए । उनले भने, 'श्रमजीवी महिलाको नेतालाई हिरासतमा राखेर नारी दिवस मनाइरहेको यो सरकारलाई चुनौती दिन हामीले सांसदलाई नियन्त्रणमा लिएका हौं । तल्काल उनको रिहाई नगरे यो भन्दा कडा कदम चाल्ने छौं'


................

अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका-५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको डीएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ ।


फोन सम्पर्क नभएकोले अपहरणबारे विस्तृतमा जानकारी आइनसकेको डीएसपी धितालले बताए । सांसद मल्ललाई एक्लै भएको अवस्थामा प्रहरीले भेट्टाएको हो ।

नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो ।

यो पनि पढौं : प्रदेश सांसद मल्ललाई अपहरण गरेको विप्लव कार्यकर्ताको स्वीकार, आजै छाडिने

प्रकाशित : फाल्गुन २४, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?