कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सिके राउतले छाडे विखण्डनको राजनीति, सरकारसँग ११ बुँदे सहमति

दुर्गा खनाल

काठमाडौँ — अलग मधेस राज्यको नारा दिएर केही वर्षयता विभिन्न गतिविधि गर्दै आएका सिके राउतले विखण्डनको राजनीति छाडेका छन् । राष्ट्र द्रोहको आरोपमा पक्राउ परेर पाँच महिना जेल बसेर बुधबार रिहा भएका राउतले सरकारसँग बिहीबार ११ बुँदे सहमति गरेका छन् ।

सिके राउतले छाडे विखण्डनको राजनीति, सरकारसँग ११ बुँदे सहमति

सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठवन्धनको तर्फबाट संयोजक राउतले हस्ताक्षर गरेका छन् ।सहमतिको पहिलो बुँदामै 'नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो' भन्ने उल्लेख गरिएको छ ।


त्यसैगरी बुँदा ६ मा स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय नबनाईने र आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण नगरिने उल्लेखछ ।


सहमति पत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री ओली र राउत दवैले सम्बोधन गरेका थिए ।


सहमतिको पूर्णपाठ :


आज २०७५ फागनु २४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको विशेष उपस्थितिमा राष्ट्रिय सभागृह, काठमाण्डौमा आयोजित विशेष समारोहमा नेपाल सरकार र स्वतन्त्र मधेस गठवन्धनका बीचमा देहाय बमोजिमको सहमति भएको छः


१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।


२. हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।


३.लोकतन्त्रमा मतभेदहरु हुन सक्छन् तर तीनिनहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ र त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनु पर्दछ भन्ने मान्यतामा दृढ छौं ।


४. सामाजिक न्याय, समानता र सद्भाव हाम्रो साझा उद्देश्य हो । हामी तराई–मधेस लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई–मधेस लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं । त्यसैगरी संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्न र तराई–मधेस लगायत समग्र देशमा सुशासन कायम गर्दै समानता र समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौं ।


५. स्वतन्त्र मधेस गठवन्धनका नेता तथा कार्यकर्ताहरु माथि लगाईएको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरु फिर्ता लिईनेछ र हिरासत वा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्शत रिहा गरिने छ ।


६. स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।


७. स्वतन्त्र मधेस गठवन्धनका नेता–कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपाल भित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र त्यस्ता कृयाकलाप गरेवापत राज्यद्वारा कुनै प्रकारको कारवाही गरिने छैन ।


८.२०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठवन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तीका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ ।


९. स्वतन्त्र मधेस गठवन्धनको आयोजनामा सञ्चालित आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारको जिम्मा सरकारले लिनेछ ।

१०. स्वतन्त्र मधेस गठवन्धनका नेता तथा कार्यकर्ताहरुमा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराई–मधेस लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवं लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाईका साथ सदुपयोग गर्न र सरकारको तर्फबाट स्वतन्त्र मधेस गठवन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएका छौं ।


११. यो सहमति आजैका मितिबाट लागु हुनेछ ।



..............................

प्रधानमन्त्री ओलीले सिके राउतसँग एउटै मञ्चबाट राष्ट्रिय सभागृहबाट सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले राष्ट्रिय महत्वको कार्यक्रम रहेको र यसका लागि सम्बोधन गर्न प्रधानमन्त्री जान लागेको कान्तिपुरसँग बताए । प्रधानमन्त्रीका सल्लाहकार अर्यालले मिडियालाई प्रत्यक्ष प्रशारणका लागि आह्वान समेत गरेका छन् ।

राउतको विषयमा निर्णय गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ । बैठकले राउतको विषयमा धारणा बनाउनेछ । प्रधानमन्त्रीले गर्ने सम्बोधनको विषय पनि बैठकले तय गर्नेछ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिउँसाे १ बजे हुन गइरहेकाे 'राजनीतिक सहमति घाेषणा कार्यक्रम' काे व्यानर ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

राउतले झण्डै एक दशकदेखि मधेश छुट्टै प्रदेशको अभियान चलाएका थिए । यसका लागि उनले लडाकु दस्ता समेत तयार पार्न थालेका थिए ।

मुलुक नै टुक्राउने अभियान चलाएका कारण उनी पटक-पटक पक्राउ परेका थिए । बिहीबारमात्र अदातलले उनलाई छाड्ने आदेश दिएको थियो ।

प्रकाशित : फाल्गुन २४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?