२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

हिउँमा चिप्लिँदै यात्रा

राजबहादुर शाही, हरि गौतम

मुगु र रुकुम पश्चिम — छायानाथ रारा नगरपालिकाको घट्टलेखका लग्नसिंह सेजुवाललाई जुम्लाको नाग्माबाट घर पुग्न पैदल एक साता लाग्यो । यसअघि नाग्माबाट गाडी चढेर एक दिनमै घर पुग्ने उनी हिमपातका कारण जताततै हिउँ जमेपछि ठूलो कष्ट व्यहोरेर घर पुगे ।

हिउँमा चिप्लिँदै यात्रा

उनीमात्र होइन, कर्णाली राजमार्ग हुँदै मुगु आउने अधिकांश यात्रु डेढ महिनादेखि कष्टकर यात्रा गरिरहेका छन् । चारैतिर हिउँ जमेका कारण बटुवाले हिउँ पन्छाएर बाटो पत्ता लगाउँदै यात्रा गर्नुपर्ने बाध्यता छ । मुगु र जुम्लाको सिमाना घुच्चीलेक, सातमोड, झारनाउलालगायत क्षेत्रमा करिब सात फिट हिउँ जमेपछि बटुवालाई आउजाउमै सास्ती भएको हो । हिउँ पन्छाउन आएको डोजरसमेत हिउँमै डुब्न थालेपछि पटक पटकको प्रयास सफल हुन सकेन ।


अहिले सुर्खेत र नेपालगन्जबाट आउने गाडी जुम्लाको नाग्मामा रोकिन्छन् । नाग्माबाट भारी बोकेर स्थानीय हिँडदै गन्तव्यमा पुग्न बाध्य भएको सोरु गाउँपालिका ४ का धीरेन्द्र मल्लले बताए । ‘हिउँले बाटो पहिल्याउनसमेत मुस्किल छ, हिउँमा चिप्लिने जोखिम पनि उत्तिकै हुन्छ,’ उनले भने, ‘ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने समस्या छ ।’


उनका अनुसार हिउँमा चिप्लिएर धेरै बटुवा घाइते भइसकेका छन् । सडक अवरुद्ध हुँदा घोडा, खच्चर र स्थानीयलाई जुम्ला र मुगु आउजाउमा समस्या भएको छायानाथ रारा नगरपालिका १ का अध्यक्ष परेकराज चौलागार्इंले बताए । जमेको हिउँ नपग्लिँदासम्म डोजरले पनि केही गर्न नसक्ने उनको भनाइ छ । उनका अनुसार ताल्चा, झारनाउला, बुलबुले, घुच्ची, गोठीज्युला, नाग्मा, सिंजालगायत क्षेत्रमा डेढ महिनादेखि सवारी रोकिएका छन् ।


भारी हिमपातले गमगढी–नाग्मा सडक अवरुद्ध भएको मौका छोपेर गमगढी बजारका ग्यास व्यापारीले ग्याससहित उपभोग्य सामग्रीको मूल्य बढाएका छन् । प्रतिसिलिन्डर दुई हजारमा सटही हुने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको स्थानीयले बताए । गमगढीमा यसअघि एक हजार आठ सय प्रतिबोरा पाइने चामलको मूल्य दुई हजारसम्म पुगेको छ । लामो समयसम्म भएको हिमपातका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव चुलिँदै गएको छ । गमगढीका पसलमा चामल पाउन छाडेपछि खाद्य संस्थानमा स्थानीयको भीड लाग्न थालेको छ ।


डोजरसहित सडक खुलाउन सोमबार गएका छायानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीलगायत जनप्रतिनिधि बाक्लो हिउँ देखेर छक्क परे । अत्यधिक हिउँ जमेकाले पन्छाएर सडक खुलाउन अझै समय लाग्ने प्रमुख शाहीले बताए । ‘डोजरलाई हिउँ पन्छाउन पनि समस्या भइरहेको छ,’ उनले भने, ‘हामीले प्रयास जारी राखेका छौं ।’


हिउँले खायो बाली

लगातारको हिमपातले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ६ वडामा लगाइएको गहुँबाली नष्ट भएको छ । वडा नं. १ देखि ६ सम्मको गहुँबाली पछिल्लोपटक भएको हिमपातले पूर्णरूपमा नष्ट बनाएको हो ।


साबिक स्यालाखदी र गोतामकोटमा लगाएको गहुँबाली हिउँले नष्ट बनाएको स्थानीय किसान अमृतबहादुर विष्टले बताए । बाला लागिसकेको गहुँमा लगातार परेको हिउँले हानेपछि त्यसबाट उत्पादन आउने सम्भावना नरहेको विष्टको भनाइ छ । हिउँका कारण गहुँको बीउसमेत नआउने भन्दै किसान चिन्तित बनेको उनी बताउँछन् । उनका अनुसार हिउँले गहुँ बालीसँगै मसुरो, केराउ, चना, मेथी, स्थानीय गोलभेडा पनि पूर्णरूपमा नष्ट गराएको छ । गहुँ, मसला बालीका साथै किसानले फलफूलमा पनि क्षति व्यहोरेका छन् ।


सुन्तला, स्याउ, अनार, अंगुरलगायत फलफूलका बोटमा हिउँले ठूलो क्षति पुर्‍याएको आठबिसकोट नगरपालिका ५, का हर्कबहादुर भण्डारीले बताए । ‘मुख्य खाद्यान्न बाली गहुँका साथै हिउँदे, तरकारी बाली र फलफूल पनि पूर्ण नष्ट भएको छ,’ भण्डारीले भने, ‘हामी अब बारीको कुनै पनि बालीबाट बीउसम्म भित्र्याउन सक्ने अवस्थामा छैनौं ।’ गत वर्ष भिक्र्याइएको बेही मकै बित्री गरिसकेको र केही उपभोग भइसकेकाले यस वर्ष खाद्यान्न अभाव हुने उनको भनाइ छ ।


आठबिसकोट नगरपालिकाले हिमपातका कारण नगरका धेरै ठाउँको बालीमा ठूलो क्षति पुगेको जनाएको छ । नगर प्रमुख गोर्खबहादुर केसीले नगरका धेरै वडाको गहुँबालीमा ठूलो क्षति भएको जनाए । पछिल्लोपटक लगाातार एक सातासम्म परेको हिउँ र असिनाले झन्डै १० हजार किसान प्रभावित भएको भनाइ नगर प्रमुख केसीको छ ।


‘हामी क्षतिको विवरण संकलन गर्ने अन्तिम तयारीमा छौं,’ उनले भने, ‘विवरण संकलनपछि किसानलाई कसरी क्षतिपूर्ति दिने भनेर निर्णय गरिनेछ । बारीको सबै बाली पूर्ण नष्ट हुँदा खाद्यान्न अभावको सम्भावना धेरै छ ।’ उनले यसबारे माथिल्ला सरकारको समेत ध्यानाकर्षण गराइने जनाए ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?