कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

यसरी भएको थियो टीकापुर घटना

टीकापुर घटनालाई फर्केर हेर्दा,
कान्तिपुर संवाददाता

काठमाडौँ — राजनीतिक दलले कैलाली टुक्र्याएर ६ प्रदेशमा सहमति बन्न लागेको खबर २०७२ साल साउन २६ गते बुधबार सामजिक सञ्जालमा छायो । त्यही दिन साँझ अखण्ड सुदूरपश्चिम पक्षधर आक्रोशित भयो । धनगढी, अत्तरिया, टीकापुरलगायत बजारमा साँझ राँके जुलुस प्रदर्शन भएको थियो । २८ गते बिहीबारदेखि अनिश्चितकालीन आमहड्ताल सुरु भयो ।

यसरी भएको थियो टीकापुर घटना

सामाजिक सञ्जालमा जे आए पनि राजनीतिक दलको ६ प्रदेशमा सहमति बन्यो । सुदूरपश्चिम अखण्ड नै भयो, अझ बढी कर्णाली र भेरीका जिल्लासमेत थपिए । यो सहमतिपछि थरुहट पक्ष आन्दोलनमा उत्रेको हो । थरुहटले अनिश्चितकालीन आमहडताल र विरोध जुलुस प्रदर्शन हालसम्म जारी राखेको थियो ।


राजनीतिक दल राज्य पुनर्संरचनाको खाकामा परिमार्जित गर्ने भन्दै छलफलमा जुट्न पुग्यो । ६ प्रदेशको खाकामा अखण्ड बनेको सुदूरपश्चिम कतै गुम्ने त होइन भन्ने शंका अखण्ड पक्षमा पर्‍यो । खबरदारीका लागि अखण्ड पक्षधरले पनि पुन: आन्दोलनको सुरुआत गरे ।


थरुहट पक्षधरले साउन ३२ मा धनगढीमा बृहत् आमसभा गरेको थियो । आमसभालाई सफल पार्न ३२ गते आफ्नो बन्दलाई फिर्ता लिएका थिए तर अखण्ड पक्षधरको चाहिँ बन्द कायमै थियो । बन्दका बाबजुद पनि धनगढीको क्याम्पस रोडमा थरुहट पक्षले विशाल आमसभा गरेका थिए । थरुहट र अखण्ड पक्षधरबीच धनगढीमा झडप भएको थियो । कुनै ठूलो क्षति भने भएको थिएन । ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले धनगढी भिडन्तको अवस्थालाई सुरक्षित अवतरण गरेको थियो ।


शनिबार कैलालीको टीकापुरमा अखण्ड पक्षधरले विजय आमसभा आह्वान गरिएको थियो । त्यसको पूर्वसन्ध्यामा अखण्ड पक्षधरले धनगढी टीकापुरमा सद्भाव मोटरसाइकल र्‍याली निकालेका थिए । उक्त र्‍यालीमाथि थरुहट पक्षधरले दुगौलीको तरियामा आक्रमण गरेका थिए । घटनापछि टीकापुर अशान्त बन्दै गएको हो । उक्त घटनामा दर्जनौं मोटरसाइकल, साइकल जलाइयो । अखण्ड पक्षधर ११ जना घाइते भए । ५ जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भए । मोटरसाइकल र्‍यालीमा भाला लगायतका घरेलु हतियार लिएर थरुहट पक्षधर विरोध प्रदर्शनमा उत्रेका थिए ।


भदौ ७ गते दिउँसोको १ बजेको थियो, त्यतिबेलासम्म प्रहरीले आन्दोलनकारीलाई ४ निषेधाज्ञा तोड्न दिएको थिएन । चार दिनदेखि जारी निषेधाज्ञा जसरी पनि तोड्ने भन्दै आन्दोलनकारीको भीड बढ्दै थियो ।


उनीहरूको हातमा गुलेली, लाठी, भाला, खुकुरी, बन्चरोलगायत घरेलु हतियार थिए ।


स्थानीय प्रशासनले आन्दोलन दबाएको भन्दै आन्दोलनकारीले आक्रोश व्यक्त गरिरहेका थिए । कर्फ्यु र निषेधाज्ञा तोड्न खोज्दा झडप भएको थियो । उक्त क्षेत्रमा प्रशासनले बिहान ११ देखि साँझ ५ बजेसम्मलाई कर्फ्यु लगाएको थियो ।


आन्दोलनकारीको संख्या अत्यधिक थियो । स्थानीयका अनुसार करिब १० हजार थरुहट आन्दोलनकारी निषेधित क्षेत्रमा जम्मा भएका थिए । प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा अनिवार्य सहभागी हुन भनिएकाले प्रौढ र महिलाहरू पनि सहभागी थिए ।


कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिकाको मुख्य बजारबाट करिब दुई किमी टाढाको वडा नम्बर २ स्थित मनुवा गाउँ नजिकै भएको भिडन्तमा प्रदर्शनकारीले प्रहरीलाई घेरबन्दीमा पारे । लगत्तै प्रहरीमाथि अन्धाधुन्ध आक्रमण थाले । घटनास्थल पशुहाट बजार र दुर्गौली बजारको बीच क्षेत्र थियो।


कर्फ्यु र निषेधित क्षेत्र तोड्ने योजनासहित प्रदर्शनकारी मनुवा, दुगौलीलगायत क्षेत्रहरूबाट आएका थिए । उत्तरतर्फबाट आएका प्रदर्शनकारीलाई प्रहरीले शिव मन्दिर नजिकबाटै लखेटेर सुरुमा तितरवितर पारे पनि त्यसको ‘झोंक फेर्न’ आन्दोलनकारी थप आक्रोशित भएर जाइलागेका थिए । निषेधाज्ञा तोकिएको क्षेत्रमा एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वमा प्रहरी फोर्स बसेको थियो । आन्दोलनकारीले घरेलु हतियारसहित हजारौंको संख्यामा टीकापुर प्रवेश गरेर सरकारी कार्यालयमाथि आक्रमण गर्ने योजना बनाएको जानकारी पाएपछि एसएसपी न्यौपानेको टोली घटनास्थलमा खटिएको थियो ।


आन्दोलनकारी अघि बढ्न रोक्न खोजे पनि प्रहरी असफल भयो । एक बजेदेखि सुरु झडप करिब चार बजेसम्म चल्यो। आन्दोलनकारीले टीकापुरमा रहेका सरकारी कार्यालयमा थरुहटको साइनबोर्ड राख्ने कार्यक्रम तय गरेका थिए ।


कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहट/थारूवान प्रदेश माग गर्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीचको यो भिडन्तमा एसएसपीसहित नेपाल प्रहरीका ५ तथा सशस्त्रका दुई प्रहरी र एक बालक गरी ८ जनाको मृत्यु भयो ।


प्रदर्शनकारीले प्रहरी टोलीलाई खुकुरी, भाला र बन्चरोलगायत हतियार प्रहार गरेका थिए । नेपाल प्रहरीका सेती अञ्चल प्रमुख एसएसपी न्यौपाने, निरीक्षक बलराम विष्ट र केशव बोहरा, हवल्दार लक्ष्मण खड्का तथा जवान लोकेन्द्र चन्दको मृत्यु भएको छ । त्यस्तै सशस्त्रका हवल्दार ललित साउद र जवान रामविहारी चौधरीको ज्यान गयो । सशस्त्र प्रहरी हवल्दारकै छोरा २ वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको छ ।


दर्जनौं आन्दोलनकारी घाइते भए भने प्रहरीतर्फका २१ घाइते भएका थिए ।

टीकापुर झडप हिंसात्मक

टिकापुरको झडपमा एसएसपी सहित ७ सुरक्षाकर्मी र १ बालकको मृत्यु



प्रकाशित : फाल्गुन २२, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?