कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तंग्रिँदै टीकापुर

गणेश चौधरी

टीकापुर — टीकापुर घटनाका कारण खल्बलिएको सामाजिक सद्भाव पुरानै अवस्थामा फर्कन नसके पनि तंग्रिँदै गएको छ । ‘हामी इतिहास बदल्न सक्दैनौं,’ टीकापुर नगरका प्रमुख तपेन्द्र रावल भन्छन्, ‘भएका गल्ती सच्याउँदै सद्भावयुक्त बनाउनचाहिँ आवश्यक छ ।’

अहिले टीकापुरमा विकास निर्माणका गतिविधि सुरु भएका छन् । नगरपालिकाको खक्रौला भन्सारलाई मूल भन्सारको मान्यता दिनु, टीकापुर पार्कमा भौतिक पूर्वाधार निर्माण र मर्मत, बसपार्क निर्माणलगायतले तंग्रिँन थालेको उनले संकेत गरे । टीकापुर नगरपालिका ८ का व्यवसायी धनसिंह साउदले भने, ‘यो मूल भन्सार भएपछि आयात–निर्यातमा सहज भएको छ ।’


सहरी विकासका पूर्वाधार मानिने फराकिला बाटा, ठाउँठाउँमा खुला स्थान । व्यवस्थित बसोबास टीकापुर नगरको विशेषता हो । टीकापुरकै बासिन्दा तथा पूर्वउपमेयर लालबहादुर चौधरी भन्छन्, ‘सुरुमा यसको नाम टीकापुर थिएन । सबैले यसलाई टाउन भन्थे । पछि टीकापुर बनाइयो ।’ सरकारले ०२७ मा घनाजंगल रहेको ३३ सय बिघा गुरुयोजनाअनुरूप बिक्री गर्ने अनुमति दिएको थियो । दसैंको टीकाको दिनदेखि जंगल फँडानी थालिएकाले यसको नामै टीकापुर रहन गएको भनाइ छ ।


तत्कालीन गृहमन्त्री खड्गबहादुर सिंहले जंगल फँडानी गरी बजार बनाउने योजनानुरूप टीकापुर विस्तारै बस्ती बनेको हो । बस्ती बढेसँगै व्यापार बढ्यो । अरू जिल्लाका मानिस पनि बसाइँ सरेर आउन थाले । टीकापुर धेरै जात र समुदायको फूलबारी बनेको थियो । मूल भन्सार भएपछि यहाँको राजस्व संकलन पनि व्यवस्थित हुने र चुहावटको स्थिति घट्ने उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाइँ बताउँछन् । ‘टीकापुर सामाजिक, आर्थिक रूपमा डामाडोल थियो,’ उनले भने, ‘यसले आर्थिक रूपमा राम्रो हुन्छ ।’

तत्कालीन राजा महेन्द्रले स्वास्थ्यलाभ गरेको स्थान हो यो । ०२४ तिर सिकार खेल्न आउँदा बिरामी परेपछि चिकित्सकले स्वस्थ वातावरण भएको ठाउँमा आराम गर्न राजालाई सल्लाह दिए । कर्णाली नदीकिनार रहेको यही ठाउँ छानिएपछि टीकापुर पार्क क्षेत्रले स्वस्थकर ठाउँको पहिचान पाएको हो ।


कुनै बेला कडा अनुशासन र गुणस्तरीय शिक्षाका लागि टीकापुरको व्यापक चर्चा थियो । सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाबाट धेरैले आफ्ना बालबालिका पढाउन पठाउँथे । कतिपयले बसाइँ सराइ नै गरे । टीकापुरको पुरानो विद्यालय स्थापनाकर्ता बलबहादुर रावल भन्छन्, ‘हेर्दा दरबारजस्तो लाग्ने अहिलेको जस्तो भवन थिएन । काठका भित्ता र माटोले लिपिएका माटाकै टायलले छाएका थिए । हामी त्यहीँ पढाउँथ्यौं ।’


भौतिक पूर्वाधार केही नभए पनि टीकापुर स्कुलले ख्याति पाउन तत्कालीन गृहमन्त्री सिंह र प्रधानाध्यापक थोमस भर्गिज तथा उनकी पत्नी मेरी भर्गिजको योगदानलाई महत्त्वपूर्ण मानिन्छ । सेवा निवृत्त शिक्षक बलबहादुर भन्छन्, ‘खड्गबहादुरको संरक्षकत्व र भर्गिज दम्पतीको शैक्षिक नेतृत्व, हाम्रो मिहिनेतले टीकापुर आवासीय मावि (हाल वीरेन्द्र विद्यामन्दिर) ले ख्याति कमायो ।’


उनका अनुसार दिवंगत सिंहले विद्यालयलाई आफ्ना सन्तानलाई जत्तिकै माया गर्थे । भर्गिज दम्पती टीकापुर आउनुअघि गोरखामा थिए । उनीहरूकै कारण गोरखाको स्कुलले एसएलसी परीक्षामा प्रथम स्थान ल्यायो । बाबुराम भट्टराई, उपेन्द्र देवकोटालगायतले थोमस भर्गिजकै छहारीमा शिक्षा प्राप्त गरेका थिए । तिनै भर्गिज दम्पतीलाई सिंहले जंगलले घेरिएको टीकापुर ल्याए ।


बजार र विद्यालयको विकाससंँगै यहाँ बाटोघाटोको पनि विकास भयो । कर्णालीकिनार सुन्दर बगैंचा बनाइयो । त्यसलाई टीकापुर बृहत् उद्यान नाम दिइयो । महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम गृह, ऐश्वर्य बाटिका सबैलाई जोडेर टीकापुर बृहत् पार्क बनाइयो । यो स्थानीय र बाह्यका लागि पनि मुख्य आकर्षणको केन्द्र बनेको छ ।


टीकापुर पार्क सँगसँगै यहाँका पथरैया, काढा र मोहना नदीमा वर्षामा हेर्न पाइने डल्फिन, केराको परिकार, कर्णाली नदीमा र्‍याफ्टिङले टीकापुर पर्यटनको केन्द्र बनेको छ । सुन्दर पार्कमा रहेका थरीथरीका बोटबिरुवा र फूल बगैंचाको सुन्दरताले थकित मन र शरीरलाई आनन्दित तुल्याउने पर्यटन व्यवसायी कालु हमाल बताउँछन् । ‘पार्कमा फुलेका फूल र प्राकृतिक परिवेशले पर्यटकको थकान मेटाउँछ,’ उनले भने, ‘बजारको कोलाहलभन्दा टाढाको यो प्राकृतिक रूपमा निकै सुन्दर छ ।’

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?