१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेपालमै उत्पादन हुने औषधि आयातमा रोक लगाउने सरकारको तयारी

भिषा काफ्ले

चितवन — सरकारले नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका औषधिहरूलाई विदेशबाट आयात गर्न रोक लगाउने तयारी गरेको छ । नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका र कुनै पनि अवस्थामा अभाव नहुने औषधिको सुनिश्चितता गरी त्यस्तै प्रकारका औषधि विदेशबाट ल्याउन रोक गर्न लागिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए। औषधि परामर्श परिषद्को बैठक बसी गरिएको सो निर्णय मन्त्रिपरिषद्मा पठाउने तयारी भएको उनको भनाइ छ । 

नेपालमै उत्पादन हुने औषधि आयातमा रोक लगाउने सरकारको तयारी

शुक्रवारबाट चितवनको भरतपुरमा सुरु भएको फर्मा एण्ड हेल्थ एक्स्पोको दोस्रो दिन सम्बोधन गर्न आइपुगेका मन्त्री यादवले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको बताए । 'गुणस्तरीय कायम हुनुपर्छ ।' उनले भने 'स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार सदै तत्पर छ ।' उनले औषधि उद्योगीहरूलाई उत्पादनमा मात्र नभएर कच्चा पदार्थ उत्पादनमा पनि जोड दिन सुझाव दिए ।


स्वास्थ्यमन्त्रीको अध्यक्षतामा एक महिनाअघि बसेको औषधि परामर्श समितिको बैठकले नेपालमा आत्मनिर्भर भएका र शत प्रतिशत गुणस्तरमा सुनिश्चितता भएका औषधिका लागि विदेशबाट कच्चा पदार्थ मात्र आयात गर्न पाउने गरी रोक लगाउने प्रस्ताव पास गरी मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले फाइल तयार गरी मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए ।


सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने गरी गरेको यो निर्णयलाई औषधि उत्पादक सङ्घले स्वागत गरेको छ । सङ्घका अध्यक्ष दीपक दाहालले सरकारले नेपाली उद्योगलाई विश्वास गरेको हुँदा त्यो विश्वासलाई अझ मजबुत बनाउन आफूहरू लागि पर्ने बताए । 'हाम्रा सबै उत्पादन हरू विदेशी औषधि कम्पनीका उत्पादन भन्दा गुणस्तरीय छन्'उनले भने, 'नेपालमा आत्मनिर्भर मात्र हैन विदेशमा पनि खपत गर्ने गरी हाम्रो तयारी हुन्छ ।'


औषधी व्यवस्था विभागले नेपालमै आत्मनिर्भर भएका भनिएका औषधिहरूमा जुकाको औषधि अल्वेण्डाजोल, एन्टिवाइटिकमा एमोक्सासीलिन र एजिथ्रोमाइसिन, झाडापखालाका लागि प्रयोग हुने मेट्र्रनाजोल र पुर्नजलीय झोल, ग्यास्ट्रीक हुँदा प्रयोग हुने ओम्नीप्राजोल, पेन्टाप्राजोल र रेनिटिडीन रहेका छन् । त्यसै गरी भिटामिन, कफसिरफ, इन्जाइमका औषधिहरू आत्मनिर्भर भएको विभागको सिफारिसमा उल्लेख छ ।


ज्वरो, रुघाखोकी, दुखाइ कम गर्ने, छालाको रोग सम्बन्धी औषधिहरू उत्पादनमा नेपालकै कम्पनी आत्मनिर्भर रहेको भन्दै सरकारले ती औषधि उत्पादनका लागि चाहिने कच्चापदार्थ मात्र निर्यातका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।


नेपालमा हाल ५६ वटा उद्योगले तीन सय भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?