दार्चुला जिप दुर्घटना : मृतक ११ जनाकै सनाखत

मनाेज बडु

दार्चुला — शुक्रबार दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु भएका ११ जनाकै सनाखत भएकाे छ । सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाकाे हिकिला गइरहेको म १ ज २८० नम्बरको जिप राति करिब ८ बजेतिर दुहु गाउँपालिका–३ राताकाठाभीरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियाे । 

दार्चुला तिंकर सडक अन्तरगत दुहुँ–३ राताकाठा भीरमा शुक्रबार राति भएको जीप दुर्घटना । जीप दुर्घटनामा परी ११ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र चालक गम्भीर घाइते भएका छन् । जीप उकालो चढ्न नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । तस्बिर : नरेन्द्रसिह कार्की दार्चुला । रासस

मृत्यु हुनेमादुहुँ गाउँपालिका-२ हिकिलाका ४१ वर्षीय कल्यानसिह बडाल, उनकी छोरी १५ वर्षीया निर्मला बडाल, सोही वडाका ३५ वर्षीया परुली धामी रहेका छन्। यस्तै,दुहुँ–२ का २४ वर्षीय धनबहादुर बम, ४५ वर्षीया गोमती बम, ७१ वर्षीया धाना बम, ५३ वर्षीया मानमती भट्ट, दुहुँ–४ का ५५ वर्षीय अमरा बम र सात वर्षीया आयुसा बम, बैतडीको दोगडाकेदार गाउँपलिका-६ सित्तडका ६० वर्षीय प्रताप चन्द र करिब २१ वर्षीया स्नेहा बम रहेकाे प्रहरीले जनाएकाे छ।

घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएकोथियाे। गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि भारतकाे पिथाैरागढ रिफर गरिएको छ।

२०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो। दुहुँ गाउँपालिका–५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो।

तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा बढी जसो यात्रुहरु उत्रिने र सवारी साधन खाली लगेर पछि फेरि बस्ने गर्थे। तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे। प्रशासनले खाली जिप र ट्याक्टरहरुमा गुड्न दिने भनेपनि सवारी धनीहरुले यात्रुहरुलाई बोक्ने गरेकोले ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ।

याे पनि .....

प्रकाशित : फाल्गुन १८, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा मजदुरी गर्दै नेपाली विद्यार्थी

मनाेज बडु

दार्चुला — व्यास गाउँपालिकाका विद्यालयमा हिउँदे बिदा भएपछि स्कुले विद्यार्थी मजदुरी गर्न भारत जान थालेका छन् । पुसको दोस्रो सातादेखि १५ दिनका लागि व्यास क्षेत्रका विद्यालयमा हिउँदे बिदा भएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएका विद्यार्थी बिदाको समयमा मजदुरी गर्न भारत जाने गरेको स्थानीय शिक्षक रमेश भट्टले बताए । ‘दैनिक ज्यालादारीमा काम गर्न विद्यार्थी भारत जान्छन्,’ उनले भने, ‘यस क्षेत्रमा यो चलन पुरानै हो ।’ व्यास गाउँपालिका–५ धौलाकोटका रतनसिंह धामीका छोरा नरसिंह पनि स्कुल बिदा भएको दोसै्र दिन भारत हिंडेका छन् । रतनसिंहले भने, ‘भारतमा मजदुरी गरेरआफ्नो पढाइ र केही घर खर्च जोहो गर्छन् ।’ उनले छोराले मजदुरीबाट ५ हजार भारु कमाएर ल्याउने आशा गरे । ‘दैनिक ५ सय भारुसम्म ज्याला पाउँछन्,’ उनले भने ।

अभिभावककै सहमतिमा व्यास गाउँपालिका–३ सिनाका कक्षा १० मा अध्ययनरत अक्बरसिंह डडाल भारतले महाकाली किनारमा निर्माण गरिरहेको धारचुला–लिपुलेक सडकमा मजदुरी गरिरहेका छन् । अहिले उनी बिहान मजदुरी गर्न भारत जाने र बेलुका घर फर्कन्छन् । उनलाई उक्त सडक निर्माण गरिरहेको ठेकेदारले एक छाक खाना दिएर दैनिक ८ सय रुपैयाँ ज्याला दिएको छ ।

महिना दिनसम्म मजदुरी गरी २०/२२ हजार रुपैयाँ कमाइ हुने भएकाले अभिभावक पनि बिदाका बेला स्कुले विद्यार्थीलाई मजदुरीमा पठाउन उत्साहित हुने गरेका स्थानीय बासिन्दाले बताए । ‘सडक निर्माणका काममा नेपाली युवाहरूले सहजै काम पाउँछन्,’ डडालले भने, ‘शरीरलाई कष्ट हुने काम यो क्षेत्रका भारतीयहरू कमै गर्ने भएकाले सहजै काम पाइन्छ ।’ ज्याला दरसमेत यहाँको भन्दा बढी पाइने भएकाले अन्य सर्वसाधारण पनि मजदुरी गर्न भारत जाने गरेको बताउँछन् । गाउँमा भने मजदुरीको काम नियमित नपाइने र काम पाए पनि समयमै ज्याला नपाउने झन्झटले यहाँका बासिन्दाहरू भारततर्फ मजदुरी गर्न रुचाउँछन् ।

बिदाको समयमा विद्यार्थीलाई व्यस्त बनाउन शिक्षकहरूले धेरै गृहकार्य दिने गरेको भए पनि अभिभावकहरूले पढाइभन्दा आफ्ना बालबालिकालाई काममै लगाउन खोज्छन् । यही कारणले विद्यालयमा सिकेको कुरा बिदामा बिर्सने गरेको शिक्षक भट्टले बताए । पढाइमा ध्यान दिने विद्यार्थीले गृहकार्य गरेकै हुन्छन् । चासो नदिने विद्यार्थीको सिकाइ उपलब्धि भने कमजोर हुने गरेको उनको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७५ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्