कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गोदामचौर बलात्कार : तीन आरोपीलाई १० वर्ष कैद

कृष्ण ज्ञवाली

काठमाडौँ — जिल्ला अदालत ललितपुरले गोदामचौरमा भएको एक सामूहिक बलात्कारका तीन आरोपीलाई दोषी ठहर गर्दै १० वर्षका दरले कैद सजाय सुनाएको छ । न्यायाधीश धनसिंह महराको इजलासले ‘गोदामचौर क’ माथि सामूहिक बलात्कार गरी काल्नामुनि फालेको घटनामा दोषी ठहर गरेको हो । 

गोदामचौर बलात्कार : तीन आरोपीलाई १० वर्ष कैद

आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै ज्यान मार्ने उद्योग र चोरीको घटनामा समेत दोषी ठहर गर्ने फैसला भएको जिल्ला अदालत ललितपुरका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । उनका अनुसार अदालती भाषामा ‘जबर्जस्ती करणी’ भनिने बलात्कारको घटनामा ५ वर्षका दरले कैद फैसला भएकामा सामूहिक बलात्कारमा थप ५ वर्ष सजाय थपी १०–१० वर्षको कैद किटान भएको हो । एक/एक लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।


ज्यान मार्ने उद्योगमा पनि १० वर्षका दरले कैद सजायको फैसला भएको छ । चोरीको आरोपमा ६० दिन कैद तोकिएको छ । पीडितले हराएको ३ हजार रुपैयाँ तीन आरोपीबाट दामासाहीबाट भराउने फैसला भएको छ । ‘सबै आरोप ठहर भई अधिकतम सजाय तोकिएको हो,’ स्रेस्तेदार तिवारीले कान्तिपुरसित भने, ‘एउटै घटनाको फरक अभियोगमा कैद सजाय हुँदा बढी सजायमा साना सजाय खापिने भएकाले हरेकलाई एकमुष्ट १० वर्षका दरले कैद फैसला भएको हो ।’


पीडितको सनाखती कागज र उनको बयानलाई इजलासले मुख्य प्रमाणका रूपमा ग्रहण गरी फैसला सुनाएको स्रेस्तेदार तिवारीले बताए । पीडितले अस्पतालमा होस खुल्नासाथ आरोपितहरूले आफूमाथि कसरी आक्रमण गरे भन्नेबारेमा प्रारम्भिक बयान दिएकी थिइन् भने त्यहीअनुसार आरोपितको सनाखतसमेत गरेकी थिइन् ।


उनले अदालतमै समेत सोही व्यहोरा दोहोर्‍याइन् । स्रेस्तेदार तिवारीले भने, ‘पीडित नै साक्षी भएको अवस्था थियो भने उनले होस खुल्नासाथ गरेको बयानलाई पछि अदालतमा समेत स्थापित गरेकी थिइन् । त्यही आधारमा अदालतले फैसला गरेको हो ।’ फैसलाको पूर्णपाठ आउन भने बाँकी छ ।


दर्दनाक घटना

ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २०७४ मंसिर २ गते साँझ सामूहिक बलात्कार भएको थियो । घटनाको भोलिपल्ट उनलाई घर नजिकैको खोला किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेको थियो । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो । शरीरको तल्लो भागमा कपडा थिएन । दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो ।


घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगिएको थियो । तर, टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेको देखिएकाले उनलाई तत्काल शिक्षण अस्पताल ‘रिफर’ गरिएको थियो । ऊनलाई ७ दिनसम्म आईसीयूमा राखिएको थियो । दाहिने हात टुक्राटुत्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी उनको स्टिल–सपोर्टमा हात जोडिएको थियो भने टाउकामा ३० भन्दा बढी टाँका लगाइएको थियो । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला अधिकार आयोगले पनि अनुसन्धान गरेका थिए ।


पीडित युवतीले दिएको बयानमा आफूलाई मंसिर २ को साँझmमा ३ व्यक्तिले ज्यान मार्ने नियतले आत्रमण गरेको, पैदल हिँडिरहेको सडकबाट तल तोरीबारीमा खसाएर ढुंगाले टाउकोमा हानेको, मोबाइलको टर्च आँखामा बाल्दै रघु, विशाल र पवनको नाम काढेरै एकअर्कालाई बोलाएको बयान दिएकी थिइन् ।


घटनास्थलबाट रगत लत्पतिएको ढुंगा, युवतीको सुरुवाल, रगत लागेको सल, पेन्टी, रौं, हातेझोला, तरकारी ब्याग, मोबाइलसहितका सामग्री प्रहरीले ‘प्रमाण’ का रूपमा उठाएर लगेको थियो । सातदोबाटो महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक सुन्दर चौंलागाईंले घटनाको अनुसन्धान सुरु गरिसकेका थिए ।


उता अस्पतालमा रहेकी पीडित युवती होसमा आएपछि र बोल्न सक्ने भएपछि घटनाको आठौं दिन दिएको किटानी नामका आधारमा ललितपुरकै रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) लाई प्रहरीले पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानपछि पुस २४ गते जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो । दोषी ठहर भएका रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर नजिकका छिमेकीसमेत हुन् । विशालध्वज र पवन अत्यन्त मिल्ने साथी हुन् ।


पीडितले घटनास्थलमा आक्रमण हुनासाथ ‘रघु–रघु’ भनी बोलाइएको र रघु सिलवाल आएको भनी किटानी दरखास्त दिएकी छन् । त्यसपछि भने टर्च बालेर विशाल र पवन भनेरसमेत बोलाइएको भनी विशालध्वज कार्की र पवन कुँवरको नाम किटेकी थिइन् ।

लामो समय अचेत भएका कारण पीडितको भनाइको सत्यतामा समेत प्रश्न उठाई प्रहरीले परीक्षण गरेको थियो । पीडितले बयानका क्रममा आफू सातदोबाटोबाट घर फर्कने क्रममा हिमालयन बैंकको एटीएमबाट तीन हजार रुपैयाँ निकालेको बताएकी थिइन् ।


त्यसक्रममा अनुसन्धान गर्दा उनले बताएकै समयमा उक्त एटीएम मेसिनबाट ३ हजार रुपैयाँ नै निकालेको तथ्य खुल्यो ।

आरोपीतहरूको बयान भने झूटो रहेको तथ्यसमेत प्रहरीले संकलन गरिसकेको थियो । अदालतमा ल्याइएका आरोपितहरूले घटना भएको दिनको बयान सुनाउने क्रममा एकअर्कामा बाझिने कुरा पनि गरेका थिए । तीन जनामध्ये कसैले मंसिर २ मा साँझसम्म पुल खेल्न गएको भनेका छन्, अनुसन्धान क्रममा उक्त दिन पुल हाउस नै बन्द रहेको पुष्टि भएको थियो । मंसिर ३ गते गाउँले युवती बलात्कृत घटनाक्रम थाहा पाएर हतार गर्दै पाटन अस्पतालसम्म कुरा बुझ्न गएको भन्ने बयान पनि शंकास्पद देखिएको थियो ।


अर्कोतर्फ पीडितले बयानमा आरोपितको शरीर र पहिरनको हुलिया बताएकी थिइन् । अनुसन्धानमा पक्राउ परेका ती व्यक्तिसँग उक्त हुलिया मिल्दोजुल्दो थियो । पीडितको भनाइ पूर्वाग्रही हुन सक्ने ठानेर प्रहरीले आरोपितसहित अन्य व्यक्तिलाई समेत उभ्यायो । त्यसक्रममा पीडितले सही व्यक्तिकै पहिचान गरेकी थिइन् ।


स्वास्थ्य परीक्षणले पीडितमाथि बलात्कार भएको तथ्यलाई स्थापित गरेको थियो । गोप्य एवं एकान्त ठाउँमा घटनाको प्रयास हुने र साक्षी अभाव हुने भएकाले बलात्कारका घटनामा पीडितको किटानी जाहेरी महत्त्वपूर्ण प्रमाणित मानिन्छ । त्यसमाथि पीडितको भनाइमाथि प्रहरीले बारम्बार सत्यता परीक्षण गरेर मुद्दा दायर गरेको थियो ।


पाटन अस्पतालको फरेन्सिक विभागले मंसिर ३ गते घाइतेको शरीर परीक्षणमा गरेको अनुसन्धानमा पीडितको शरीरमा अत्यधिक जोडबल (ब्लन्ट फोर्स) को उपयोग भएका कारण विभिन्न ठाउँमा गम्भीर चोटपटक लागेको जनाएको थियो । पछि जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको आदेशमा उनीहरू सामान्य तारिखमा रिहा भएका थिए ।


रिहालगत्तै उनीहरू फरार भएकामा उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गरी पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो । फरार रहेका उनीहरूलाई पछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?