दार्चुलामा जिप दुर्घटना, ११ जनाको मृत्यु

मनोज बडु

दार्चुला — शुक्रबार सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । राति करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म १ ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खस्दा १ नाबालकसहित ११ जनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएकाे छ ।  एक जना गम्भीर घाइते छन् । 

रात परेको र भीरका कारण शव संकलन गर्न अप्ठेरो परेको छ । सडकबाट तल महाकाली नदी किनारमा खसेको जिपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ । प्रहरीले घटनास्थलमा ७ जना महिला, तीन पुरुष र एक नावालकको शव फेला पारेको दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलबाट गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरिएको छ । गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।


२०७४ वैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला-तिंकर सडकको राताकाठा भीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो । दुहु गाउँपालिका ५ गरमोरासम्म यातायात सञ्चालन गर्न र श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साघुरो र भीर क्षेत्र भएकोले कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै उक्त बैठकले यातायात सञ्लनमा रोक लगाएको थियो । तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ भएकाले उक्त क्षेत्रमा बढी जसो यात्रुहरु उत्रिने र सवारी साधन खाली लगेर पछि फेरि बस्ने गर्थे । तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे । प्रशासनले खाली जिप र ट्याक्टरहरुमा गुड्न दिने भनेपनि सवारी धनीहरुले यात्रुहरुलाई बोक्ने गरेकोले ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ ।


...................

शुक्रबार राति ८ बजेतिर खलंगाबाट छुटेको म १ ज २८० नम्बरको जिप भीरबाट महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा आधा दर्जन बढी घाइते छन् ।


जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको स्थानीयवासी हिक्मतबहादुर वमले बताए ।


घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । राति भएकाले उद्धारमा समस्या भएको स्थानीयवासी वमले बताए ।


अहिले उद्धार चलिरहेको छ । उद्धारमा स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । जिप चालक दीपक धामी घाइते छन् । उनीसहित घाइतेहरुलाई अस्पताल पुर्‍याइँदै छ ।





प्रकाशित : फाल्गुन १७, २०७५ २१:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जंगलको केटोलाई पनि कष्टैकष्ट, पोथीसँग बच्चा देखे भालेले आक्रमण गर्छ

रमेशकुमार पौडेल

चितवन — दुर्लभ वन्यजन्तु गैंडाको बच्चा अर्थात् केटो जोगाउन धौधौ हुन थालेको छ । भदौयता दुई सातादेखि दुई वर्षभित्रका सात केटा मृत फेला परेका छन् । भाले गैंडा, बाघ र गोहीका कारण केटो मारिएको हुन सक्ने निकुञ्जका अधिकारीले बताए । चोरीसिकारका कारण गैंडा मार्ने क्रम रोकिए पनि अरू कारण दर उच्च हुँदै गएको छ । बच्चासमेत जोगिन नसक्दा संरक्षणकर्मी चिन्तित छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीसमेत रहेका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार फागुन १४ गते दुई केटा मृत भेटिए । एउटा दुई वर्षको पोथी निकुञ्जको खोरिया मुहान क्षेत्रमा भेटिएको थियो । त्यसलाई अर्को गैंडाले हानेर घाइते बनाएको लक्षण देखिएको घिमिरेले जानकारी दिए ।

त्यही दिन निकुञ्जको पूर्वी क्षेत्र कुमरोज राप्ती तटमा दुई साताको भाले केटो मृत भेटियो । त्यसलाई गोहीले आक्रमण गरेको घिमिरेले बताए । यो वर्षको सुरुमा भदौ १८ गते बीसहजारी तालनजिक लगभग ६ महिनाको बच्चाको सडेको शव फेला परेको थियो । त्यसलाई पनि गैंडाले हानेको हुन सक्ने घिमिरे बताउँछन् । अर्को गैंडाले आक्रमण गर्दा मरेका अन्य बच्चा पनि फेला परेका छन् ।

कात्तिक १४ मा नवलपुर मध्यविन्दु १५ कोे एक मध्यवर्ती सामुदायिक वनमा दुई वर्षको पोथी केटो मृत फेला परेको थियो । त्यसलाई पनि अर्को गैंडाले आक्रमण गरेको घिमिरेले जनाए । कात्तिक १९ गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुलीमा एक महिनाको पोथी बच्चा मृत फेला पर्‍यो, त्यसलाई पनि अर्को गैंडाले हानेको थियो । माघ १४ मा पनि लगभग एक महिनाको पोथी बच्चा भालेले हानेर मरेको अवस्थामा नगरवनमा फेला पर्‍यो ।

त्यसअघि माघ ६ गते बाघको आक्रमणबाट मारिएको गोलाघाटमा एक वर्षको भाले केटो फेला परेको सूचना अधिकारीले जानकारी दिए । यसरी बच्चा गैंडा भालेको आक्रोश वा बाघ र गोहीको सिकारबाट अकालमै मर्न थालेका छन् । गैंडा विश्वमै लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालमा तीन वर्षअघिको गणनाअनुसार ६४५ छन् । चितवन निकुञ्ज र यस आसपासमा ६०५ गैंडा छन् ।

गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि तस्करले मार्ने गर्छन् । कुनै बेला वर्षमा चोरीसिकारका कारण ३८ वटासम्म गैंडा मरेका थिए । ५/६ वर्षयता चोरीसिकार नियन्त्रणमा आएको छ तर जुधेर र अन्य कारणले मर्नेको संख्या ह्वात्तै बढेको छ । चोरीसिकार उत्कर्षमा रहँदा अन्य कारणले ५/१० वटा मात्रै गैंडा मर्थे । तर यो आवको साउनयता ३२ गैंडा मरेका छन् ।

'गैंडा धेरै हुँदै गए । जुधेर मर्ने घटना पनि बढ्न थाले । मरेकाको संख्या बढदा बच्चा पनि धेरै मर्न थालेका हुन्,' सूचना अधिकारी घिमिरेले भने । पोथीसँग बच्चा देखे भालेले आक्रमण गर्ने हुँदा बच्चा खतरामा परेको निकुञ्ज अधिकारीको भनाइ छ ।

प्रकाशित : फाल्गुन १७, २०७५ २१:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×