जंगलको केटोलाई पनि कष्टैकष्ट, पोथीसँग बच्चा देखे भालेले आक्रमण गर्छ

रमेशकुमार पौडेल

चितवन — दुर्लभ वन्यजन्तु गैंडाको बच्चा अर्थात् केटो जोगाउन धौधौ हुन थालेको छ । भदौयता दुई सातादेखि दुई वर्षभित्रका सात केटा मृत फेला परेका छन् । भाले गैंडा, बाघ र गोहीका कारण केटो मारिएको हुन सक्ने निकुञ्जका अधिकारीले बताए । चोरीसिकारका कारण गैंडा मार्ने क्रम रोकिए पनि अरू कारण दर उच्च हुँदै गएको छ । बच्चासमेत जोगिन नसक्दा संरक्षणकर्मी चिन्तित छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीसमेत रहेका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार फागुन १४ गते दुई केटा मृत भेटिए । एउटा दुई वर्षको पोथी निकुञ्जको खोरिया मुहान क्षेत्रमा भेटिएको थियो । त्यसलाई अर्को गैंडाले हानेर घाइते बनाएको लक्षण देखिएको घिमिरेले जानकारी दिए ।

त्यही दिन निकुञ्जको पूर्वी क्षेत्र कुमरोज राप्ती तटमा दुई साताको भाले केटो मृत भेटियो । त्यसलाई गोहीले आक्रमण गरेको घिमिरेले बताए । यो वर्षको सुरुमा भदौ १८ गते बीसहजारी तालनजिक लगभग ६ महिनाको बच्चाको सडेको शव फेला परेको थियो । त्यसलाई पनि गैंडाले हानेको हुन सक्ने घिमिरे बताउँछन् । अर्को गैंडाले आक्रमण गर्दा मरेका अन्य बच्चा पनि फेला परेका छन् ।

कात्तिक १४ मा नवलपुर मध्यविन्दु १५ कोे एक मध्यवर्ती सामुदायिक वनमा दुई वर्षको पोथी केटो मृत फेला परेको थियो । त्यसलाई पनि अर्को गैंडाले आक्रमण गरेको घिमिरेले जनाए । कात्तिक १९ गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुलीमा एक महिनाको पोथी बच्चा मृत फेला पर्‍यो, त्यसलाई पनि अर्को गैंडाले हानेको थियो । माघ १४ मा पनि लगभग एक महिनाको पोथी बच्चा भालेले हानेर मरेको अवस्थामा नगरवनमा फेला पर्‍यो ।

त्यसअघि माघ ६ गते बाघको आक्रमणबाट मारिएको गोलाघाटमा एक वर्षको भाले केटो फेला परेको सूचना अधिकारीले जानकारी दिए । यसरी बच्चा गैंडा भालेको आक्रोश वा बाघ र गोहीको सिकारबाट अकालमै मर्न थालेका छन् । गैंडा विश्वमै लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालमा तीन वर्षअघिको गणनाअनुसार ६४५ छन् । चितवन निकुञ्ज र यस आसपासमा ६०५ गैंडा छन् ।

गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि तस्करले मार्ने गर्छन् । कुनै बेला वर्षमा चोरीसिकारका कारण ३८ वटासम्म गैंडा मरेका थिए । ५/६ वर्षयता चोरीसिकार नियन्त्रणमा आएको छ तर जुधेर र अन्य कारणले मर्नेको संख्या ह्वात्तै बढेको छ । चोरीसिकार उत्कर्षमा रहँदा अन्य कारणले ५/१० वटा मात्रै गैंडा मर्थे । तर यो आवको साउनयता ३२ गैंडा मरेका छन् ।

'गैंडा धेरै हुँदै गए । जुधेर मर्ने घटना पनि बढ्न थाले । मरेकाको संख्या बढदा बच्चा पनि धेरै मर्न थालेका हुन्,' सूचना अधिकारी घिमिरेले भने । पोथीसँग बच्चा देखे भालेले आक्रमण गर्ने हुँदा बच्चा खतरामा परेको निकुञ्ज अधिकारीको भनाइ छ ।

प्रकाशित : फाल्गुन १७, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्

विप्लवलाई हेर्ने सरकारी दृष्टिकोण अस्पष्ट, पक्राउ परेनन् शीर्ष नेता

ललितपुर विस्फोटलगत्तै प्रहरीले खानतलासी र सुराकी परिचालन तीव्र पारे पनि विप्लव समूहलाई हेर्ने सरकारी दृष्टिकोण स्पष्ट नहुँदा शीर्ष नेतालाई पक्राउ गर्न सकेको छैन ।
जनकराज सापकोटा

काठमाडौँ — ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि फागुन १० मा एक जनाको ज्यान जाने गरी गराइएको विस्फोटमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता पुष्टि भइसक्दा पनि प्रहरीले त्यसका शीर्ष नेतालाई पक्राउ गर्न सकेको छैन ।

गृह मन्त्रालयबाटै चासो नदेखाइएपछि प्रहरी विप्लव समूहका नेतालाई पक्राउ गर्न हच्किएको स्रोतले जनाएको छ ।

घटनाको भोलिपल्टै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अस्पताल पुगेर घाइतेलाई भेटेका थिए । त्यहाँ गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने वाचा गरेका थिए । त्यसको पर्सिपल्टै प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले विप्लव समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको थियो । प्रहरीले उनी एक समय विप्लवका अंगरक्षक रहेको र नख्खु विस्फोटमा समेत संलग्न रहेको दाबी गरेको थियो ।

उच्च स्रोतका अनुसार ज्यानै जाने गरी राजधानीभित्रै गरिएको विस्फोटलगत्तै राजनीतिक तहबाट विप्लवमाथि कारबाही केन्दि्रत गर्न निर्देशन आउने अपेक्षा प्रहरी नेतृत्वले गरेको थियो तर त्यस्तो भएन । 'विप्लव समूहलाई कसरी हेर्ने भन्नेमा गृह नेतृत्व अलमलमै देखियो,' स्रोतले भन्यो, 'त्यसैको कारण हुन सक्छ, विप्लव समूहका उच्च नेता प्रहरी टार्गेटमा परेनन् ।'

त्यसो त राजधानीमा विस्फोटको घटनाप्रति नेपाली सेनाले पनि चासो देखाएको थियो । सैनिक उच्च नेतृत्वले उक्त घटनालगत्तै राजधानीको सुरक्षा अवस्था र विप्लव समूहका नेताको गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको थियो । स्रोतका अनुसार घटनालगत्तै विप्लवको गतिविधिबारे सेनाले गृहको उच्च नेतृत्वलाई केही सूचना दिएको थियो । त्यस्तो सूचना गृहबाट प्रहरीको उच्च नेतृत्वमा पनि पुगेको छ । गृहले भने नेकपाको उच्च नेतृत्वलाई कसरी हेर्ने भन्नेबारे स्पष्ट आदेश दिइसकेको छैन । गृहका एक कर्मचारीका अनुसार राजनीतिक शक्तिकै रूपमा अझै केही समय हेर्ने कि तत्कालै एक्सनमा जाने भन्नेमा द्विविधा देखिन्छ ।

स्रोतका अनुसार घटनाको दिन विप्लव कहाँ थिए, त्यसलगत्तै उनी कहाँ-कहाँ पुगे भन्नेबारे केही सूचना गृह मन्त्रालय हुँदै प्रहरीको उच्च निकायमा पुगेको छ । त्यसका आधारमा पक्राउ गरेर उनीहरूलाई बिच्क्याउने पक्षमा गृह देखिँदैन । ललितपुर विस्फोटलगत्तै प्रहरीले खानतलासी र सुराकी परिचालन तीव्र पारेको थियो । कान्तिपुरसँग सम्पर्कमा आएका उच्च प्रहरी अधिकारीका अनुसार आक्रामक कारबाहीभन्दा पनि थप घटना हुन नदिन प्रहरी केन्दि्रत देखिन्छ ।

ललितपुर घटनालगत्तै प्रहरी प्रधान कार्यालयको ठाडो निर्देशनमा उपत्यकाका तीनै जिल्लामा प्रहरीले खानतलासी र सुराकी तीव्र पारेको थियो । विप्लवका जिल्लास्तरीय नेताहरूको गतिविधिमाथि निगरानी बढाउन जिल्ला प्रहरी नेतृत्वलाई निर्देशन पनि दिएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अनुसन्धान अधिकारीका अनुसार विप्लवलगायत उच्च तहका सबै नेताको फोन ललितपुर घटनालगत्तै स्विच अफ छ ।

प्रहरीले विप्लवको उच्च नेतृत्वको बीटीएस र सीडीआर निकाल्ने प्रयास गरे पनि मोबाइल अफ भएका कारण लोकेसन निकाल्न सकेको छैन । स्रोतले भन्यो, 'विप्लवसँग नजिक रहेका केही नेताको फोन लोकेसन सीमापारि भारतीय भूमिमा देखिन्छ तर उनीहरूको कनेक्सनका आधारमा थप केही फेला पार्न सकिएको छैन ।'

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नख्खु विस्फोटमा विप्लव माओवादीको काठमाडौं ब्युरो प्रमुखको संलग्नता प्रस्ट देखिन्छ । त्यसभन्दा माथिको कनेक्सन पत्ता लगाउने प्राविधिक आधार फेला परेको छैन ।

ललितपुर विस्फोटकै साता प्रहरीले धरानको पानमारा सडक खण्डमा विप्लव समूहका कार्यकर्ता सन्दीप भनिने देवकुमार लिम्बूलाई अत्याधुनिक लङ मेसिन गन र सेनाको मात्रै पहुँचमा रहेको भनिएको एम १६ हतियारसहित पक्राउ गरेको थियो । उच्च स्रोतका अनुसार सेनाकै सूचनाका आधारमा प्रहरीले लिम्बूलाई पक्रेको थियो । अमेरिका निर्मित एम १६ हतियार नेपाली सेनाले किनेको थियो । त्यस्तो हतियार कसरी लिम्बूको हातमा पुग्यो र विप्लव समूहसँग हतियारको पहुँच कति छ र के-कस्ता हतियार उनीहरूले लुकाएर राखेका छन् भन्नेमा सेनाको चासो देखिन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बेला पनि विप्लव समूहको हिंसात्मक गतिविधि देखिएको थियो । २०७४ मंसिर १२ गते दाङमा भएको विस्फोटमा म्यादी प्रहरी विनोद चौधरीले ज्यान गुमाएपछि उच्च प्रहरी अधिकारीले विप्लवकै घोषित नीतिका आधारमा विस्फोट भएको रिपोर्ट गृहमा पेस गरेका थिए । चुनाव प्रभावित हुने भन्दै त्यतिबेला पनि गृहले कडा निर्देशन दिएको थिएन । फलतः विप्लवका कार्यकर्ता र जिल्ला तहका नेता पक्राउ परे पनि उच्च नेता समातिएनन् । प्रहरीका एक अधिकारीका अनुसार राजनीतिक नेतृत्व अहिले पनि निर्वाचनअघिकै मुडमा देखिन्छ ।

२०७३ फागुन १ गते राजधानीको खुलामञ्चमा नेकपाले गरेको आमसभामै विप्लवले एकीकृत जनक्रान्ति गर्ने बताउँदै आवश्यक परे राइफल र जीपीएमजी बोक्न तयार हुनुपर्ने उद्घोष गरेका थिए ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी विप्लव समूहलाई हेर्ने सरकारको 'लाइन अफ एक्सन' प्रस्ट नभएको बताउँछन् । उनले भने, 'यस्तो अवस्थामा प्रहरीको पनि लाइन अफ एक्सन प्रस्ट हुँदैन, जसको असर अनुसन्धानमा सोझै पर्छ ।' उनका अनुसार विप्लवलाई हेर्ने सरकारी दृष्टिकोणको अलमलले सुरक्षा निकायलाई हतोत्साही बनाउँछ र आमजनमतलाई पनि विभाजित तुल्याउँछ ।

महानगरीय प्रहरी कार्यालयका डीआईजी शैलेश थापा क्षेत्रीले विस्फोट घटनापछि अनुसन्धान तीव्र पारिएको बताए । उनले प्राप्त प्रमाणका आधारमा संलग्न देखिने जोकोहीलाई पनि नछाडिने बताए । 'विस्फोट घटनाबारे गम्भीर अनुसन्धान जारी छ,' उनले भने, 'अन्य थप प्रमाण खोज्ने र सम्बन्ध केलाउने काम भइरहेको छ ।'

प्रकाशित : फाल्गुन १७, २०७५ २१:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्