१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

हिमपातले हिँड्डुल गर्नै सकस

कर्णाली ब्युरो

सुर्खेत — हिमपात भइरहेपछि कर्णाली जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ जान सास्ती भइरहेको छ । हवाई सेवा अवरुद्ध हुँदा सुर्खेत, नेपालगन्जसँगको सम्बन्धविच्छेदजस्तै छ ।

हिमपातले हिँड्डुल गर्नै सकस

मुगु, डोल्पा र हुम्लामा दशकयताकै भीषण हिमपात भएको स्थानीयले बताए । फागुन लागेपछिमात्र हुम्लामा १० पटक हिमपात भएको हो । देशकै एक प्रमुख पर्यटकीय स्थल रारामा ६ फिट हिउँ छ । गमगढी बजारमा समेत बिहीबारसम्म एक फिट हिउँ छ । ‘हिउँ परेपछि हिँड्डुल गर्नसमेत समस्या भएको छ,’ रुघागाउँका राजबहादुर सेजुवालले भने, ‘हिमाली क्षेत्रका गाउँमा त घरबाट बाहिर निस्किनै सकिन्न ।’


मुगुका मुर्मा, शोभा, मुन्दु, डोल्फु, तल्लोलेख, खमाले, सोरुकोट, पुरुमुरु, नाथर्पुलगायत स्थानमा बाक्लो हिउँ छ । हिउँकै कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज प्रभावित छन् । सोरुकोटका पदम शाहीले हिमपातका कारण दिन काट्न निकै मुस्किल भएको बताए । ‘सुरुमा एक–दुईपटक हिमपात हुँदा त मन प्रफुल्ल भएको थियो,’ उनले भने, ‘हिउँमाथि हिउँ थुप्रिएपछि त अन्नबालीसमेत नासिने हो कि भन्ने चिन्ता थपिएको छ ।’


किसानले खेतबारी खनजोत गर्नसमेत कठिन भएको उनले बताए । हिमपातले घाँस/दाउरा गर्न, पशुचौपाया चराउन सकिएको छैन । विद्यालयसमेत बन्द भएका छन् । फागुन २६ देखि सुरु सामुदायिक विद्यालयको वार्षिक परीक्षाको तयारी गर्न सकस भएको शिक्षकले बताए । एसईईका लागि ट्युसन पढ्न/पढाउनसमेत मुस्किल भएको उनीहरू बताउँछन् ।


ताल्चा विमानस्थलमा ३ फिट हिउँ जम्दा चार दिनदेखि हवाई सेवा अवरुद्ध छ । सुर्खेत–नेपालगन्ज झर्न झोला बोकेर ताल्चा पुगेका यात्रु घरतिर फर्किन बाध्य भए । यसले गर्दा रारा घुम्न आउने पर्यटकसमेत घटेका छन् । ‘जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँ जान सकिँदैन, अनि कसरी आऊन् पर्यटक ?’ स्थानीय लक्ष्मीदेवी रावलले भनिन्, ‘हिउँले यस्तो सास्ती त कहिल्यै दिएको थिएन ।’


अर्कोतिर गमगढी–नाग्म सडक एक महिनादेखि ठप्प छ । मुगु र जुम्ला सिमानामा पर्ने सडकमा ७ फिटसम्म हिउँ छ । सवारी नचल्ला यात्रु पैदल हिँड्न बाध्य छन् । सडक यातायात बन्द हुँदा सदरमुकाम गमगढीमा दैनिक उपभोग्य वस्तुको अभाव चर्किन थालेको छ । नेपाल खाद्य संस्थानको दुई ट्रक चामल बाटोमै अलपत्र परेको संस्थानले जनायो ।


हुम्लाको सदरमुकाममा पनि तीन फिट हिउँ जमेको छ । मानिस घरबाट बाहिर निस्किन सकिरहेका छैनन् । उत्तरी क्षेत्रका बस्तीमा हिमपातले झन् बिजोग बनाएको स्थानीयले बताए । थुरथुर काम्दै परीक्षामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले बिहीबार सुरु गरेको तीनवर्षे डिप्लोमा सिभिल इन्जिनियरिङको परीक्षामा विद्यार्थीले थुरथुर काँप्दै परीक्षा दिइरहेका छन् । परीक्षा बिहान ७ बजेदेखि सुरु हुने भएकाले उनीहरूलाई झन् सास्ती भएको हो ।


पहिलोपटक खुलेको सिभिल इन्जिनियरिङमा प्रथम वर्षको प्रथम खण्डमा २७ विद्यार्थी छन् । उनीहरूका लागि केन्द्र दुनैस्थित डोल्पो क्याम्पसमा तोकिएको छ । ‘बाहिर हिउँले ढाकिएको छ, चिसोको कुरै नगरौं,’ शिक्षक भूपेन्द्र रानाले भने, ‘यस्तो अवस्थामा विद्यार्थीले कसरी लेखिरहेका होलान् ।’ चिसोका कारण परीक्षामा लेख्न कठिन भएको विद्यार्थीले गुनासो गरेको उनले बताए ।


भौतिक संरचनामा क्षति

बाक्लो हिमपातले डोल्पामा भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ । छतमा जमेको हिउँले दुनैमा रहेको एक पुलहाउसको छत भासिएको छ । रहस्थित शुभकामना आधारभूत विद्यालयको कम्प्युटर कोठा भत्किँदा लाखौंको क्षति भएको छ ।


हिमपहिरोका कारण दुनैस्थित जैरीगाड जलविद्युत् आयोजनाको नहर भत्किँदा विद्युत् अवरुद्ध भएको छ । ‘बत्ती भइदिएको भए कम्तीमा हिटरले कोठा त तातो गर्थ्यो,’ लोचाका देवी रोकायाले भने, ‘न घाम लाग्छ, न घर उज्यालो र तातो पार्ने बिजुली छ ।’ घाम नलाग्दा सौर्य ऊर्जाले समेत काम नगरेको उनले बताए ।


हिमपातले डोल्पाको हवाई सेवा दुई दिनदेखि बन्द भएको छ । दुनै–सुनपानी, दुनै–जुफाल, त्रिपुराकोट–खदाङ, खदाङ–त्रिवेणी सडक खण्डमा सञ्चालित जिप सेवासमेत ठप्प छ । सरुवा भएर बाहिर जान लागेका डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जुफाल विमानस्थलमै अलपत्र परेको बताए । जुफालको हिम चिसोमा उनीसँगै अन्य यात्रुसमेत कठ्याँग्रिएर बसिरहेका छन् ।


स्थानीयका अनुसार दुनैमा ०६१ पछि यति बाक्लो हिउँ परेको हो । दुनैवासी नारायण अधिकारीले डोल्पाको सबैभन्दा होचो स्थान त्रिवेणीमा समेत आधा फिट हिउँ जमेको बताए ।


भर्ना अभियान ठप्प

हुम्लामा फागुनदेखि सुरु विद्यालय भर्ना अभियान ठप्प छ । बीचमा केही दिन घाम लाग्दा विद्यालय खुले पनि पुनः हिमपात हुँदा विद्यालय शिक्षा प्रभावित भएको रामदेव माविका शिक्षक ललित सिंहले बताए ।


‘चिसोले घरबाट बाहिर निस्किनै मुस्किल छ, कसरी स्कुल खोलेर पढाउनु ?’ उनले भने, ‘यस्तै हो भने त एसईईका परीक्षार्थी झन् ठूलो मारमा पर्ने भए ।’ जिल्लाको आन्तरिक तथा बाह्य सम्बन्धसमेत विच्छेद भएको छ । गाउँ र सदरमुकाम सिमकोटमा मानिसको आवतजावत रोकिएको छ ।


राजबहादुर शाही (मुगु), विष्णुलाल बुढा (डोल्पा र जयबहादुर रोकाया (हुम्ला)

प्रकाशित : फाल्गुन १७, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?