कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विद्यालय जाँदा छातीमा बाआमाको तस्बिर

कान्तिपुर संवाददाता

दाङ — घोराहीकी एलिसा रोका छातीमा बाआमाको तस्बिर अंकित लकेट लगाएरमात्रै विद्यालय जान्छिन् । १० कक्षा अध्ययनरत उनलाई गलामा झुन्डिरहने लकेटले सधैं कर्तव्यबोध गराइरहन्छ । उनी बाआमाप्रतिको आदर, सम्मान र कर्तव्य बिर्सन सक्दिनन् । ‘तस्बिरले बाआमासँगै भएको महसुस गराउँछ,’ उनले भनिन्, ‘माया, ममता र जिम्मेवारीबोध हुन्छ । पढाइमा उत्साह ल्याउँछ ।’

१० कक्षा अध्ययनरत घोराहीकै आर्यन मियाँ पनि छातीमा बाआमाको तस्बिर टाँगेरै जान्छन् । उक्त लकेटबिना उनी दिन बिताउन सक्दैनन् । ‘यसले बाआमाले हामीप्रति गरेको योगदानको सम्झना गराउँछ,’ उनले भने, ‘पढ्दै गर्दा बाआमाप्रतिको हाम्रो कर्तव्य पनि स्मरण हुन्छ ।’ ४ कक्षा पढ्ने साया गुरुङ र ५ कक्षाकी स्तुति पोख्रेल पनि बाआमाको तस्बिर हेर्दै विद्यालय जान्छन् । दिनभर त्यही तस्बिरसँगै पढ्छन् र घर फर्कन्छन् ।


आधुनिकताका नाममा बालबालिकामा संस्कार, संस्कृति र कर्तव्य हराउँदै गएको भन्दै घोराहीस्थित विद्यानीलकण्ठ माविले संस्कारयुक्त शिक्षा पद्धतिको सुरुवात गरेपछि उनीहरू यसरी विद्यालय जान थालेका हुन् । विद्यालयले सबै विद्यार्थीलाई बाआमाको तस्बिर अंकित लकेट अनिवार्य गरेको छ । अंग्रेजी माध्यममा पढाइ हुँदै आएको विद्यालयमा अहिले गुड मर्निङको सट्टा नमस्कार, हाजिर गर्दा एस सर, एस म्याडमको सट्टा नेपाल आमाको जय भनिन्छ ।


‘विद्यार्थीमा मातृभाषा, मातृभूमि र बुवाआमाप्रति प्रेम जागृत गर्दै कर्तव्यबोध गराउन यस्तो शिक्षण पद्धति थालिएको हो,’ प्राचार्य शरदकुमार शर्माले भने, ‘यसले मानवीय कर्तव्य सिकाइरहेको छ । आफ्नो सभ्यता र संस्कृति सम्झाइरहेको छ ।’ बाआमाको तस्बिर छातीमा टाँगेर हिँड्दा विद्यार्थीमा बाआमाप्रतिको आदरभाव बढ्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले बताए । ‘यसले बुढेसकालमा वृद्धाश्रममा पुग्नबाट बचाउने अपेक्षा छ । बाआमाले सन्तानमाथि गरिरहेको लगानी र मिहिनेतको स्मरण गराइरहेको छ,’ उनले भने ।


विद्यार्थीमा दुर्व्यसन, समूहगत लडाइँ, झगडा जस्ता विकृति बढिरहेकाले यस्तो संस्कार उपयोगी हुने घोराहीस्थित पद्मोदय पब्लिक माविका प्राचार्य डा. कृष्णराज डीसीले बताए । ‘संस्कार सिक्ने ठाउँ विद्यालय नै हो । सबभन्दा पहिले संस्कार सिकाउने शिक्षकहरूको आचरण ठीक हुनुपर्छ,’ उनले भने, ‘कतिपय शिक्षकहरूको गलत व्यवहारका कारण विद्यार्थी गलत बाटोमा लागेका छन् । गुरु आफैं नमुना हुन सक्नुपर्छ ।’


यस्तो संस्कार विस्तारै सबै विद्यालयमा लागू गर्दै जान आवश्यक रहेको उनले बताए । हरेक संस्कार सानैबाट सिक्नुपर्ने भएकाले शिक्षकले आफू उदाहरण बनेर बालबालिकालाई संस्कार सिकाउनुपर्ने स्कुल अफ ट्रेनिङकी सञ्चालक प्रतीक्षा गौतमले बताइन् । ‘पहिले शिक्षक आफू नै परिवर्तन हुन तयार हुनुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि अरूलाई परिवर्तन गर्न सजिलो हुन्छ । संस्कारबिनाको शिक्षाको काम छैन ।’

प्रकाशित : फाल्गुन १६, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?