एसियाली गैंडा जोगाउन हातेमालो

अब्दुल्लाह मियाँ

काठमाडौँ — एसियामा पाइने गैंडाको संरक्षण र सहयोग आदानप्रदानका लागि राजनीतिक प्रतिबद्धता जनाउन मन्त्रीस्तरीय बैठक मंगलबारदेखि भारतको नयाँदिल्लीमा सुरु भएको छ ।

एसियाली गैंडा जोगाउन हातेमालो

भारतको वातावरण, वन र जलवायु परिवर्तन मन्क्रालय, आईईयूसीएन र एसियाली गैंडा विज्ञ समूहले संयुत्त रूपमा आयोजना गरेको तीनदिने बैठकमा नेपालसहित भुटान, भारत, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, विशेषज्ञ र संरक्षणमा सहयोगी दातृ निकाय सहभागी छन् ।


एसियामा एकसिंगे, जाभा र सुमात्रान गरी तीन प्रजातिका गैंडा पाइन्छन् । एसियाली गैंडाको संख्या ३६०० देखि ३७०० को हाराहारीमा छ । नेपालसहित सबैजसो देशमा एकसिंगे गैंडा पर्यटकका मुख्य आकर्षण हुन् । नेपालको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले गरेका छन् ।


पर्यवेक्षकका रूपमा अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, इटली, स्पेन, अस्ट्रेलिया, दक्षिण अफ्रिका र सिंगापुरलाई समेत आमन्त्रण गरिएको छ । बैठकमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का गैंडाविज्ञ नरेश सुवेदीका अनुसार बैठकमा गैंडा संरक्षणमा हासिल गरेका उपलब्धि, समस्या र संरक्षणका खाकाबारे छलफल हुनेछ ।


‘यो बैठकको मुख्य उद्देश्य एसियाली गैंडा पाइने देशबीच सहयोग आदानप्रदानका साथै राजनीतिक प्रतिबद्धता जनाउँदै अघि बढ्न आवश्यक रणनीति तय गर्नु हो,’ सुवेदीले कान्तिपुरसित भने ।


एसियाली गैंडा संरक्षणबारेको यो बैठक दोस्रो हो । यसभन्दा ६ वर्षअघि इन्डोनेसियामा पहिलो बैठक भएको थियो ।


गैंडा पाइने देशबीच एकता र सहयोग आदानप्रदान भयो भने चोरी सिकारी, अवैध व्यापार नियन्त्रणका साथै बासस्थान विनाश, आहार व्यवस्थापनमा काम गर्न बल पुग्ने विज्ञ सुवेदीको तर्क छ । विगतको जत्तिकै एसियाली गैंडाको संख्या पुर्‍याउन राजनीतिक प्रतिबद्धता अपरिहार्य भएकाले गैंडा पाइने ५ वटै देशका वन तथा वातावरणमन्त्रीलाई बैठकमा सहभागी गराउने प्रयास गरिएको आयोजकले जनाएका छन् ।


गैंडाको बासस्थान, आहार, अनुसन्धान र स्थानान्तरणलगायतमा दातृ निकायको समेत सहयोग आवश्यक पर्ने भएकाले गैंडा संरक्षणमा सहयोगी नागरिक समाज र संस्थालाई समेत बैठकमा सहभागी गराइएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?