पाठकमाथि छानबिन सुरु भइसकेको छ : प्रमुख आयुक्त
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले ७८ लाख रुपैयाँ घूस लिएको प्रकरणमा अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकमाथि अनुसन्धान भइरहेको संघीय संसद्लाई जानकारी गराएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार बसेको बैठकमा घिमिरेले पाठकमाथि अख्तियारले सुरु गरेको अनुसन्धान केही दिनभित्रै निष्कर्षमा पुग्ने बताए ।
उनले पाठकको घूसकाण्डले अख्तियारमाथि गम्भीर प्रश्न उठेको र आफूहरू त्यसमाथि चिन्तित रहेको बताए । 'पाठकको घूस प्रकरणमाथि अनुसन्धान गर्न सहसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन कार्यदलले अनुसन्धान सुरु गरिसकेको छ । भ्रष्टाचारमा कसैले पनि उन्मुक्ति पाउँदैन,' उनले भने ।
घिमिरेले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अनियमितताको अनुसन्धान गर्न अख्तियारद्वारा गठित तीन सदस्यीय छानबिन कार्यदलले काम गरिरहेको जानकारीसमेत गराए । उनले वाइडबडी खरिद प्रकरणमा संलग्न पदाधिकारीसँग कार्यदलले बयान लिनेक्रम सुरु गरिसकेको बताए ।
प्रकाशित : फाल्गुन १२, २०७५ २०:१९