८१ वर्षीया वृद्धा बलात्कृत

घनश्याम खड्का

म्याग्दी — रघुगंगा गाउँपालिकाकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजे आफ्नै घरमा सुतिरहेकी उनलाई स्थानीय ३३ वर्षीय गोरे दर्जीले बलत्कार गरेको प्रहरीले बताएको छ । वृद्धाले कान पनि नसुन्ने र बोल्न पनि नसक्ने स्थानीयले जानकारी दिए ।

पीडित वृद्धाका आफन्तहरुकाअनुसार राति उनीमात्रै सुतेको घरभित्रबाट अस्वभाविक आवाज सुनिएपछि छेवैको घरमा बस्ने नातिनीले हेर्दा बलत्कार गर्न लागेको देखी छिमेकीलाई खबर गरेकी थिइन् । बलत्कारपछि दर्जी भाग्नलाग्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरी चौकीलाई खबर गरेका थिए ।

आरोपी दर्जीलाई शुक्रबार राति नै घरबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । अशक्त वृद्धालाई आफन्तले बोकेर स्वास्थ्य परिक्षणका लागी जिल्ला अस्पताल र निवोदनका लागी जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

‘अपाङ्ग वृद्धाको बलत्कारमा संलग्न आरोपी पक्राउ परेका छन्,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकबहादुर गुरुङ्गले भने, ‘पीडितको स्वास्थ्य परिक्षण रिपोर्ट आएको छैन । घटनाको अनुसन्धान सुरु भएको छ ।’

प्रकाशित : फाल्गुन १२, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

कसरी हटाउने सानाका तनाव ?

डा. सुमनराज ताम्राकार

काठमाडौँ — बालबालिकालाई वयस्कको जस्तो घरायसी मामिलामा, घर बाहिर, कार्यालयको चिन्ता हुन्न  । खेतीपाती, व्यवसाय वा कमाउने चिन्ता पनि हुन्न  ।

एक किसिमले बालबालिकामा खासै चिन्ता वा तनाव नहुनु पर्ने हो तर वास्तविकता त्यस्तो हुँदैन । उनीहरूमा पनि उत्तिकै चिन्ता र तनाव हुन्छ । बालबालिकाको तनाव वा चिन्ता कम गर्न अभिभावकले विशेष ध्यान पुर्‍याउनुपर्छ । माध्यमिक तह र त्यसभन्दा माथिका बालबालिकाले भने आफैंले पनि आफ्नो आनीबानी र दैनिकी सुधारेर तनाव कम गर्न सक्छन् ।

बालबालिकामा डर, चिन्ता वा तनाव छ भने त्यसको कारणबाट भाग्न होइन, सामना गर्न सिकाउनुपर्छ । तनावको कारण लुकाउँदैमा तनाव घट्दैन । भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा बाहेक जतिसुकै प्रतिकूल समस्या आइलागे पनि ज्यानै जाने हुँदैन । मानौं कि, परीक्षामा कुनै पनि प्रश्नको हल गर्न सकिएन । यसले ज्यानै जाने होइन । कुनै पनि व्यक्ति आफैंमा पूर्ण हुँदैन । सबैमा केही न केही कमी कमजोरी हुन्छन् नै । यो कुरा बालबालिकालाई बुझाउनुपर्छ । साइकल चढ्ने नै त लड्छ । लड्छ भनेर प्रयास नै नगर्ने भन्ने होइन । विश्वमा नाम चलेका व्यक्तिहरूको जीवन कति प्रतिकूल अवस्थाबाट गुज्रेको हामी पढ्न सक्छौं । असफल हुनु नराम्रो होइन तर मिहिनेत भने गर्ने पर्छ । मिहिनेत गर्दागर्दै पनि असफल भइयो भने त्यसलाई पनि स्विकार्नै पर्छ । अभिभावक आफैंमा पनि आफ्ना बालबालिकाका गल्ती स्विकार्ने बानी हुनु पर्दछ । अभिभावकले आफू त्यस्तै सानो भएको भए के गरिन्थ्यो त भनेर सोच्नु आवश्यक हुन्छ ।


बालबालिकाको लागि तिनीहरूका अभिभावक रोल मोडल हुन्छन् । त्यसै पनि तिनीहरूको लागि घर नै पहिलो विद्यालय हो । अभिभावक सुरुवाती शिक्षक पनि । छोराछोरीले आफ्ना अभिभावकको नक्कल गर्ने हुनाले अभिभावकले आफ्ना बालबालिकाबाट गर्न नचाहेका बानी आफूहरूले पनि गर्नु हुँदैन । बालबालिकाले जंकफुड नखाऊन्, मोबाइल धेरै नखेलाऊन्, झूटो नबोलून्, नचिच्याऊन् भन्ने चाहने अभिभावकले आफू पनि त्यस्तै बन्नुपर्छ । कोठामा पुस्तक तथा सरसामान ठाउँमा राख्ने र सरसफाइमा ध्यान दिने कुरा पनि बालबालिकाले अभिभावकबाटै सिक्छन् । आफू टीभी कोठामा बसेर खाना खाने अनि छोराछोरीलाई भान्साकोठामा गएर खाना खाऊभन्दा उनीहरूले मान्ने सवालै आउँदैन । अभिभावक आफैं तनाव वा चिन्तामा परेका बेला कसरी सामना गर्छन् भन्ने कुरा छोराछोरीले अनुभव गरिरहेका हुन्छन् ।


बालबालिकालाई कुनै पनि विषयवस्तु सकारात्मक तरिकाले हेर्न, विश्लेषण गर्न सिकाउनुपर्छ । गिलास आधा खाली छ होइन कि अझै आधा बाँकी छ भन्ने कुरा बोध गराउनुपर्छ । नेपाल खत्तम छ, यहाँका सिस्टमहरू खराब छन् होइन, विदेश जानुपर्छ भनेर ‘ब्रेन वास’ गर्दै लाने होइन कि नेपालमा के कस्ता अवसरहरू छन् त, नेपालमा सेवा पुर्‍याए नेपाली दाजुभाइ नै लाभान्वित हुन्छन् भन्ने बोध गराउनुपर्छ । बालबालिका साँच्चै नै चिन्तित वा तनावमा देखिन्छन् भने तिनीहरूको व्यवहार व्याख्या गरेर सोध्नुपर्छ । जस्तै, तिमी चिन्तित देखिन्छौ, के कति कारणले चिन्तित छौ भनेर सोध्नुपर्छ । जतिसुकै भयानक डर, त्रास वा तनाव भए पनि तिनीहरूलाई बिनासंकोच भन्न प्रोत्साहन गर्नु पर्दछ । त्यही बेला समाधानका उपाय वा विकल्पहरू केके हुन सक्छन्, सोध्ने गर्नुपर्छ । अभिभावक आफैंले समाधान गरिदिने भन्दा तिनीहरूलाई डर, चिन्ता, तनावको समाधान गर्न सक्षम बनाए भविष्यमा तिनीहरूलाई नै सजिलो हुन्छ ।


तनाव वा डरको विषयमा निद्रा एकदम महत्त्वको औषधि हो । त्यसैले तनावलाई व्यवस्थापन गर्न सिकाउने क्रममा निद्राको फाइदा बुझाइदिनुपर्छ । निद्राजस्तै तनाव कम गर्ने तौरतरिकामा व्यक्तिगत भिन्नता हुन सक्छ । गीत, संगीत सुन्ने, व्यायाम, योग गर्ने, घर पालुवा जनावरसँग खेल्ने, एक्वेरियममा माछा वा बगैंचामा चराचुरुंगीको चालचलन हेर्ने, बाहिर घुम्न निस्कने, खेल खेल्ने, मन तातो पानीमा नुहाउने कार्यले पनि तनाव घटाउन मद्दत गर्दछ भन्ने सिकाउनुपर्छ ।


तनाव वा चिन्ताको सामू
आत्मसमर्पण गर्ने होइन, कुनै न कुनै दिन कसो सफल नहोइला भन्ने सिकाउनुपर्छ । निश्चय पनि मिहिनेत चाहिन्छ नै, काम वा पढाइप्रतिको लगाव हुनुपर्छ भन्ने मनन गराउनुपर्छ । र, बालबालिकामा कुनै समस्या आइपर्‍यो भने अभिभावकले त्यसमा अधिक एवं अनावश्यक प्रतिक्रिया जनाउनु हुँदैन । बालबालिकामा अधिकजसो तनाव पढाइ, लेखाइ खनि परीक्षाकै हुन्छ । विद्यालयमा भोलि पढाइ हुने आजै एकपटक पढ्न वा अभ्यास गर्न लगाउने, समयमै गृहकार्य गर्न लगाउने, पुस्तकका पाठहरू सारांशमा नोट बन्न लगाउने, दिनहुँ पढाइ, लेखाइ नियमित गरेको खण्डमा सफलता हात लाग्छ भन्ने बोध गराउनुपर्छ । बालबालिकालाई घरमा समय दिनुपर्छ । अभिभावक आफू घर फर्किंदा बाहिरको मुडअनुसार बालबालिकालाई व्यवहार गर्नु हुँदैन । जतिसुकै समय अभाव भए पनि, एक क्षणका लागि भए पनि तिनीहरू जस्तै सानै बनेर तिनीहरूकै स्तरअनुसार खेलिदिनुपर्छ । यी कार्य सानोजस्तो लागे पनि बालबालिकाको तनाव, डर हटाउनका लागि महत्त्वपूर्ण हुन्छन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्