कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विभिन्न ठाँउका एनसेल टावरमा आगजनी र बिष्फाेट

अछाम / नवलपुर / कञ्चनपुर/नुवाकोट/म्याग्दी — शुक्रबार राति विभिन्न ठाँउका एनसेल टावरमा आगजनी र बिष्फाेट भएकाे छ । आगजनी गर्नेकाे पहिचान हुन सकेकाे छैन । कञ्चनपुरमा भने 'जय जनता' काे नामबाट फालिएकाे पर्चा भेटिएकाे छ ।

विभिन्न ठाँउका एनसेल टावरमा आगजनी र बिष्फाेट

अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरिएकाे छ । आगजनीबाट एनसेलकाे माेबाइल सेवा अवरुद्ध भएकाे छ ।

शुक्रबार मध्यराति गरिएकाे आगजनीबाट साढे दुई मिटर जति तार जलेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

आगजनी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 'अहिले नै कसले आगजनी गर्‍यो भन्ने स्पष्ट भइसकेको छैन । तर विप्लव निकट नेकपा माओवादीले जलाएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ । बाकी अनुसन्धान कै क्रममा छौं,' अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ।

जिल्लामा रहेका अन्य एनसेल टावरमा पनि आगजनी हुनसक्ने भन्दै ती स्थानमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

टावरमा बिष्फाेट

नवलपरासी– पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-७ अम्ररामा रहेको एनसेलको टावरमा शुक्रबार राति बिष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी लिलाराज लामीछानेका अनुसार टावरमा आगलागी भएको बताए ।

घटनास्थल वरपर पेट्रोल भरिएको सिसा भेटिएको छ । विष्फोटबाट टावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।


शुक्रबार राति नौ बजेतिरे टावरमा विष्फोट भएर आगलागी भएपछि टावर जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।


घटनास्थलमा कुनै पनि पर्चा पम्प्लेट नभेटिएकाले घटना कसले गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै पनि मानविय क्षति भने भएको छैन । टावर जलेपछि आसपासका क्षेत्रमा एनसेल प्रयोगकर्ता सेवाबाट बञ्चित भएका छन् ।

टावरमा आगजनी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा रहेकेा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति गरिएको आगजनीबाट टावरका तार र मिटरबक्स जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगजनी कसले गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए । उनका अनुसार आगजनी गरिएको क्षेत्रमा 'जय जनता' लेखिएको पर्चा पनि फेला परेकाे छ ।

पर्चामा ७२ अर्ब कर नतिरेको, सर्वाेच्च अदालतको फैसला पनि उल्लंघन गरेको कुरा लेखिएको छ । अहिले सांकेतिक कारवाही गरिएको र यसलाई बेवास्ता गरिए कडा कारवाहीमा जान बाध्य हुने पर्चामा लेखिएको छ । पर्चाको अन्तिममा वैज्ञानिक समाजवाद जिन्दावाद, कर छलुवा एनसेल मुर्दावाद भन्दै जय जनताका नाममा हस्ताक्षर पनि गरिएको छ ।

नुवाकोटमा पनि आगजनी

नुवाकोट-अज्ञात समूहले विदुर नगरपालिका-२ महामण्डलमा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरेको छ । ३/४ जनाको समूहमा आएका व्यक्तिले टावर घेरेर राखेको गेटमा ताल्चा फुटाएर मोबिल छेर्केर आगो साढे १० बजे आगो लगाएको स्थानीयवासीले बताएका छन् ।


आधा घन्टापछि आगो नियन्त्रणमा आएको थियो । क्षतिको विवरण लिने कार्य भैरहेको भैरवी प्रहरी चौकीले जनाएको छ । उक्त टावर सदरमुकाम विदुरबाट ७ किमी उत्तरपूर्वमा पर्छ ।

म्याग्दीमा चार वटा टावरमा आगजनी

म्याग्दी- अज्ञात समूहले शुक्रवार नै म्याग्दीका विभिन्न चार ठाउँमा रहेका एनसेलका रिपिटर टावरमा आगजनी गरेको छ ।

समूहले एनसेलको बेनीनगरपालिका–३ भकिम्ली सेले, मंगला गाउँपालिका–३ बरंजाझाँक्रेपानी, रघुगंगा गाउँपालिका–५ झिंको टोड्के र मालिका गाउँपालिका–१ निस्कोटस्थित टावरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?