एनसेल गेटमा बम विस्फोट : घाइते मध्ये एककाे मृत्यु, दुईजनाकाे उपचार हुँदै

प्रशान्त माली

काठमाडौँ — नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते मध्ये एकजनाको मृत्यु भएको छ ।


लमजुड घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्स रहेकी २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार करिब साढे आठ बजे नख्खुस्थित एनसेल गेटमा बम विस्फोट भएको हो। महानगरीय प्रहरी परिसरका एसएसपी रबिन्द्रबहादुर धानुकका अनुसार बम बिष्फोट गराउने घटनामा संलग्नको खोजी भइरहेको बताए।


प्रकाशित : फाल्गुन ११, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको वेदना ठूलो कुरो ठानिन्न

लाउरी एडवार्डस

काठमाडौँ — मलाई अत्यन्तै दुर्लभ प्रकारको अनुवांशिक श्वास–प्रश्वास सम्बन्धी समस्या ‘प्राइमेरी सिलिएरी डिस्किनेसिया’ छ । म २३ वर्षको हुँदा चिकित्सकहरूले यो समस्या पत्ता लगाएका थिए । तैपनि लगभग जीवनभर नै म बिरामी रहेंँ । तारन्तार मेरो समस्याको जड केवल तनाव रहेको बताइयो । मेरो सोचको परिणाममात्रै हो भनेर पन्छाइयो ।

यो हरेक युवतीले भोग्ने समस्या हो । हामी सबैलाई थाहा भएकै कुरा हो, पुरुषको तुलनामा पीडामा रहेका महिलाको पूर्ण उपचार गरिँदैन । चिकित्सकहरूले पनि प्रायःजसो अवस्थामा युवतीको पीडालाई ‘साइकोसोम्याटिक’ (मानसिक सोचका कारण भइरहेको शारीरिक पीडा) भनेर पन्छाउने गर्छन् ।

याल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले केही समय अघिमात्रै गरेको एक अध्ययनले कसरी सानै उमेर लैंगिक भेदभाव सुरु हुन्छ भनेर देखाएको छ । अध्ययनमा सहभागी वयस्कहरूलाई रगत झिक्नका लागि औंलामा सियोले घोच्दा कसलाई बढी दुख्ला भन्ने प्रश्न गरिएको थियो । त्यसमा उनीहरूले बालिकालाईभन्दा बालकलाई बढी दुख्ने बताएका थिए ।

यस अध्ययनका अनुसन्धानकर्ताले यो तथ्यलाई ‘लैंगिक मानसिकता’सँग जोडेर व्याख्या गरेका छन् । लैंगिक मानसिकता अनुसार पुरुषहरू आफ्नो पीडालाई लिएर बढी सहनशील हुन्छन् भने महिलाहरू धेरै भावनात्मक हुन्छन् ।त्यसैले महिलाको पीडालाई कम विश्वास गरिन्छ ।

एक अनुमानअनुसार २० देखि ३५ प्रतिशत तन्नेरीले अत्यधिक पीडा महसुस गर्छन् । २०१७ को एक अध्ययन अनुसार चिकित्सकहरूले पुरुषले भोगिरहेको पीडालाई बढी ध्यान दिन्छन् भने महिलाको पीडालाई खासै वास्ता गर्दैनन् । यसले चिकित्सक र बिरामी बीचको सम्बन्धमा दीर्घकालीन असर पार्न सक्छ ।

इन्डोमेट्रियोसिस (महिलालाई पाठेघर वरपर हुने एक प्रकारको समस्या) यस प्रकारको विभेदबारे थप उजागर गर्नका लागि उपयोगी हुनसक्छ । हरेक १० मध्ये १ महिलालाई इन्डोमेट्रियोसिस हुन्छ । यो निकै पीडादायी अवस्था हो, जसमा पाठेघरभित्र हुनुपर्ने लाइनिङको वृद्धि बाहिर हुँदै जान्छ । यो अवस्थाको सुरुआत तन्नेरी अवस्थामै हुन्छ । तर केटीहरूलाई मासिक स्राव पीडादायी नै हुन्छ भनेर टार्ने गरिन्छ ।

त्यसैले यो भएको हो भनेर पत्ता लगाउनै वर्षौं लाग्छ । यो रोगबारे पत्ता लगाउन जति समय लगाइन्छ, महिलाहरूले त्यति नै पीडा भोग्नुपर्छ र उपचार पनि कठिन हुँदै जान्छ ।

लामो समयदेखि अत्यन्तै पीडा भोगिरहेका महिलाहरूसँग मैले कुराकानी गर्दा यस्तै प्रकारको सांस्कृतिक अविश्वास रहेको पाएको थिएँ । उनीहरूलाई पीडाको प्रमुख कारण तनाव रहेको बताइन्थ्यो । बारम्बार बेवास्ता गरेका कारण उनीहरूको आत्मविश्वास चुरचुर हुन्थ्यो । कालान्तरमा कमजोर वा रुन्छे भनेर चिनिने डरले उनीहरू आफूले भोगिरहेको पीडा लुकाउन बाध्य हुन्थे । जसका कारण उपचार झनै कठिन बन्छ ।

एक बिरामीले भनिन्, ‘लाज मान्दै, हतोत्साहि हुँदैआफ्नालागि कसरी उभिन सकिन्छ ? मलाई थाहा छ, मेरो शरीरले मलाई के भनिरहेको छ । तर डाक्टरको नतिजाको विरुद्ध कसरी जाने ?’

यो एक युवतीको पीडालाई चिकित्सकहरूले कुन रूपमा लिन्छन् भन्ने प्रश्नमा मात्रै सीमित छैन । यो त एउटा महिलाको पीडालाई समाजले कुन रूपमा ग्रहण गर्छ भन्नेमा केन्द्रित छ ।

यौन दुर्व्यवहारको विषयमा कुरा गरौं । द अमेरिकन एसोसियसन अफ युनिभर्सिटी विमेनले कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने २ हजार विद्यार्थीमाझ एक सर्वेक्षण गरेको थियो । जसमा आधा जतिले आफूले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहार भोगेको बताएका थिए । केटाहरूभन्दा केटीले धेरै दुर्व्यवहार भोग्नुपरेको देखिन्छ । त्यो पनि शारीरिक रूपमा निकै पीडादायी हुन्छ । र केटीहरूमा त्यसको नकारात्मक प्रभाव पनि लामो समयसम्म देखिन्छ ।

दुर्व्यवहार भोगेकामध्ये १२ प्रतिशत बालिकाले मात्रै विद्यालयमा आफूभन्दा ठूलालाई त्यसबारे भन्ने गरेको देखिन्छ । उनीहरूले आफूलाई भएको दुर्व्यवहार लुकाउनुको मुख्य कारणमा अरू विश्वास नगर्लान्, सामाजिक बहिस्कारमा परिएला, विद्यालयले वास्ता नगर्ला र दुर्व्यवहार भनेकै के हो भन्ने अन्योल रहेको देखिन्छ ।

कलेजमा भने हरेक ५ युवतीमध्ये एकजनामाथि दुर्व्यवहार हुन्छ र त्यसमा पनि २० प्रतिशतले मात्रैरिपोर्ट गर्छन् । यसमा पनि डर नै सबैभन्दा ठूलो बाधक रहेको देखिन्छ ।केटीहरूले यस्तो महसुस गर्नुको पनि कारण छ ।

उदाहरणका लागि मिसिगन स्टेट युनिभर्सिटी र युएसए जिमन्यास्टिक फिजिसियन डा. ल्यारी नासरको केसलाई लिन सकिन्छ । उनी गतवर्ष ४० देखि १७५ वर्षका लागि यौन दुर्व्यवहारको आरोपमा जेल चलान भए । मिसिगन राज्यलाई डा. नासरको दुर्व्यवहारबारे १९९७ मै थाहा थियो । तर त्यो बेलाको उजुरीलाई बेवास्ता गरियो । जब उनलाई पक्राउ गरेर कारबाही अगाडि बढाइयो, उनको दुर्व्यवहारका सिकार भएकाहरूमा हालको दिनसम्म पनि नकारात्मक असर रहेको देखिएको थियो ।

मिटू अभियानले महिलाहरूलाई दुर्व्यवहार विरुद्धअगाडि आउन हौसला प्रदान गरेको छ । त्यसैले अहिले हामी उनीहरूले भोगेका ती पीडालाई संस्थागत गरी संस्कृतिक परिवर्तनतर्फ उन्मुख छौं । युवतीहरूले कस्तो प्रकारको पीडा महसुस गर्छन् भन्नेमा पनि अध्ययन, अनुसन्धान हुन जरुरी देखिन्छ । उनीहरूले आफ्नोशरीरका बारे हामीलाई केही भने हामीले बिना कुनै पूर्वाग्रह सुनिदिनुपर्छ ।

एडवार्डस ‘इन द किङ्डम अफ द सिक : ए सोसियल हिस्ट्री अफ क्रोनिक इलनेस इन अमेरिका’नामक किताबकी लेखिका हुन् ।

(द न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्