मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गरिने
काठमाडौँ — संसदीय सुनुवाइ समितिले संवैधनिक परिषद्बाट मुस्लिम आयोगका अध्यक्ष सिफारिस गरिएका समिम अन्सारीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएकाे छ । सुनुवाइ समितिमा अन्सारीको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको, नागरिकता विवादित रहेको र नेकपाको केन्द्रीय सदस्य रहेको उजुरी परेको थियो ।
समितिको मंगलबार बसेको बैठकले उजुरीकर्तासँग छलफल र छानबिन पछि मात्रै सुनुवाइ गर्ने निर्णय गरेको हो । उजुरीकर्तासँग आजै छलफल गरिएको छ ।
संवैधानिक परिषद्बाट विवादित प्रमाणपत्रहरु र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताबारे मगाउने समितिले जनाएको छ । काठमाडौं ९ ठेगाना रहेका अन्सारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए ।
पार्टीको सदस्यता बारे निर्वाचन आयोगबाट जानकारी लिने समितिले जनाएको छ ।
गत माघ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको थियाे ।
परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्व अर्थसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेशी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोग र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष सिफारिस गरिएको छ ।
अन्य आयोगका पदाधिकारी बारेकाे सुनुवाइ सुरु भएको छ ।
याे पनि पढ्नुहाेस्
- संवैधानिक आयोगका अध्यक्षमा सिफारिस पौडेल र सुवेदीको सुनुवाइ मंगलबार, कांग्रेसद्वारा समिति बैठक बहिष्कार
- संवैधानिक आयोगका अध्यक्ष सिफारिसप्रति कांग्रेसकाे असहमति : सुनुवाइ समिति बैठक बहिष्कार
- पाँच आयोगमा अध्यक्ष नियुक्त गर्न सिफारिस, वित्तमा पौडेल, समावेशीमा सुवेदी, मधेसीमा दत्त, थारूमा चौधरी र मुस्लिममा अन्सारी